रूसले युक्रेनमाथि गरेको आक्रमणले संसारभरको अर्थतन्त्रमा समस्या सिर्जना गरेको छ । मूल्यवृद्धिको प्रमुख कारण यही नै बनेको छ । अन्तर्राष्ट्रिय बजारमा तेल र सुनको मूल्य यही कारणले बढिरहेको छ ।
रुस र युक्रेन दुवै देशसँग नेपालको व्यापारिक सम्बन्ध छ । यी राष्ट्रबीच पछिल्लो ४ महिनादेखि युद्ध चलिरहेको छ ।
युक्रेन नेपालसँग बढी व्यापार गर्ने देशमध्येको पर्छ भने रुस औसत राष्ट्रको तुलनामा छ । युद्ध सुरू भएपछि व्यापार शून्य प्राय: मा झर्ने अनुमान विज्ञहरूले गरे पनि यी दुवै राष्ट्रसँग युद्ध अघिकै अवस्थामा जस्तै कारोबार भइरहेकाे देखिएको छ ।
यता मूल्य शृंखलामा ठूलो प्रभाव पारेको भनिए पनि रुस र युक्रेनबाट आयात हुने सामानमा युद्धपछि र अघिको मूल्यमा ठूलो अन्तर देखिएको छैन । धेरै वस्तुको बजारमूल्य यी दुई राष्ट्रको युद्धका कारण बढेको भनिए पनि यी राष्ट्रसँग प्रत्यक्ष कारोबार हुने सामानको मूल्यमा भने खासै अन्तर देखिएको छैन ।
युक्रेनबाट नेपालले सबैभन्दा बढी प्रशोधित तेलको आयात गरेको छ । फागुनसम्म ६ करोड २३ लाख ९७ हजार लिटर यस्तो तेल आयात गर्दा १० अर्ब ३४ करोड ८७ लाख अर्थात् प्रतिलिटर १ सय ६५ रुपैयाँमा आयात गरेको देखिन्छ भने युद्ध सुरू भएको महिना फागुनयता प्रतिलिटर १ सय ६६ रुपैयाँ प्रतिलिटर परेको देखिन्छ ।
यसले युद्धअघि र पछिको मूल्यमा प्रतिलिटर १ रुपैयाँको मात्रै अन्तर देखिन्छ ।
पछिल्लो चार महिनामा यी दुई देशसँग ७ अर्ब ७३ करोड रुपैयाँको व्यापार भएको छ । चालु आर्थिक वर्षको माघ महिनासम्म अर्थात् ७ महिनासम्म १८ अर्ब ८८ करोड ८८ लाखबराबरको व्यापार भएकोमा पछिल्लो ४ महिना थप ७ अर्ब ७३ करोड व्यापार भएको हो ।
यसमध्ये आयातको हिस्सा ९९.३४ र निर्यातको हिस्सा ०.६६ प्रतिशत छ ।
नेपाली वस्तुको निर्यात युक्रेनमा भन्दा बढी रुसमा भए पनि आयात भने युक्रेनबाट बढी देखिन्छ । ११ महिनाको अवधिमा युक्रेनबाट २० अर्ब ८१ करोड ५६ लाख रुपैयाँबराबरको वस्तु आयात भएको छ भने १९ लाख २९ हजार रुपैयाँको मात्रै निर्यात भएको छ ।
त्यस्तै, रुसबाट ५ अर्ब ६१ करोड २१ लाख रुपैयाँको सामान आयात भएको छ भने १७ करोड ६१ लाख रुपैयाँको सामान निर्यात भएको छ ।
युद्धपछि युक्रेनबाट चिया तथा कफीको आयात शून्य छ । फागुनसम्म १ करोड १९ लाख रुपैयाँको यस्तो सामान आयात भएकोमा त्यसपछि आयात ठप्प रहेको छ । त्यस्तै फागुन यता युक्रेनबाट काठ तथा कोइला र फर्निचर तथा मेसिनको पनि आयात रोकिएको छ ।
युक्रेनसँग निर्यात भने चार महिनायात ठप्प प्राय: रहेको छ । माघसम्म १५ लाख ७८ हजारको रुपैयाँ बराबरको वस्तु युक्रेनमा निर्यात भएकोमा अहिले ४ महिनापछि जम्मा १९ लाख २९ हजार रुपैयाँको पुगेको छ ।
के आउँछ युक्रेबाट नेपालमा ?
सामान | मूल्य |
जीवित जनावरहरू | ३४ लाख ८२ हजार रुपैयाँ |
तरकारी | १ करोड १२ लाख ३३ हजार |
चिया, कफी, अलैँची | १ करोड १९ लाख ८१ हजार |
तेलहन दाना | ५ अर्ब ५ करोड ७४ लाख |
वनस्पति तेल | १५ अर्ब ५९ करोड ८७ लाख |
औषधि | ४२ लाख ९३ हजार |
काठ तथा कोइला | १९ लाख ७७ हजार |
बहुमूल्य पत्थर तथा गहना तथा नक्कली गहना | १ अर्ब ७२ करोड |
यान्त्रिक उपकरण तथा विद्युतीय सामान | ७ अर्ब ९३ करोड |
फर्निचर मिसिन | २७ लाख |
नेपालबाट के जान्छ युक्रेनमा ?
सामान | मूल्य |
चिया, कफी, अलैँची | ७८ हजार |
यार्स्यागुम्बा | साढे ४ लाख |
कार्पेट | ६ लाख ३४ हजार |
बहुमूल्य धातु | १ लाख ६१ हजार |
बाध्यवादन | १ लाख ७४ हजार |
रुसबाट के आयात हुन्छ ?
पछिल्लो चार महिनामा रुससँग आयात ४ अर्ब ३० करोडले बढेर जेठ महिनासम्म ५ अर्ब ३१ करोड पुगेको छ । निर्यात भने २ करोड ५० लाख रुपैयाँ मात्रै बढेर १७ करोड ७१ लाख पुगेको छ ।
- जीवित जनावरहरू : २ करोड ८० लाख ५३ हजार
- तरकारी र चिया तथा कफी : ९२ करोड २४ लाख
- तेलहन दाना तथा वनस्पति तेल : ३ अर्ब ४७ करोड ३४ लाख
- कोका पाउडर तथा चकलेट : १२ करोड ४७ लाख
- मल : ७९ करोड ७६ लाख
- कागज : १० करोड ४० लाख
- विद्युतीय सामान : ५ करोड ३६ लाख
- अन्य : २० करोड
रूसमा निर्यात भएका नेपाली सामान
- चिया, कफी : ९ करोड ७ लाख
- कार्पेट, गलैँचा : ८ करोड ७९ लाख
- अन्य : १ करोड ५० लाख
प्रकाशित मिति: सोमबार, असार १३, २०७९ १६:५९