सप्तोकोसी बाढी प्रभावित क्षेत्र, प्रभावित नागरिकको सुरक्षा खातिर प्रदेश सरकारले के गर्दैछ ? सम्भावित जोखिम न्यूनीकरणका लागि कस्ता योजनामा काम भइरहेको छ ? हामीले प्रदेश १ का आन्तरिक मामिलामन्त्री केदार कार्कीसँग संक्षिप्त कुराकानी गरेका छाैँः
सप्तकोसी बाढी प्रभावितहरूकाे उद्धार तथा राहतका लागि प्रदेश सरकारले के गर्दैछ ?
अहिले म बाढी प्रभावित क्षेत्रमै पुगेर फर्किरहेकाे छु । बाढी प्रभावित क्षेत्रमा नदी नियन्त्रणका लागि तीनै तहको सरकारस र स्थानीयबासी जुटेका छाैँ । अप्रिय घटना नहोस् भनेर विपद् व्यवस्थापनका लागि जिल्लादेखि लिएर सम्पूर्ण टिम अहिले तयारी अवस्थामा छ । प्रदेश सरकार पनि बाढीका कारण मानवीय क्षति नहोस् भनेर सक्रिय छ ।

बाढी प्रभावित क्षेत्रको अवस्था कस्तो पाउनुभयो ?
बाढीका कारण करिब ३८ सय परिवार प्रभावित भएकाे अनुमान छ । प्रभावित क्षेत्रका मानिसहरूलाई व्यवस्थित रूपमा राख्ने काम भइरहेको छ । उनीहरूलाई बस्न, खान र अरु केही समस्या नहोस् भन्नेमा हामी गम्भीर छाैँ । सुरक्षित स्थानमा लैजाने काम पनि भइरहेकाे छ । ३३/३४ वर्षपछि कोसी नदी पश्चिम मोडिँदा उदयपुरको बेलका नगरपालिकाकाे दक्षिण पश्चिम क्षेत्र प्रभावित भएको छ । डुम्रिबोटेमा बनाइएको अस्थायी बाँध बगाएर कोसी दक्षिण–पश्चिमतिर छिरेको हो । जसका कारण यो क्षेत्रमा बढी जोखिम भएकाले सर्तकता अपनाइएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका र सप्तरीको सप्तकोशी नगरपालिकाका केही गाउँसमेत डुबानमा परेका कारण ती गाउँलाई समेत सचेत गराइएको छ ।

विस्थापित नागरिकलाई कसरी व्यवस्थापन गरिँदै छ ?
३ हजार ७ सय ५० नागरिक डुबानबाट प्रत्यक्ष प्रभावित भएको स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन् । पहिला त उनीहरूलाई सुरक्षति स्थानमा सार्ने काम गरिँदैछ । अनि स्थानीय स्रोत साधन प्रयोग गरेर बाँध कस्ने काम पनि भइरहेकाे छ ।

अहिलेसम्म बाढीले कति क्षति भयो । विवरण लिनुभएको छ ?
बाढीका कारण हालसम्म मानवीय र भौतिक दुवै त्यस्तो ठूलो क्षति भएको छैन । बोटविरुवा, धानवाली, मकैलगायतका नगदेवादीको क्षति भएको छ । यसको डिटेल विवरण तत्काल लिन सकिँदैन । बाढी प्रभावित क्षेत्रका कतिपय मानिसले आफ्नो घरबार छाेडन् मानेका छैनन् । यस्ताे अवस्थामा प्रहरीले जबरजस्तीसमेत गर्नुपरेको छ ।
प्रकाशित मिति: बुधबार, साउन १८, २०७९ १६:४४