गत वैशाख अन्तिम र जेठ दोस्रो हप्तासम्म देशभर चुनावको माहोल थियो । स्थानीय तह चुनावको अन्तिम तयारी, मतदान, मतगणना भइरहँदा पर्वतका २२ वर्षीय सन्देश सुवेदी साइकलमा मेची–महाकाली यात्रामा थिए ।
पर्वत कुश्मा नगरपालिका–१० पिपलटारीका सन्देशको हरेक रक्तदान र यात्रामा उनकी आमाको जोडिएका हुन्छन् । साइकलयात्री सन्देशको हजार किलोमिटर लामो यो यात्रा पनि आमा सरस्वतीको उपचारमा भएको रगत अभाव सम्झिएर तय भएको थियो । ‘पहिल्यैबाट साइकलमा जिल्लाहरू घुमिरहन्थेँ । आमाको अप्रेसन गर्दा रगत अभाव भएको बुवा, काकाबाट सुनेको थिएँ,’ सन्देशले सुनाए, ‘एकपटक रक्तदान अभियान लिएरै मेची–महाकाली जान्छु भन्ने लाग्यो । त्यसपछि एक महिना अभियानमा लागेँ । १४ सय २५ किलोमिटरको यात्रा भयो ।’
आमालाई ब्रेन ट्युमर हुँदा सन्देश कक्षा ६ मा पढ्थे । रगत खोजेर परिवारले काठमाडौँको अस्पतालमा अप्रेसन गर्यो । सन्देशले त्यतिबेलासम्म रगतको महत्व बुझिसकेका थिएनन् । रगत नपाइएको कुरा उनले आमाको मृत्युपछि, पाँच वर्षअघि थाहा पाएका थिए । २०७४ साल चैतमा आमाको निधन हुँदा सन्देश १७ वर्षमात्रै भएका थिए ।
उमेर बढ्दै जाँदा रगत नपाएर बिरामीले भोग्नुपरिरहेको सास्ती देख्न थाले । सन्देशलाई आमाको उपचार गर्दा रगतको अभाव भएको कुरा मनमा खड्किरहन्थ्यो । पोखरा आएपछि उनी लेकसाइडको होटलमा काम गर्थे । लायन्स क्लबले रक्तदान कार्यक्रम गरेको थाहा पाएपछि सन्देशले २० वर्षको उमेरमा पहिलोपटक रगत दान गरे । त्यसपछि उनलाई रक्तदान गर्ने, रगत जुटाउने हुटहुटी नै जाग्यो । सन्देश भन्छन्, ‘आमा त ब्रेन ट्युमरले गुमाएँ । सजिलै रगत नपाउँदा परिवारमा जुन तड्पन भएको थियो त्यो अरु कसैलाई नहोस् भन्ने चाहन्छु ।’
सन्देश सानै छँदादेखि आमाले टाउको पछाडिपट्टिको भाग दुखेको भनिरहन्थिन् । दुखाइ कम गर्न ‘निम्स’ खाने गरेको सन्देशलाई सम्झना छ । एसइई दिएर सन्देश कक्षा ११ पढ्ने तयारी गर्दै थिए । ब्रेन ट्युमर पीडित आमाको निधन भयो । रगत र सन्देशको सम्बन्ध भावनात्मक छ । त्यसैले पनि उनी ३ महिना हुनेबित्तिकै आमालाई सम्झिएर रगत दान गरिहाल्छन् । रक्तदान गरेर, रक्तदान अभियान लिएर साइकलमा सन्देश ३२ जिल्ला पुगेका छन् ।
रगत जुटाउने अभियान लिएर उनी गत वैशाख २५ देखि साइकलमै मेची–महाकाली निस्किएका थिए । सन्देश ‘रक्तदानसँगै साइकल यात्रा’ नारा लिएर काँकडभिट्टादेखि महेन्द्रनगरको यात्रामा निस्किएका थिए । उनीसँग भएको साइकलले काँकडभिट्टादेखि महेन्द्रनगरसम्मको यात्रा सम्भव थिएन । पोखरा माउन्टेन बाइकले उनलाई साइकल उपहार दिएको थियो । त्यही साइकलमा गत वैशाख २५ गतेदेखि एक महिना ठाउँठाउँमा रक्तदान कार्यक्रम गर्दै उनले मेची–महाकालीको साइकलयात्रा सकेका हुन् । विश्व साइकलयात्री अजित बराल र अर्का साइकलयात्री सन्तोष गिरी पनि यात्रामा सँगै थिए ।
मेची–महाकाली अभियान र गृहजिल्ला पर्वतमा गरेर उनले ५ सय ५८ युनिट रगत जुटाएका थिए । संकलित रगत स्थानीय ब्लड बैंक र संघसंस्थालाई बुझाएको सन्देशले बताए । पछिल्लो दुई वर्षमा सन्देशले ६ पटक रक्तदान गरेका छन् । ‘रगत दिँदा आनन्द अनुभव भयो । आमालाई सम्झिएर भावनात्मक रुपमा जोडिएको थिएँ । त्यसपछि नियमित रक्तदान सुरु गरेँ,’ उनले सुनाए, ‘सुरुमा ६/६ महिनामा गर्थेँ । ३/३ महिनामा गर्दा केही हुँदैन भन्ने थाहा पाएपछि आजकल ३/३ महिनामा गर्छु ।’
सन्देशको मेची–महाकाली अभियान यात्रामा कतिपय पहिलोपटक रगत दिने पनि थिए । नियमित रगत दिएकाहरूलाई बुझाउनु पर्दैन तर कति त अस्वस्थ हुने डर मानेर रगत दिन मान्दैनन् । विद्यालय तहबाटै रगतको महत्व बुझाउन सकेमा रगत अभावको समस्या नहुने सन्देश सुनाउँछन् । ‘हाम्रो शरीरमा तीन–तीन महिनामा मरेर जाने रक्त कोषले अरुको ज्यान बच्छ भनेर विद्यालय तहमै बलियो गरेर सन्देश पुर्याउन सकियो भने अभाव हुँदैन,’ उनले भने ।
सन्देश पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा बीबीएस दोस्रो वर्षका विद्यार्थी हुन् । माओवादी केन्द्रनिकट अनेरास्वयवियु क्रान्तिकारीले दुई वर्षअगाडि पृथ्वीनारायण क्याम्पसमा रक्तदान कार्यक्रम गरेको थियाे । त्यहाँ गएपछि उनले रक्तदान गर्दा लाग्ने खर्चबारे बुझेका थिए । त्यसपछि व्यक्तिगत खर्चमै उनी रक्तदान गर्नुपर्छ भन्ने अभियान बोकेर हिँडेका छन् । मेची–महाकाली यात्रालाई सन्देशले आफ्नो स्कुटर साथी कहाँ धरौटी राखेर आर्थिक जोहो गरेका थिए ।
सन्देश नेपाल स्वयंसेवी रक्तदाता समाज र नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य हुन् । सन्देश साउन अन्तिम हप्तादेखि साविकको धौलागिरी अञ्चलका बागलुङ, म्याग्दी, मुस्ताङमा रक्तदान अभियान चलाउने योजनामा छन् ।
प्रकाशित मिति: शनिबार, साउन २१, २०७९ १४:३२