काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको बीभत्स हत्या भएको छ । तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीका दिनेश पाण्डेसहित चार जनाको बीभत्स हत्या भएको प्रहरीले जनाएकाे छ ।
उपत्यका अनुसन्धान कार्यालयका एक प्रहरी अधिकारीका अनुसार पाण्डे, उनकी श्रीमती सुनिता पाण्डे, छोरी आशिका र ११ वर्षका छोरा आशिकको हत्या भएको हो ।
प्रहरीका अनुसार पाण्डेकी श्रीमती र छोराछोरीमाथि धारिलो हतियार प्रहार गरेर हत्या भएको देखिएको छ । दिनेश पाण्डे भने झुण्डिएको अवस्थामा फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।
‘घटना बीभत्स देखिन्छ । हाम्रो टोली घटनास्थलमा छ । हामी थप अनुसन्धान गर्दैछौँ,’ एसपी कोइरालाले भने । घटनास्थलमा काठमाडौं प्रहरी परिसरको टोली र अनुसन्धान कार्यालयको टोली पुगेको छ । गोरखाका पाण्डे परिवार तारकेश्वर बस्दै आएकाे थियाे ।
यस्तो छ, घटनास्थल
प्रहरीका अनुसार पाण्डे परिवारको शव भेटिएको कोठाको अवस्था बीभत्स देखिन्छ । एउटा खाटमाथि छोराछोरीको शव छ । खाटमुनि अर्धनग्न अवस्थामा दिनेश पाण्डेकी श्रीमतीको शव छ । उनको शरीरभरि धारिलो हतियार प्रहार भएको देखिन्छ ।
त्यस्तै, दिनेश पाण्डेको समेत शरीरमा धारिलो हतियार प्रहार भएको देखिन्छ । उनको घाँटीमा भने चार्जरको तारले समेत बाँधिएको छ ।
प्रहरीका अनुसार सुनिता केही समयपछि विदेश जाने तयारीमा थिइन् । प्रहरी स्रोतका अनुसार उनी बेलायत जाने अन्तिम तयारीमा रहेको खुलेको छ । उनको बेलायतको भिसासमेत आइसकेको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार दिनेशले आफ्नो श्रीमती छोराछोरीको हत्यापछि आफूले समेत आत्महत्या गरेको आशंका प्रहरीको छ । यसअघिसमेत दिनेश र उनकी श्रीमतीबीच पटक–पटक घरायसी झगडा हुने गरेको समेत खुलेको छ ।
प्रकाशित मिति: सोमबार, साउन १६, २०७९ १५:०८