नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिवन्धित नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश वलीलाई जेल भित्र कालो मार्सी धानको भात र चाहेको अन्य खानाको सुविधा कारागारले दिने गरेको छ ।
कारागारमा पनि उनले मार्सी धानको मात्र भात मात्र खाने गरेका छन् । हेमन्त वलीको स्वास्थ्यको ख्याल गरेर उनले चाहेको खानाको परिकार उपलब्ध हुने गरेको कारागारका प्रमुख जेलर वेदनिधि अर्यालले समेत पुष्टि गरे ।
‘कालो मार्सी चामलको धानको भातमात्रै नभनौं उनलाई राजबन्दी सरहको सुविधा दिइएको छ,’ अर्यालले भने, ‘विभिन्न प्रकारको स्वस्थ्य समस्याका कारण उनले माग गरे अनुसारको खाना दिने गरिएको हो ।’
जेलर अर्यालका अनुसार वली कहिलेकाँही कोदो र फापरको ढिँडो पनि खान्छन् । वलीको स्वास्थ्यका कारण उनलाई मार्सी सुबिधा उपलव्ध गराइएको हो ।
स्वास्थ्यमा सुधार
हेमन्त वलीलाई डाइविटिज, ब्लडप्रसेर जस्ता विभिन्न स्वस्थ्य समस्या छ । जेल परेपछि भने उनको स्वास्थ्यमा सुधार आएकोे जेलर अर्यालको भनाइ छ । वलीले हरेक विहान ब्याटम्यान्डिनसमेत खेल्ने गरेको अर्यालले बताए ।
वली ९ चैतमा काभ्रेबाट पक्राउ परेका थिए । उनी पार्टीका तेस्रो ठूला नेता हुन् । वलीसँगै विप्लव समूहका अन्य कार्यकर्ता शंकर अधिकारी, रामकृष्ण खतिवडा, ललित तामाङ, सन्जीव कार्की र वेद घिमिरेसमेत सात जना पक्राउ परेका थिए । उनीहरुमध्ये केही छुटिसकेका छन् ।
आइतबार पक्राउ परेका विप्लब समूहका अर्का नेता माइला लामा समेत नख्खु कारागारमै राखिएको छ । गत ११ फागुन नख्खुमा रहेको एनसेल टावर अगाडी भएको बम विस्फोटनको घटनाको अभियोगमा उनीहरुलाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि जेल चलान गरेका हो ।
प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६ ०१:५२