नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) बीच आगामी चुनावमा कार्यगत एकता गर्ने कि पार्टी नै एकीकरण गरेर जाने भन्ने विषयमा एजेन्डागत छलफल सुरु भएको छ । दुवै पार्टीका दोस्रो तहका नेताहरू उक्त अभियानमा सक्रिय रहेका छन् ।
मंसिरमा हुने संघ र प्रदेशको चुनावलाई लक्षित गरी छलफल भइरहेको छ । त्यसका लागि उनीहरू पृष्ठभूमि तयार गर्ने क्रममा रहेको पनि दुवै पक्षमा नेताहरूले बताएका छन् ।
केही दिनअघि हिमालय होटलमा सम्पादकहरूको छलफलमा एमाले अध्यक्ष केपी ओलीले पार्टी विभाजनकाे षड्यन्त्र बेलैमा थाहा नपाउँदा आफ्नो पनि कमजोरी रहेको स्वीकार गरेका थिए । त्यसकाे अर्को साता ३० असारमा एकीकृत समाजवादीको बागमती प्रदेश कमिटीको पूर्ण बैठकमा अध्यक्ष माधव नेपालले एमालेप्रति प्रहार गर्न आवश्यक नभएको बताएका थिए । यी घटनाले पनि शीर्ष तहबाट सहकार्यको वातावरण बनाउने प्रयास भइरहेको देखिन्छ ।
पछिल्लो समय एमाले र एकीकृत समाजवादीबीच एकताका लागि दोस्रो पुस्ताका नेता छलफलमा जुटेका छन । उनीहरूले आन्तरिक रूपमा पार्टी एकताका लागि वरिष्ठ नेतासँग छलफलसमेत गरिरहेका छन् ।
एमाले उपाध्यक्ष विष्णु पौडेल र नेकपा एसका अध्यक्ष माधव नेपालबीच गत जेठ महिनायता नेपालकै निवासमा समसामयिक विषयमा पटक–पटक छलफल भइसकेको एमाले स्रोतको दाबी छ । उपाध्यक्ष पौडेलसँगको भेटमा एसका जगन्नाथ खतिवडा, वेदुराम भुसाल र मेटमाणि चौधारीसमेत सहभागी रहेको उक्त स्रोतको दाबी छ ।
एमाले स्रोतका अनुसार, पछिल्लो छलफलमा एमाले अध्यक्ष केपी ओलीले संसद विघटन पार्टीका लागि घातक भएको भन्दै सार्वजनिक रूपमै आत्मालोचना गर्नुपर्ने अडानलाई नेकपा एसले आफ्नो बटमलाइनका रूपमा प्रस्तुत गरिरहेको छ ।
दोस्रो बटमलाइन भने नेपाल समूहलाई पार्टीमा स्वीकारेर पार्टी विभाजन रोक्न नसक्नु कमजोरी भएको ओलीको स्वीकारोक्ति हुनुपर्ने भनिएको छ । दोस्रो बटमलाइनप्रति अध्यक्ष ओली नकारात्मक देखिएका छैनन् । जेजस्ताे भाषाशैलीमा भए पनि उनले विभाजन राेक्न नसकेकाेमा कमजाेरी स्वीकारेकाे भन्दै पार्टीले सकारात्मक रूपमा लिएको एसका एक नेताले बताए । ती नेताका अनुसार, संसद विघटन गर्नु गलत थियो भनेर ओलीले स्वीकार गरेलगत्तै पार्टी एकताका लागि नेकपा एसले आह्वान गर्न सक्नेछ ।
यता, एमालेको बटमलाइन भने नेकपा एसका अध्यक्ष माधव नेपालले पार्टीको सरकार ढालेर कांग्रेसलाई नेतृत्व सुम्पिनु गलत थियो भनेर स्वीकार गर्नुपर्ने भन्ने छ । सँगै, १० बुँदे सहमतिपछि पार्टी विभाजन गर्नु गलत थियो भनेर स्वीकार्नुपर्ने रहेको छ ।
पार्टी एकता कसरी गर्ने भनेर छलफल भइरहेको दुवै पक्षका नेताहरू बताउँछन् । त्यस्तै, अध्यक्षद्वयलाई छलफल गर्ने वातावरण सिर्जना गर्न पहल भइरहेको छ । अहिलेसम्म भेटघाटको वातावरण नबने पनि दुवै पार्टीका अध्यक्ष केही नरम हुँदै गएका छन् ।
एमालेका एक नेताले भने, ‘स्थानीय निर्वाचनपछि एससँग एकतामा ल्याउनुपर्छ भन्ने पक्षमा एमाले लागेको हो । एसका कतिपय नेताहरू एकताको विकल्प नभएको र एकताका लागि एमाले अध्यक्ष ओलीले नै आह्वान गर्नुपर्ने पक्षमा छन् । यो विषयमा छलफल हुन बाँकी छ ।’
तर, व्यक्तिगत मनमुटावकाे तहमा पुगेका ओली र नेपाललाई मिलाउन त्यति सजिलाे भने छैन । उनीहरूबीच छलफल गर्ने वातावरण बनाउनै नेताहरूलाई धाैधाै भइरहेकाे छ । 'एकताका लागि पहिलो काम नै यही हो । एकताको वातावरण बनाउन दुवै नेताबीचको शंका तोड्नुपर्ने देखिन्छ’ ती नेताले भने ।
एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरू नेकपा एसका नेताहरू झलनाथ खनाल र मुकुन्द न्याैपानेलगायतका नेताहरूसँग निरन्तर संवाद गरिरहेका छन् । राजनीतिक विषयमा केन्द्रित भएर एसका केही नेताहरूसँग आन्तरिक छलफल भइरहेको तर एकताका लागि नै भनेरचाहिँ अहिलेसम्म छलफल नभएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले शिलापत्रलाई बताए ।
एकताको बहस भए पनि यो विषयमा कसरी अगाडि बढ्ने भन्नेबारेमा अहिलेसम्म छलफल अगाडि नबढेको ज्ञवालीको भनाइ छ ।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा राजनीतिक र कानुनी रूपले आफ्नो पार्टीको अस्तित्व स्वीकारेर आए एमालेसँग एकता वा सहकार्यको संवाद अघि बढ्न सक्ने बताउँछन् । गत महिना नेकपा एसले गरेको पत्रकार सम्मेलनमा खतिवडाले एमालेसँग संवाद र एकताका लागि पार्टीले विभिन्न सर्तहरू अघि सारेको बताएका थिए ।
अध्यक्ष नेपालले आफ्नै पार्टीको सरकारलाई सहयोग नगरेका कारण एमाले फुटेको र यही कारणले गत स्थानीय चुनावमा एमालेले ९० भन्दा धेरै स्थानीय तह गुमाउनुपरेको एमालेको बुझाइ छ । पार्टी फुटेपछि ओली र नेपालबीच नेपाली कांग्रेसको महाधिवेशनमा एउटै मञ्चमा एकपटक भेट भएको थियो । तर, बाेलचाल भएन । त्यसबाहेक अहिलेसम्म औपचारिक रूपमा छलफल र भेटघाट भएको छैन ।
प्रकाशित मिति: सोमबार, साउन २, २०७९ १४:५१