वैदेशिक रोजगार विभागमा आइतबार म्यानपावर कम्पनीहरूआन्दोलन गर्न पुगे । विभागले १ सय ४८ वटा म्यानपावर कम्पनीलाई ५० हजार रुपैयाँका दरले जरिवाना गरी कारबाही गरेको विरोधमा म्यानपावर व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।
विभागले १ सय ४८ म्यानपावरलाई तोकिएको मितिमा विज्ञापन प्रकाशित नगरेको अभियोगमा गत शुक्रबार कारबाही गरेको थियो ।
वैदेशिक रोजगार ऐनको दफा ४९ मा पूर्व स्वीकृति लिई विज्ञापन नगरेमा वा स्वीकृति नलिई विज्ञापन गरेमा सचेतका लागि ५० हजार रूपैयाँ जरिवाना गरी त्यस्तो विज्ञापन रद्द हुने व्यवस्था छ ।
ऐन विपरीत काम गरेपछि विभागले कारबाही गर्दा त्यसकाे विरोधमा म्यानपावर कम्पनीहरू आन्दाेलन गर्न विभाग पुगेका हुन् । विभागका महानिर्देशक शेषनारायण पौडेलको कार्यकक्ष अगाडि व्यवसायीहरूले आन्दोलन गर्दै–गर्दा विभागको मुद्दा शाखामा भने रोजगारपीडित न्यायको गुहार माग्दै थिए ।
पर्साका कवेन्द्र महताे वैदेशिक रोजगारीमा साउदी पठाउन स्काइ म्यानपावर प्रालिले १ लाख रुपैयाँ लिए पनि ५ महिनासम्म त्यहाँ नपठाएको भन्दै उनी उजुरी दिँदै थिए । उनलाई उक्त म्यानपावरले पटक–पटक झुक्याएर रोजगारीमा नपठाई पैसा मात्र लिएको थियो ।
तीन महिनादेखि राहदानी र एक लाख पैसा फिर्ता माग्न म्यानपावर धाए पनि फिर्ता नदिएपछि उजुरीका लागि विभागका आएको उनले जानकारी दिए ।
महताे जस्तै, ३ वर्षको दुधेबालक र श्रीमतिसँगै लिएर न्याय खोज्न आएका थिए काभ्रे नवोबद्धका दिपेश तामाङ । तामाङलाई एक वर्ष अगाडि रोजगारीका लागि यूएई पठाइदिने प्रलोभन देखाएर ग्रीनस्टार म्यानपावर प्रालिले ८० हजार रुपैयाँ लिएको थियो । तर, एक वर्षदेखि म्यानपावरले अर्को महिना भन्दै ढाँट्न थालेपछि उजुरीका लागि विभाग धाउन बाध्य भएको तामाङले जानकारी दिए । घरमा बच्चा हेर्ने कोही नभएका कारण साथमै दुधेबालक र श्रीमति लिएर आएको उनको भनाइ छ ।
म्यानपावर, एजेन्ट र व्यक्तिबाट ठगिएका ४० जनाभन्दा धेरै रोजगारपीडित समस्या लिएर आउने गरेको विभागले जनाएको छ ।
विभागले साउन ३ र ४ गतेको मितिमा विभिन्न राष्ट्रिय दैनिकमा प्रकाशन गर्न विभागबाट पूर्व स्वीकृतिको अनुमति लिएर विज्ञापन नगर्ने १ सय ४४ र अनुमतिबिना नै विज्ञापन गर्ने ४ गरी १ सय ४८ म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार ऐनको दफा ४९ अनुसार ५० हजार रुपैयाँका दरले जरिवाना गरी कारबाही गरेको थियो ।
ऐनमा उभिएर कारवाही गर्नुभन्दा पनि एक पटक जानकारी गराउनपर्ने माग कारबाहीमा परेको म्यानपावरहरूको भएको वैदेशिक रोजगार व्यवसाय संघका पूर्वअध्यक्ष विमल ढकालले जानकारी दिए ।
सरकारले कारबाही गर्ने पाउँछ । त्यो ऐनमा व्यवस्था छ । तर, कतिपय म्यानपावरले कामदार उडाउने कार्यतालिका हुन्छ । कारबाहीपछि उडान रद्द हुँदा खर्च बढ्ने भएका कारण व्यवसायीले विभागलाई तत्काल कारवाही पुनःविचार गर्न आग्रह गरेको संघका पूर्वअध्यक्ष ढकालले बताएका छन् ।
यस्तै, सरकारले वैदेशिक रोजगार ऐनमा भएको व्यवस्था अनुसार नै पूर्वस्वीकृति लिई विज्ञापन नगरेमा वा स्वीकृति नलिई विज्ञापन गर्ने म्यानपावरलाई जरिवानासहित कारबाही गरेको विभागका महानिर्देशक पौडेलले जानकारी दिए ।
कानुनभन्दा माथि उभिएर व्यवसाय गर्दा त्यसको असर रोजगारी क्षेत्रमा पर्ने भएका कारण कारबाही गरिएको उनको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, साउन १५, २०७९ १४:२०