आर्थिक वर्ष २०७८/७९ मा बीमा गरेका बीमितिहरूले साढे २७ अर्ब रुपैयाँबराबरको बीमा दाबी भुक्तानी पाएका छैनन् ।
बीमा समितिका अनुसार यो आर्थिक वर्षमा निर्जीवन र जीवन बीमा गरेका बीमितले दाबी गरेको २७ अर्ब ४९ करोड ७२ लाख रुपैयाँबराबरको बीमा दाबी भुक्तानी जीवन र निर्जीवन बीमा कम्पनीहरूले दिएका छैनन् । कम्पनीहरूले बीमितिहरूलाई विभिन्न कारण देखाउँदै बीमा दाबी भुक्तानी नदिएका हुन् ।
जीवन र निर्जीवन बीमा कम्पनीहरूले कुल १ लाख ५८ हजार ५ सय ७४ वटा बीमालेखका बीमितिहरूको रकम भुक्तानी दिन बाँकी रहेको अनुगमनका क्रममा भेटिएको समितिले जानकारी दिएको छ ।
जीवन बीमाका बीमितिले ६ अर्ब ६ करोड र निर्जीवन बीमाका बीमितिले २१ अर्ब ४३ करोड रुपैयाँबराबरको दाबी भुक्तानी नपाएपछि ती दुवै कम्पनीलाई तत्काल दाबी भुक्तानी दिन सूचनामार्फत जानकारी गराइएको समितिले जनाएको छ ।
समितिले अनुगमन गर्दा गत आर्थिक वर्षमा बीमितिलाई तिर्न बाँकी भुक्तानी तत्काल दिन आन्तरिक रूपमा सबै जीवन र निर्जीवन कम्पनीहरूलाई आग्रह गरिएको समितिका प्रवक्ता राजुरमण पौडेलले बताए ।
बीमा गरेका बीमितिले बीमा ऐनअनुसार सुविधा पाउनुपर्छ । यो कानुनमा उल्लेख भएको विषय भएका कारण कुनै पनि बीमा कम्पनीले दाबी भुक्तानी नदिए कानुनी कारबाही गरिने उनले चेतावनीसमेत दिए ।बीमा दाबी रकम तत्कालै बीमितलाई भुक्तानी दिन बीमा कम्पनीहरूलाई अपिल गरिएको उनको भनाइ छ ।
धेरै भुक्तानी दिन बाँकी रहेका कम्पनी
हालै समितिले सार्वजनिक गरेको स्थलगत अनुगमन प्रतिवेदनअनुसार रिलायबल लाइफ र प्रभु लाइफबाहेक बाँकी ३७ वटा कम्पनीले बीमितहरूको दाबीअनुसारको भुक्तानी दिन सकेका छैनन् ।
जीवन बीमा गर्दै आएको सरकारको स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थानले गत वर्ष २ अर्ब ८३ करोड रुपैयाँबराबरको दाबी भुक्तानी दिन बाँकी रहेको समितिले जनाएको छ । संस्थानले आफ्ना बीमितहरूलाई २२ हजार १ सय ९८ वटा बीमालेखबाट दाबी भुक्तानी गर्न बाँकी छ ।
यस्तै, निर्जीवन बीमातर्फ प्रिमियर इन्स्योरेन्सले सबैभन्दा बढी दाबी भुक्तानी दिन बाँकी रहेको अनुगमनका क्रममा भेटिएको समितिले जनाएको छ । सो इन्स्योरेन्सले एक वर्षको अवधिमा ५ हजार ६ सय ५४ वटा बीमालेखबाट २ अर्ब ९५ करोड रुपैयाँबराबरको दाबी भुक्तानी बीमितिहरूलाई दिन बाँकी रहेको समितिले जनाएको छ ।
त्यसैगरी, जीवन बीमा कम्पनी नेपाल लाइफका बीमितले १ अर्ब ३३ करोड रुपैयाँ र नेसनल लाइफले ९४ करोड ९८ लाख रुपैयाँबराबरको भुक्तानी दिन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, सगरमाथा इन्स्योरेन्सले ९ हजार ९ सय ८५ वटा बीमालेख संख्याबाट १ अर्ब ७१ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।
१ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी दिन बाँकी रहनेमा अन्य आठवटा कम्पनी छन् । सगरमाथा, नेको, एनएलजी, आईएमई जनरल, शिखर, नेसनल, अजोड र सिद्धार्थ इन्स्योरेन्सले बीमितहरूलाई १ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी रहेको समितिले जनाएको छ ।
साथै, नेपाल र यूनाइटेड इन्स्योरेन्सले क्रमशः ९५ करोड ५३ लाख र ९५ करोड ७ लाख रुपैयाँबराबरको दाबी भुक्तानी गर्न बाँकी रहेको समितिको तथ्यांक छ । त्यस्तै, सानिमा इस्योरेन्सले बीमितहरूलाई २ हजार ३ सय १३ वटा बीमालेखबाट ४१ करोड ५८ लाख रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छैन ।
नेसनल लाइफ, मेट लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन, प्राइम, एसियन, ज्योति, युनियन, महालक्ष्मी, सूर्या, आईएमई र सिटिजन लाइफ इन्स्योरेन्सले १ करोडभन्दा बढी र ९५ करोडभन्दा कम रुपैयाँबराबरको दाबी भुक्तानी नदिएको समितिले जनाएको छ ।
रिलायन्स लाइफले ७८ लाख, सानिमा लाइफले ५७ लाख, सन नेपालले ३१ लाख र गुराँस लाइफले १९ लाख रुपैयाँबराबरको भुक्तानी बीमितिहरूलाई दिएका छैनन् । नेसनल लाइफले सबैभन्दा बढी अर्थात् ११ हजार १ सय २९ वटा बीमालेखको दाबी दिन बाँकी रहेको समितिले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९ १३:४८