फिल्म ‘जात्रा’का निर्देशक प्रदीप भट्टराईले डेब्यू निर्देशनबाटै आफूलाई प्रमाणित गरेका थिए । उनले निर्देशन गरेका दुई फिल्म ‘जात्रा’ र ‘जात्रैजात्रा’लाई समीक्षक र आम दर्शकले रुचाए । तर उनै निर्देशकले बनाएको फिल्म ‘शत्रु गते’बाट भने समीक्षक निराश बन्न पुगे ।
अब प्रदीपको चौथो फिल्म ‘महापुरुष’ कात्तिक ११ गतेबाट प्रदर्शन हुँदैछ । आइतबार सार्वजनिक भएको फिल्मको पहिलो पोस्टरमा कलाकार हरिवंश आचार्य नयाँ स्वरुपमा देखिएका छन् । कमेडी विधाको यो फेमिली ड्रामामा मुख्य चरित्र हरिवंशले निर्वाह गरेका छन् ।
‘यो फिल्ममा हरिवंश दाइले कडा मिहिनेत गर्नुभएको छ,’ निर्देशक प्रदीप भन्छन् । अन्य फिल्महरूको तुलनामा हरिवंशले सबैभन्दा चुनौती मानेको चरित्र थियो यो । उनी हरेक सिनमा केही पुगेन कि भनेर सचेत भइरहन्थे ।
‘बच्चाले जस्तो मेरो मिल्यो त ? ठीक छ त भनेर सोधिरहनुहुन्थ्यो । भोलिपल्ट पनि अघिल्लो दिनमा अझै भएन कि भनेर चिन्तित हुनुहुन्थ्यो,’ ४५ दिनको सुटिङबाट फर्किएपछि हरिवंशको कामबारे प्रदीपले भने ।
हरिवंशका अनुसार उनको चरित्र फिल्मको गम्भीर पात्र हो । जो आफ्नो परिवारप्रति समर्पित छ । परिवार र सन्तानको सुखमा मात्र आफूलाई खुसी महसुस गर्छ । ‘सिच्वेसन कमेडी’मा न बढी हाउभाउ गर्न मिल्ने न कम गर्दा हुने । ‘यही चरित्रले फिल्मलाई बोकेर लगेको छ । सन्तुलित गर्नुपर्ने, मलाई आफूलाई बाँधेर राख्न निकै गाह्रो भयो,’ हरिवंश सम्झन्छन् ।
तीन वर्षअगाडि नै फिल्मको ‘कन्सेप्ट’ प्रदीपले हरिवंशलाई सुनाएका थिए । त्यतिबेला कुरा हुँदाहुँदै कोभिड महामारी फैलियो । तीन महिनाअघि पुनः प्रदीपले हरिवंशलाई ‘कन्सेप्ट सुनाए । त्यतिबेला उनले पाए, स्क्रिप्टमा त धेरै परिवर्तन भइसकेछ । ‘अब काम सुरु गर्नेबेला भयो दाइ,’ प्रदीपले भने । हरिवंशलाई उनको चरित्रबारे सुनाए ।
‘१ महिना त वर्कसप चल्यो । वर्कसप हुँदै गर्दा मलाई सक्दिनँ भन्ने पनि लाग्यो । तर गर्दागर्दै सक्छु भन्ने आँट पनि आयो,’ हरिवंश सम्झन्छन् । सुटिङका क्रममा हरिवंशलाई डर थियो, अनुहारबाट कमेडी चुहिएला कि !
उनका अनुसार कतिपय सिनमा कमेडीमै पनि आँसु आउँछ । यसअघिका सिनेमामा उनले त्यो अनुभव कहिल्यै गरेनन् । ‘बेलाबेला निर्देशकले झस्काइरहनुहुन्थ्यो, क्यारेक्टरबाट बाहिर गयो भने सम्झाइहाल्नुहुन्थ्यो । एउटै सिनमा १२ पटकसम्म टेक लिनुपरेको छ,’ हरिवंश सम्झन्छन् ।
उनी चरित्रमा भिज्न प्रायः एक्लै बस्थे । उनले दाह्री पालेका थिए । त्यो ‘एक्स्पोज’ हुन्छ भनेर दुई महिना त कुनै समारोहमा पनि निस्केनन् । ‘यो फिल्मबाट मैले नयाँ परिणाम आउने आशा गरेको छु,’ उनी भन्छन् ।
०००
प्रदीपलाई यो सिनेमा निर्माण गर्दा मानसिक तनाब बढेको थियो । ‘कारण, संवेदनशील मुद्दामाथि फिल्म बन्दैछ । हरेक चरित्रको मुड स्विङ हुने बित्तिकै अर्थको अनर्थ लाग्थ्यो । एक इन्च पनि तलमाथि जानुहुन्थेन । ठीक्क छ कि बढी भयो भन्ने दुविधा भइरहन्थ्यो,’ उनी सुनाउँछन् ।
फिल्ममा हरिवंशसँगै मदनकृष्ण श्रेष्ठ रवीन्द्र सिँह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री र अञ्जना बराईलीको अभिनय छ । ‘जात्रा’ सिक्वेल होस् वा ‘शत्रु गते’, प्रदीपले ‘महापुरुष’ निर्माण गर्दाजतिको चुनौती महसुस गरेका थिएनन् ।
‘शत्रु गते’ समीक्षकको ‘गाली’ खान तयार भएरै बनाएका थिए उनले । ‘हाम्रो उद्देश्य नै प्रोडुसर बाँच्नुपर्छ भन्ने थियो । दर्शकको लागि बनाएका कारण गाली खान तयार थियौँ । तर व्यापारको हिसाबमा सबैभन्दा बढी शत्रु गतेले कमाएको थियो,’ प्रदीप भन्छन् ।
‘महापुरुष’मा आफूले विषयवस्तुको गहिराइ बुझेको प्रदीपको अनुभव छ । संवेदनशील मुद्दामाथि भने पनि फिल्मको विषयवस्तुबारे प्रदीपले अहिलेसम्म खुलाएका छैनन् । नेपालमा धेरैपछि पारिवारिक फिल्म बनाएको उनको दाबी छ । उसो त हरिवंशसँग काम गर्दाको अनुभूति सधैँ यादगार हुन्छ उनको लागि । प्रदीप भन्छन्, ‘यसपटक झन् यादगार रह्यो ।’
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९ ०६:५५