पुरानाे फाेन काम नलाग्ने भएकाले काठमाडाैंकी सविना श्रेष्ठलाई एउटा राम्राे स्मार्ट फाेन किन्नु थियाे । पकेट खर्चबाट जाेगाएर उनले १५ हजार दाम जम्मा पारेकी थिइन् । यही मूल्यभित्र पाउने खालकाे माेबाइल खाेज्दै उनी काठमाडाैंकाे न्युराेडस्थित ताम्राकार हाउस पुगिन् ।
बिहीबार ताम्राकार हाउसमा सविना विभिन्न ब्रान्ड र मोडलका फोनहरू हेर्दै थिइन् । सामसुङ, नोकिया, ओप्पाे, भिभो, पोको, रियल मी, रेड्मीलगायत ब्रान्डका फाेनहरू उनले हेरिन् । तर, उनलाई चाहिएकाे थियाे १५ हजार राशिभित्रकाे फाेन । 'मन कताकता दाेधार पनि थियाे, १५ हजारमा फाेन नपाइने हाे कि भनेर', सविनाले भनिन् ।
बिक्रेतालाई साेधेपछि उनले थाहा पाइन्, १५ हजारमा त राम्रै फाेन पाे आउने रहेछ । उनले १५ हजारभन्दा कम मूल्यको फोन किनेर केही रकम बचाउन सक्ने कुरा पनि थाहा पाइन् । धेरै फाेन हेरिसकेपछि उनले राेजिन् इन्फिनिक्स स्मार्ट ६ । यसकाे दाम पर्याे १३ हजार रुपैयाँ । उनले बचाइन् २ हजार रुपैयाँ । एयरफाेन बक्समा नपाएकाले बचेकाे रकमबाट उनले एयरफाेन र मिरर किनिन् ।
सविना श्रेष्ठ ।शिलापत्रकाे हाटबजार स्तम्भकाे पहिलाे शृंखलामा हामीले १५ हजार माेलभित्रका स्मार्ट फाेनबारे तपाईंलाई जानकारी गराउँदै छौँ । बजारमा थुप्रै ब्रान्डहरू उपलब्ध भए पनि हामीले बढीजसो खोजी हुने स्मार्टफोनबारे लेखेका छौँ ।
इन्फिनिक्स स्मार्ट ६

सविनाले किनेकाे याे फाेन २ जीबी र्यामकाे हाे । यसमा ३२ जीबी इन्टर्नल स्टोरेज हुन्छ । एक वर्षको वारेन्टी फोनमा पाउन सकिन्छ । फोन बिग्रिएमा वा आफैँ यसकाे पार्टपुर्जा फेर्नुपरेमा कम्पनीले नै जिम्मा लिन्छ । ६ हजार एमएएच ब्याट्री रहेको यो फोनमा चार्ज लामो समय टिक्ने प्रयाेगकर्ताहरूकाे अनुभव छ । फोनको डिस्प्ले ६.६ इञ्चको छ । इन्फिनिक्स स्मार्ट ६ मा दुईवटा क्यामेरा छन् । अगाडि अर्थात् फ्रन्ट क्यामेरा ५ मेगापिक्सेल अनि पछाडिकाे (ब्याक) क्यामेरा ८ मेगापिक्सेलको छ ।
याे फाेनकाे अर्काे विशेषता भनेको फोनमा फिङ्गर प्रिन्ट सेन्सर पनि छ । फोनको लक आफ्नो औँलाले खोल्न सकिन्छ । अलि पहिला यतिको दाममा यो सुविधा पाइँदैन थियो । इन्फिनिक्स स्मार्ट ६ को मूल्य १३ हजार रुपैयाँ पर्छ ।
रियल मीसी ११

हामी १५ हजार रुपैयाँभित्रका स्मार्ट फाेनकाे चर्चा गरिरहेका छाैँ । यस्ता फाेनकाे लिस्टमा आउँछ रियल मीसी ११ । ६.५ इञ्चको डिस्प्ले रहेको यो फोनको ब्याट्री क्षमता ५ हजार एमएएचको छ । फोन किन्दा १० वाटको फास्ट चार्जिङ क्षमताको चार्जर पाइन्छ । यसमा ८ मेगापिक्सेलको ब्याक क्यामेरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा हुन्छ । यसमा फिङ्गर प्रिन्ट सेन्सर भने छैन ।
रियल मीसी ११ मा २ जीबीको र्याम र ३२ जीबीको इन्टर्नल स्टोरेज पाइन्छ । यसकाे मूल्य पनि १३ हजार रुपैयाँ नै हाे ।
सामसुङ ए ०३ कोर

तपाईंले १५ हजार मूल्यभित्रको फोन देखाउनू भन्नुभयो भने बिक्रेताले देखाउनेमध्ये एउटा फोन हो सामसुङ ए ०३ कोर । यसमा २ जीबी र्याम र ३२ जीबी इन्टर्नल स्टोरेज पाइन्छ । फाेनमा ५ हजार एमएएच क्षमताको ब्याट्री छ । ब्याक क्यामेरा ८ मेगापिक्सेल र सेल्फी क्यामेरा ५ मेगापिक्सेलको हुन्छ । एक वर्षको वारेन्टी पाइने याे फाेन १३ हजार दाममा पाइन्छ ।
पोको सी ३१

पोको सी ३१ मा ‘मिडिया टेक हिलियो जी ३५’ प्रोसेसर छ । यो प्रोसेसर बजारका राम्रोमध्येको हो । राम्रो प्रोसेसर भएको फोन धेरै टिक्छ । त्यसैले यो फोनको मूल्य १५ हजार पर्छ । ६.५३ इञ्च डिस्प्ले फोनमा छ । फोनको ब्याट्री क्षमता ५ हजार एमएएचको छ । यो फोनमा फिङ्गर प्रिन्ट सेन्सर पनि छ है । १३ मेगापिक्सेलको ३ वटा ब्याक क्यामेरा फाेनमा छ । ३ जीबी र्याम र ३२ जीबी इन्टर्नल स्टोरेजकाे सुविधा पाइन्छ ।
मोटो ई सेभेन पावर
मोटो ई सेभेन पावर पनि ठिक्क बजेटमा पाइने फोन हो । यसको मूल्य जम्मा १३ हजार रुपैयाँ पर्छ । ६.५ इञ्चको डिस्प्ले रहेको फोनमा ५ हजार एमएएचको ब्याट्री क्षमता छ । १० वाट क्षमताको चार्जर यसमा पाइन्छ । १३ मेगापिक्सेलको दुईवटा ब्याक क्यामेरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा फोनमा छ । फोनमा फिङ्गर प्रिन्ट सेन्सर पनि उपलब्ध गराइएको छ । र, फोनमा २ जीबी र्याम र ३२ जीबी इन्टर्नल स्टोरेज छ ।
भिभो वाई वान एस

६.२२ इञ्च डिस्प्ले रहेको भिभो वाई वान एसको मूल्य १३ हजार ५ सय पर्छ । फोनमा ४ हजार ३० एमएएच ब्याट्री क्षमता छ । २ जीबी र्याम र ३२ जीबी इन्टर्नल स्टोरेज फोनमा छ । त्यस्तै, यो फोनमा ब्याक क्यामेरा ८ मेगापिक्सेल र सेल्फी क्यामेरा ८ मेगापिक्सेलको छ ।
रियल मि नारजो ५० आई

रियल मी नारजो ५० आई १५ हजार मूल्यका फोनमध्ये धेरै स्टोरेज भएको फोन हो । ४ जीबी र्याम र ६४ जीबी इन्टर्नल स्टोरेज भएकाे फोनको मूल्य ठ्याक्कै १५ हजार हो ।
फोनमा ६.५ इञ्चको डिस्प्ले छ । यसमा ५ हजार एमएएच ब्याट्री क्षमता छ । अन्य फोनजस्तै यसमा पनि ८ मेगापिक्सेलको ब्याक क्यामेरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा पाइन्छ । तर, यो फोनमा भने फिङ्गर प्रिन्ट सेन्सरकाे सुविधा छैन ।
कम मूल्यमा यति धेरै फिचर्स हुनु नै यी फोनका विशेषता हुन् । तर ध्यान दिनुस् है, तपाईं धेरै गेम खेल्नुहुन्छ वा धेरै एप चलाउनुहुन्छ भने यी फोनले तपाईंलाई धान्न सक्दैनन् । तर, जाेगाएर, आवश्यकताअनुसार प्रयोग गर्नुभयाे भने गाेडा चारेक दसैँका तस्वीरहरू माथिमध्येका जुनै फाेनले पनि खिच्न सक्नुहुन्छ ।
बजारमा १० हजारभन्दा कम मूल्यका स्मार्ट फाेनहरू पनि छन् । अहिले नेपाली फोन मार्केटमा सबैभन्दा कम मूल्यमा पाइने फाेन हाे टेक्नो ए ४८ मोडल । यसको मूल्य ९ हजार ५ सय छ । २ जीबी र्याम र ३२ जीबी इन्टर्नल स्टोरेज फोनमा हुन्छ । ४५ सय एमएएच ब्याट्री छ । ब्याट्रीमा ६ महिनाको ग्यारेन्टी पनि छ । किनेकाे ६ महिनामा बिग्रिए नयाँ ब्याट्री कम्पनीबाट पाइन्छ ।
फोन सेटमा भने १ वर्षको वारेन्टी कम्पनीले दिएको छ । दुइटा ब्याक क्यामेरा फोनमा हुन्छ । ब्याक क्यामेरा ५ र सेल्फी क्यामेरा २ मेगापिक्सेलको छ । फोनको अर्को विशेषता भनेको कम मूल्यमै फिङ्गर प्रिन्ट सेन्सर फिचर हुनु पनि हो ।
तर, अहिले स्मार्ट फोन किन्न चाहनुहुन्न तर तपाईंलाई सामान्य फाेटाे खिच्न, गीत, रेडियाे सुन्न र कम्युनिकेसनका लागि मात्र फोन चाहिहालेको भए तत्काललाई किप्याडवाला फोन किन्न सक्नुहुन्छ । एक्सएजके ५०१ मोडल अहिले नेपाली मार्केटको सबैभन्दा सस्ताे ‘किप्याड’ फोन हो । यसकाे मूल्य केवल १ हजार हाे तर यसमा तपाईंले धेरै फिचर्स पाउन सक्नुहुन्छ । याे फाेनमा दुईवटा सिम राख्न सकिन्छ । ३२ जीबीको ‘मेमोरी कार्ड’ राख्ने ठाउँ छ । फोटो र भिडियो खिच्न सकिने फिचर पनि छ । त्यस्तै, कलहरू अटो रेकर्ड गर्न सक्नु यो फोनको अर्को विशेषता हो ।
‘फ्ल्यास लाइट’ पनि फोनमा छ । १ हजार एमएएचको ब्याट्री छ । साधारण कल गर्ने र रेडियो सुन्ने हो भने पनि ब्याट्री २ दिनसम्म टिक्न सक्ने बताउँछन् बानेश्वरको एलएस मोबाइल सेन्टरका सञ्चालक राम श्रेष्ठ । विगत १७ वर्षदेखि उनले मोबाइल पसल सञ्चालन गर्दै आएका हुन् । अन्य किप्याड फोनमा जस्तै यो फोनमा रेडियो सुन्न इयर फोन लगाउन पर्दैन । अर्थात् यो फोनमा वायरलेस रेडियो फिचर छ । यो फोनमा कम्पनीले १ वर्षको वारेन्टी र छ महिनाको ग्यारेन्टी दिएको छ ।
अरू पनि..
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९ ०८:०९