नेपालको राइड शेयर कम्पनीको भिडमा नयाँ एप इन्ड्राइभर निकै आक्रामक रूपमा आइरहेको छ । सुरुवाती चरणमा कम्पनीले राइडरसँग कुनै पनि प्रकारको कमिसन नलिएका कारण इन्ड्राइभर राइडरमाझ लोकप्रिय बनेको छ । त्यस्तै, यात्रुहरूको हकमा पनि यो तुलनात्मक रूपमा सस्तो छ ।
४५ वटा देशका ६४६ वटा शहरमा सञ्चालित यो एपले नेपालमा दर्ता नभएको, असुरक्षित, बार्गेनिङ शैलीलाई प्रश्रय दिएको आरोप पनि खेपेको छ । यसै सन्दर्भमा शिलापत्रका सुधिर भण्डारीले इनड्राइभरको दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित नन्दासँग कुरा गरेका छन् ।
पछिल्लो समय इन्ड्राइभरले आक्रामक रूपमा बजार बढाइरहेको छ, यो काठमाडौंमा सुरु भएको कहिलेदेखि हो ?
इन्ड्राइभर काठमाडौंमा हामीले केही महिनाअघि परीक्षणको रूपमा सुरु गरेका थियौँ । यो अवधिमा हामीले एप परीक्षण, राइडरलाई आबद्ध गराउने, ब्रान्डिङ गर्नेलगायतका काम गर्याैँ र गत अप्रिलदेखि औपचारिक रूपमै सुरु गरेका हौँ ।
यत्रो व्यवसाय चलाउँदा पनि दर्तालगायतका सरकारी प्रक्रिया किन गर्नुभएन ?
हामीले अहिलेसम्म चालकसँग कुनै कमिसन लिएका छैनौँ । नाफा पनि कमाएका छैनौँ । हामीले त चालक र यात्रुलाई जोड्ने एउटा प्लेटफर्म मात्र बनाएका हौँ । त्यस कारण हामीले कुनै गैरकानुनी काम गरेका होइनाैँ । त्यस्तै, हामी नेपालको प्रचलित कानुनअनुसार दर्ता गर्ने प्रक्रिया सुरु गरिसकेका छौँ । हामीले कमिसन लिएर काम गर्न सुरु गर्ने समयसम्म दर्ता पूरा भइसक्छ ।

दर्ता हुनुभन्दा पहिले दुर्घटना, चोरी, लुटपाटलगायतको जाेखिम छ नि ?
हामीले पहिलोदिनदेखि नै सुरक्षालाई विशेष ध्यान दिइरहेका छौँ । प्यासेन्जर वा राइडरलाई कुनै पनि समस्या आए उनीहरूले हाम्रो एपको कस्टमर सपोर्टमा २४ सै घण्टा सम्पर्क गर्न सक्नेछन् । त्यस्तै इमेलमार्फत पनि गुनासो टिपाउन सकिन्छ । कुनै दुर्घटना भए हामी प्रहरीलाई सबै प्रकारको सहयोग गर्छौं ।
अहिलेसम्म काठमाडौंमा कति राइडर इन्ड्राइभरमा आबद्ध छन् ?
यहाँको त अहिले भन्न मिल्दैन । तर, संसारभरि १ सय ३० मिलियन छन् । र, इन्ड्राइभरको सेवा ४५ वटा देशका ६ सय ४६ भन्दा धेरै शहरमा सञ्चालित छ ।
राइड शेयर एप त नेपालमा धेरै छन्, इन्ड्राइभरको विशेषता चाहिँ के–के छ ?
यसको विशेषता भनेको प्यासेन्जरले सस्तोमा यात्रा गर्न पाउँछन् । हाम्रो एपको माध्यमबाट प्यासेन्जर र राइडरले आफ्नो भाडा आफैँ निर्धारण गर्न पाउँछन् । त्यस्तै, राइडरलाई त्यत्तिकै राइड रिक्वेस्ट जाँदैन । कोही प्यासेन्जरले १० किलोमिटरका लागि २ सय रुपैयाँ भाडा निर्धारण गरेको छ भने चालकले एसेप्ट गर्न पनि सक्छ र चित्त बुझेन भने आफ्नो रेट पठाउन पनि सक्छ । प्यासेन्जरले पनि २ सय लिने राइडर आइपुग्न २० मिनेट लाग्छ र २ सय ३० रुपैयाँ रिक्वेस्ट गरेको राइडर ३ मिनेटमा आइपुछ भने आफ्नो रोजाइअनुसार राइडर बोलाउन सक्छन् ।
यो त बार्गेनिङ शैली भएन र ?
यसलाई बार्गेनिङभन्दा पनि ‘नेगोसियटिङ’ भन्दा ठीक होला ।
चालक र यात्रु बीमाका बारेमा केही प्लानिङ गर्दै हुनुहुन्छ ?
चालकहरू हाम्रा कर्मचारी होइनन् । चालक र यात्रु दुवै हाम्रा कस्टमर हुन् । उनीहरूको सुरक्षा हाम्रो प्राथमिकता हो । हाम्रो कस्टमर केयर सिस्टम निकै चनाखो छ । तर, बीमा भने छैन ।

तपाईंहरूका प्रतिस्पर्धी कम्पनीहरूले त राइडर र प्यासेन्जरको बीमा पनि गरिदिएका छन् त ?
हाम्रो कम्पनीको पोलिसी भनेको कस्टमर केयरबाट सपोर्ट गर्ने र केही समस्या आयो भने प्रहरीलाई सहयोग गर्ने मात्र हो ।
एकपटक इन्ड्राइभर चालकले सवारी दुर्घटना गरेर भागेको खबर पनि बाहिरिएको थियो नि ?
प्रहरीसँग मिलेर हामीले त्यो समस्या समाधान गरिसक्यौँ ।
अहिलेसम्म तपाईंहरूले राइडरसँग कमिसन लिनुभएको छैन, सधैँ नलिने कि केही समयका लागि मात्र हो ?
केही समयमै हामी कमिसन लिन सुरु गर्छौं । तर पनि हाम्रो कमिसन प्रतिस्पर्धी एपभन्दा निकै कम हुन्छ । हाम्रो कमिसन १० प्रतिशतभन्दा थोरै हुन्छ । त्यस्तै, हाम्रो भुक्तानी नगदमै हुन्छ । कुनै वालेट सिस्टम राख्दैनौँ । राइडरसँग आफ्नो कुनै वालेट छ भने आफ्नो तरिकाले लिन सक्छन् । तर, त्यसमा हाम्रो संलग्नता हुँदैन ।
नेपालमा कार्यालय खोल्नेचाहिँ सोच छ कि छैन ?
केही समयमै हामी व्यावसायिक रूपमा जान्छौँ । त्यसपछि हामी अफिस पनि सञ्चालन गर्छौं र काठमाडौंबाहेक अरु शहरमा पनि जान्छौँ ।
कुन शहरमा जाने तयारी छ ?
कुन–कुन शहर भनेर अहिले नै निश्चित भइसकेको छैन । हामी अहिले रिसर्चकै चरणमा छौँ र जुन शहरमा धेरै डिमाण्ड हुन्छ, त्यहीँ जान्छौँ ।

इन्ड्राइभर एपबाट अहिले कुन–कुन सेवा लिन सकिन्छ ?
हाल राइडर शेयर, सिटी राइड, इन्टरसिटी राइड, कुरियर, डेलिभरी सेवा छ ।
प्रतिस्पर्धीसँग भिड्न तयारी के छ ?
हाम्रो एप्लिकेसन नै हाम्रो तयारी हो । इन्ड्राइभर प्रयोग गर्नेबित्तिकै थाहा हुन्छ, हामी अरुभन्दा फरक कसरी छौँ भन्ने । एकपटक इन्ड्राइभर प्रयोग गर्नेहरू अर्कोपटक आफैँ प्रयोग गर्न आउँछन् ।
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९ १४:५८