तीव्र सहरीकरण र बढ्दो सवारी चापसँगै कास्कीमा प्रत्येक वर्ष क्रमशः सवारी दुर्घटना बढ्दै गएको छ । बढ्दो सवारी चाप, जीर्ण र खाल्डा सडकका कारण सवारी दुर्घटना बढ्दै गएको हो ।
यस्तै, जथाभावी बाटो काट्ने प्रवृत्ति, जेब्रा क्रसको प्रयोग नगर्नुलगायतका कारणले सवारी दुर्घटना बढेकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक जितजंग कार्कीले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५/७६ मा कास्कीमा ८२ सवारी दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७४/७५ मा ६९ दुर्घटना भएका थिए । जसमा ४७ जनाको मृत्यु भएको थियो ।
ट्राफिक प्रहरीको तथ्यांकले ज्यान गुमाउनेको संख्या घटे पनि सवारी दुर्घटना भने बढेको देखाएको छ ।
नियम उल्लंघन गर्ने क्रम बढ्याे
पाेखरामा सवारी पार्किङकाे समस्या पनि बढ्दै गएको छ । पोखरा महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिले कार्यभार समालेको २ वर्ष बिते पनि पार्किङलाई व्यवस्थित गर्नेतर्फ आवश्यक पहल हुन सकेको छैन ।
सडकमै यत्रतत्र सवारी पार्किङ गर्नुपर्ने बाध्यता छ । सडक किनारमा जथाभावी पार्किङ गर्नेको संख्या बढ्दो छ । ट्राफिक प्रहरीले गएको आर्थिक वर्ष २०७५/७६ मा कास्कीमा झन्डै ३ हजार सवारी साधनमा ह्वील तथा चेन लक लगाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी कार्कीका अनुसार १ वर्षको अवधिमा जथाभावी पार्किङ गर्ने २ हजार ९ सय ६५ सवारीसाधनमा ह्वील तथा चेन लक गरिएको हो।
ह्वील तथा चेन लक गरिएका साधनमा मोटरसाइकल धेरै छन् । पार्किङ गर्ने ठाउँ नहुँदा अहिले पोखराका मुख्य चोकमा धेरैले निषेधित क्षेत्रमा पार्किङ गर्नुपर्ने बाध्यता छ ।
दुई पांग्रे सवारी चोरको निसानामा
कास्कीमा दुई पांग्रे सवारी चोरीको घटना बढ्दै गएका छन् । आर्थिक वर्ष २०७४/७५ को तुलनामा गएको वर्ष चोरीका घट्ना बढेका छन् ।
प्रहरीको तथ्यांकअनुसार गएको आर्थिक वर्ष २०७५/७६ मा पोखराका विभिन्न स्थानरबाट ७६ वटा दुई पांग्रे सवारी हराएका थिए । त्यसमध्ये सातवटा मात्र भेटिएको प्रहरी नायब निरीक्षक कार्कीले बताए । आर्थिक वर्ष २०७४/७५ मा ५१ वटा दुई पांग्रे सवारी हराएका थिए । त्यसमध्ये चार वटा मात्र भेटिएका थिए ।
दुई पांग्रे सवारी हराएपछि भेटिन मुस्किल हुने ट्राफिक प्रहरी बताउँछन् । चोरिएपछि सवारीहरु विभिन्न ग्रामीण क्षेत्र र तराईतर्फ पुर्याइने हुँदा पुन: भेटिने सम्भावना न्यून हुन्छ ।
राजस्व संकलनमा वृद्धि
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले आर्थिक वर्ष २०७५/७६ मा राजस्व संकलन वृद्धि भएको जनाएको छ । ट्राफिक प्रहरीले सवारी कारबाहीबाट ४ करोड ४७ लाख ३७ हजार ५ सय राजस्व संकलन गरेको छ ।
नियमविपरीत चलाइएका ६४ हजार २ सय सवारीबाट राजस्व संकलन गरिएको हो । आर्थिक वर्ष २०७४/७५ मा भने ५१ हजार ५ सय एक सवारी कारबाहीमा परेका थिए । त्यसबाट ३ करोड ६५ लाख ५१ हजार ५ सय राजस्व संकलन भएको थियो ।
ट्राफिक प्रहरीले जथाभावी पार्किङ गर्ने, मापसे गरी सवारी चलाउने सवारीलाई कारबाही गरी राजस्व संकलन गरेको हो ।
प्रकाशित मिति: शनिबार, साउन ४, २०७६ ०१:५६