सहकारी संस्थाको २२ करोड रुपैयाँ अपचलन गरेको आरोपमा प्रहरीले तीन जना सञ्चालकलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले थानकोटस्थित प्रज्ञान बचत तथा ऋण सहकारी संस्थाको २२ करोड रुपैयाँ अपचलन गरेको आरोपमा सहकारीका अध्यक्षसहित तीन जनालाई पक्राउ गरेको हो ।
सीआईबी स्रोतका अनुसार अध्यक्ष श्रीकृष्ण मर्हजनसहित सहकारीका कोषध्यक्ष र ऋण शाखा प्रमुखलाई पक्राउ गरिएको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
सीआईबी स्रोतले बताएअनुसार ग्राहकको रकम उनीहरूले विभिन्न व्यक्ति ऋणी बनाएर आफैँले अपचलन गरेको खुलेको छ । आफैँले सहकारीमा राखेको रकम फिर्ता माग्दा नपाएपछि पीडित सीआईबीकोमा पुगेका हुन् ।
यसअघि पनि सीआईबीले सहकारीको रकम अपचलन गरेको आरोपमा इच्छाराज तामाङलाई पक्राउ गरेको थियो ।
तामाङले सिभिल सहकारीको नाममा उठाएको ग्राहकको ६ अर्बभन्दा बढी रकम अपचलन गरेको खुलेको थियो । उनी सो अभियोगमा हाल पुर्पक्षका लागि जेल चलान भएका छन् ।
प्रकाशित मिति: सोमबार, असार ६, २०७९ १९:०९