सिलाई मेसिन, कैँची र धागोसँग पोखराकी शारदा परियारका औँला खेल्न थालेको एक दशक भइसक्यो । पोखरा–३ नदीपुरकी शारदा ६ वर्षअघिसम्म अर्कैकहाँ काम गर्थिन् । आजकल उनलाई लेकसाइडमा खोलेको टेलरमा भ्याइनभ्याइ हुन्छ ।
शारदालाई काम गर्न पोखरा महानगरपालिकाले निकै ठूलो ढाडस दिएको छ । मञ्जुदेवी गुरुङ पहिलो कार्यकालमा उपप्रमुख हुँदा महानगरले २०७५ सालदेखि ‘उपप्रमुखसँग महिला कार्यक्रम’ ल्याएको थियो । जसबाट उद्यम गर्न चाहने महिलालाई न्युन ब्याजमा ऋण दिइँदै आएको छ ।
शारदाले टेलर पसलका लागि दुई वर्षअघि त्यही कार्यक्रममार्फत १ लाख रुपैयाँ ऋण लिएकी थिइन् । ‘पसल पहिल्यै थियो । ऋण पाइन्छ भन्ने थाहा पाएपछि वडा हुँदै महानगर गएँ,’ उनी खुसी सुनिन्छिन्, ‘ऋण दिनुभयो । उपप्रमुख कार्यक्रमको सपोर्टपछि काम गर्न एकदमै आँट थपियो ।’ ऋण लिएपछि शारदाले पसलमा कपडा र मेसिन थपेकी छन् । पसलमा सामानमात्रै थपिएको छैन, काम गर्ने आँट बढेको उनको अनुभव छ ।
पोखरा–६ लेकसाइड खहरेमा उनको स्वइच्छा टेलर छ । सुरुमा १ लाख रुपैयाँ पाएकी शारदाले आर्थिक वर्ष २०७८/०७९ मा थप १ लाख गरेर २ लाख रुपैयाँ महानगरबाट ऋण लिएकी छन् । १ लाख रुपैयाँ लगानी गरेर पाँच वर्षअघि शारदाले टेलर खोलेकी थिइन् । शारदाले महानगरले दिएको पैसासमेत लगानी गरेर ३ लाख रुपैयाँभन्दा बढी पसलमा लगानी गरेकी छन् । ‘ऋण पाउनुभन्दा पहिला एउटा मेसिनमात्रै थियो । अहिले पाँचवटा पुर्याएको छु । सामान पनि थपेको छु । ऋणले साह्रै राम्रो गरेँ,’ शारदाले सुनाइन् ।
शारदा पहिला पोखराकै महेन्द्रपुलमा बुटिकमा काम गर्थिन् । त्यहाँ चार वर्ष काम गरिन् । पाँच वर्षअघि श्रीमान् राजुको सुझाव मानेर लेकसाइडमा आफैँ टेलर खोलिन् । पोखराकै चिप्लेढुंगामा राजु आफैँ टेलर चलाउँथे । उनी तालिम पनि दिन्थे । कोरोना भाइरस आएपछि सटर भाडा तिर्नै नसक्ने अवस्था आइलाग्यो । त्यहीबेला महानगरले शारदालाई ऋण दियो । राजुले त्यताको पसल छोडे । अहिले श्रीमतीसँगै एउटै पसलमा काम गरिरहेका छन् । ‘तिम्रो आफ्नै पहिचान हुनुपर्छ । सीप सिक, नजानेको मैले सिकाउँछु भनेँ । उनले यता पसल खोलिन्’, राजु हाँस्दै सुनाउँछन्, ‘आजकल म यहाँ कामदार, उनी मालिक्नी हुन् ।’
उद्यम गर्छु भन्ने महिलालाई यो कार्यक्रमले एकदमै ढाडस दिएको शारदा सुनाउँछिन् । तर, सबै महिलालाई कार्यक्रमबारे थाहा हुन नसकेकाले त्यसमा ध्यान दिन महानगरलाई उनको सुझाव छ । शारदाले सावाँ र ब्याजसहित मासिक ३५ सय रुपैयाँ महानगरमा बुझाउँछिन् । पसलमा लगानी गरेको पैसाबाट कमाइ पनि राम्रै भएकाले उनलाई सावाँ–ब्याज बुझाउन समस्या छैन ।
महानगरले ऋण दिएर गरेको विश्वासलाई उनले कायम राखेकी छन् । समयमै सावाँ र ब्याज तिरिरहेकी छन् । यसैका लागि महानगरले उनलाई सम्मान पनि गरेको छ । गत फागुनमा अन्तर्राष्ट्रिय नारी दिवसमा शारदालाई महानगरबाट बोलावट आयो । किन बोलाइयो थाहा थिएन । उनी महानगर पुगिन् । ऋण लगेर राम्रो प्रगति गरेकी उनलाई सम्मान गर्न बोलाइएको रहेछ । ‘किन बोलाउनुभयो थाहा भएन । श्रीमानलाई सोध्दा जाऊ भन्नुभयो । गएपछि त राम्रो काम गरेको भनेर दोसल्ला र प्रमाणपत्र दिनुभयो,’ उनले भनिन् ।
राजु शारदालाई संघर्ष गर्न भरोसा थपिरहे । महानगरले श्रीमतीलाई सम्मान गरेको देखेर राजु पनि धेरै खुसी भएका थिए । राजु भन्छन्, ‘म त्यहाँ जान सकिनँ । पछि फोटो हेरेँ । उनलाई सम्मान गरेको देखेर एकदमै गर्व लाग्यो ।’
शारदा र राजुका तीन छोरी छन् । छोरीहरूले पनि आ–आफ्नो लय समातेको देखेर दुवै खुसी छन् । स्नातक पढिरहेकी जेठी छोरी स्वइच्छा ट्रेकिङ गाइड हुन् । माइली छोरी स्वस्तिका न्युरोडस्थित रेष्टुरेन्टमा काम गर्छिन् । १० कक्षा पढ्दै गरेकी कान्छी छोरी बाल मञ्चमा सक्रिय छिन् । ‘छोरीहरूले पनि राम्रो गरेका छन् । लाउण्ड्रीको काम घरमा छोरीहरूले गर्छन्,’ राजु सुनाउँछन्, ‘पैसा के हो ? समय के हो ? यो सिक्छन् भनेर घरमा पनि काम गर्ने वातावरण बनाएका छौँ ।’
महानगरले ऋण दिँदैनथ्यो भने शारदाको टेलर कसरी चल्थ्यो थाहा थिएन । कोरोना भाइरसले थलाएका बेला पसलमा आफैँ लगानी थप्न सम्भव थिएन । चर्को ब्याज शुल्कमा ऋण लिने कुरा पनि भएन । हेर्दा सामान्य लागे पनि मेसिन, धागो र कैँचीसँग खेल्ने शारदा र राजुलाई ऋणपछि पसलमा आएको परिवर्तन ठूलो लाग्छ । जीवनमा सानो कुराले कति खुसी र आँट थप्छ शारदा एउटा उदाहरण हुन् ।

अब एक–दुई जनालाई रोजगारी दिने सोचमा शारदा छिन् । महानगरले दिएको ऋण उनको व्यवसायको एउटा बलियो टेको बन्यो । ‘महानगरले दिएको पैसा ठूलो त होइन । तर, १/२ लाख रुपैयाँले पनि जीवनमा ठूलो परिवर्तन हुँदो रहेछ,’ उनले भनिन् । महानगरले साथ दिए, आफूले कमाए पसललाई उद्योग र तालिम केन्द्रमा परिणत गर्ने शारदा र राजुको योजना छ ।
महानगर पुगेर खुसी साट्छन् ऋणी
यो कार्यक्रम सुरु भएयता ४ सय ५४ जना महिलाले ऋण लिएको महानगरको सामाजिक विकास महाशाखाकी सहायक महिला विकास निरीक्षक मञ्जु सुवेदीले जानकारी दिइन् । हालसम्म ९ करोड रुपैयाँ हाराहारी यो कार्यक्रममार्फत लक्षित महिलामा लगानी भएको छ ।
उपप्रमुखसँग महिला कार्यक्रममार्फत ऋण लगेकाहरू महानगरमा आएर आफ्नो जीवनमा आएको परिवर्तन सुनाइरहन्छन् । सुवेदीका अनुसार महानगरमा पुगेर खुसी साट्ने, पुरानो दिन र अहिलेको अवस्था सम्झेर रुन्छन् । ‘कति आएर खुसी साट्नुहुन्छ, रुनुहुन्छ,’ उनले भनिन्, ‘पहिला केही गर्न नसकेको, अहिले यहीँबाट लगेको रकमबाट राम्रो आम्दानी गरेर अरूलाई रोजगारी दिएको अवस्था छ । यही कार्यक्रमबाट लगेको ऋणबाट आम्दानी गरेर छोराछोरीलाई विदेश पढ्न पठाउने पनि छन् ।'
उपप्रमुखको नेतृत्वमा रहने ‘उपप्रमुखसँग महिला कार्यक्रम संचालक समिति’को बैठकले गरेको निर्णयअनुसार उद्यम गर्न चाहनेको मागअनुसार हेरेर ऋण लगानी गरिन्छ । विपन्न वर्ग, हिंसा–द्वन्द्व पीडित, आर्थिक अवस्था कमजोर भएका अपांगता वा अशक्त भएका, दलित तथा एकल महिलाले ऋण पाउँछन् । त्यसबाहेक आमा समूह, महिला समूह र महिलाले नेतृत्व गरेको संघ संस्थालाई पनि ऋण दिने गरिएको छ ।
यो कार्यक्रमबाट लिएको ऋण बढीमा ३ वर्षभित्र तिर्नुपर्छ । ऋण लिएको पहिलो ६ महिना ब्याजमात्रै बुझाए हुन्छ । ६ महिनापछि सावाँ र ब्याज मासिक बुझाउनुपर्छ । नयाँ उद्योग चलाउन चाहने महिलालाई १० प्रतिशत अनुदान पनि यही कार्यक्रमबाट दिइन्छ । यो कार्यक्रमबाट १ लाख रुपैयाँभन्दा तल ऋण लिनेले मासिक ३ प्रतिशत ब्याज तिर्नुपर्छ । १ लाख रुपैयाँभन्दा बढी ऋण लिनेले मासिक ५ प्रतिशत ब्याज बुझाउनुपर्छ ।
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९ ०६:११