पश्चिम बंगालको पीबी १० एफएस ७४४९ लेखिएको सेतो सुजुकी मारुती कार जिल्ला प्रशासन कार्यालय काठमाडौंको एक कुनामा थन्किएको छ । बेवारिसे अवस्थामा रहेको उक्त कारबारे सीडीओ कार्यालय पुग्ने हरेकजसो सेवाग्राहीलाई लाग्छ– राम्रै कार किन यसरी बेवारिसे अवस्थामा फालेका होलान् ? कुन भारतीय नागरिकले छोडेर गए होलान् ? प्रश्न स्वाभाविक छ । तर, याे कार भारतबाट नेपाल भित्रिएकाे एक आपराधिक समूहले चलाएकाे थियाे ।

पश्चिम बंगाल लुधियाना घर भएका हरदेवेन्द्र सिंह र रजसविर सिंह कात्तिक २०७४ मा सोही कार चढेर भैरहवाहुँदै काठमाडौं पुगेका थिए । १५ कात्तिकमा उनीहरू दुवै जना दरबारमार्गस्थित ज्याक डेनियल डान्सबार छिरे ।
करिब २ घण्टा बारमा बिताएका उनीहरूले बिल तिर्ने बेला भने वितण्डा मच्चाए । बारभित्र मदिराले लट्ठ भएका उनीहरूले चार राउण्ड गोली चलाएर भागे ।
गोली प्रहार गरेर भाग्दै गरेका उनीहरूलाई कमलपोखरी प्रहरी वृत्तको टोलीले कमलादीबाट पक्राउ गरेको थियो । उनीहरूको साथबाट प्रहरीले दुईवटा पेस्तोल र ७२ थान गोली बरामद गरेको थियो । बारमा चलाएको गोली लागेर कुनै मानवीय क्षति भने भएन । त्यो बेला उनीहरूमाथि प्रहरीको विशेष ब्युरोले समेत अनुसन्धान गरेको थियो ।
प्रहरीले पक्राउ गरेका जसविर सिंहको साथबाट पञ्जाब प्रहरीको परिचयपत्रसमेत बरामद भएको थियो । तर, अनुसन्धानका क्रममा उनीहरू भारतीय सार्प सुटर भएको तथ्य प्रहरीले फेला पारेको थियो । २०७४ मा हुन लागेको संघ र प्रदेशसभाको चुनावमा काठमाडौंमा हिंसात्मक घटना गर्न उनीहरू नेपाल भित्रिएको आशंका प्रहरीले गरेको थियो ।

कार छोडेर भारत फर्के
डिल्लीबजार कारागारको अभिलेखमा रजसविर सिंह २० भदौ ०७५ मा उच्च अदालत पाटनको आदेशले जेलमुक्त भएका थिए ।हरदेवेन्द्र सिंह भने त्यसअघि नै जेलमुक्त भएका थिए । उनीहरूमाथि हातहतियार तथा ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो । तर, उनीहरू दुवै जना जेलमुक्त भए पनि आफूले प्रयोग गरेको कार भने सीडीओ कार्यालयमै छोडेर भारत फर्किएका हुन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार २०७५ अघि हातहतियारसम्बन्धी मुद्दा सीडीओ कार्यालयले हेर्ने भएकाले उक्त कार सीडीओ कार्यालयमा ल्याइएको हो । ‘२०७५ अघि हातहतियारसम्बन्धी मुद्दा सीडीओ कार्यालयले हेर्ने गर्थ्याे । त्यही बेला दसीको रूपमा ल्याइएको हो । तर, उनीहरूले छुटेपछि पुरानो कार के लिने भनेर छोडेका हुन सक्छन्, वा अदालतले जफतको आदेश गरेपछि उनीहरूले छोडेका हुन सक्छन् । खास कुरा थाहा पाउन त्यसको फैसला हुर्नुपर्छ,’ उनले भने । प्रमुख जिल्ला अधिकारी रिजालले फैसलामा कार जफतकाे आदेश आएकाे भए अब लिलामी प्रक्रियामा पठाउने बताए ।
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९ १२:५८