नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको घरझगडा उत्कर्षतिर पुगेको छ । संगठन नै विभाजित हुने अवस्थामा पुगेको असन्तुष्ट पक्षले बताउन थालेको छ ।
क्रान्तिकारीभित्र विवादको सुरुवात असोजको महाधिवेशनबाटै भएको थियो । त्यतिबेला विवाद टुंगो नलाग्दै केन्द्रीय कमिटी घोषणा भएको थियो । तर, ५ असारको केन्द्रीय कमिटीको तेस्रो विस्तारित बैठकसम्म आइपुग्दा विवाद साम्य हुनुको साटो झन् बढ्न थालेको छ ।
गत असोज ८-१० सम्म अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन भएको थियो । उक्त सम्मेलनको अन्तिम दिन कार्की पार्टी प्यालेसमा एक सय ९९ जना सदस्यीय केन्द्रीय कमिटी घोषणा भयो । प्रचण्डनिवासमा नेताहरूबीच भएको सहमति अनुसार नै पञ्चा सिंहलाई अध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको थियो । तर, घोषणालगत्तै कार्की पार्टी प्यालेसमा कुर्सी हानाहान नै भएको थियो । विवादले उत्कर्ष रूप लिएपछि अन्य पदाधिकारी घोषणा गर्ने माहोल बिग्रिएको थियो। उपाध्यक्ष, महासचिवसहितका पदाधिकारीहरू घोषणा हुन सकेन ।
अखिल क्रान्तिकारीभित्रको विवाद साम्य हुन सकेन । बरु उल्टै विवाद बढ्दै गएपछि महासचिव चयनमै समस्या भएको थियो । पदाधिकारी चयनमा विवाद बढ्दै गएकाले पार्टी अध्यक्ष प्रचण्डले पनि पदाधिकारी चयन नगर्न सुझाव दिएका थिए । प्रचण्डले यो सुझाव ५ वैशाख ०७९ मा दिएका हुन् । त्यसदिन अखिल क्रान्तिकारीले बैठक राखेको थियो ।
राष्ट्रिय परिषद्सहितको उक्त बैठकमा इकाई कमिटीका सदस्यसम्मलाई निम्ता गरिएको थियो । प्रचण्डले विशेष सम्बोधन गर्ने भनिएकाले इकाई कमिटीसम्मका करिब १३ सय कार्यकर्तालाई सहभागी हुन खबर गरिएको थियो । असन्तुष्ट पक्षका नेता उपदेश यादवका अनुसार उक्त बैठकमा जम्माजम्मी १ सय ६० जनामात्रै सहभागी थिए ।
यादवका अनुसार उक्त बैठकमा प्रचण्डले क्रान्तिकारीभित्रको विवाद बढेकाले अहिले चुनावी कार्यक्रमबारेमात्रै छलफल गर्न र संगठनबारे केही निर्णय नगर्न निर्देशन दिएका थिए । जुम बैठकमा प्रचण्डले उक्त निर्णय सुनाएर बाहिरिएलगत्तै फ्याक्सन इञ्चार्ज र अध्यक्ष पञ्चा सिंहले पदाधिकारी चयन भएको निर्णय सुनाएका थिए । त्यस बैठकमा महासचिवमा दिपेश पुनसहित ४१ सदस्यीय पदाधिकारी चयन भएको घोषणा भएको थियो । विधान सम्मेलनले क्रान्तिकारीको पदाधिकारीमा २५ जनामात्रै बनाउने व्यवस्था भए पनि विधानविपरीत ४१ सदस्य बनाएको यादवको दाबी छ ।
त्यसैगरी अध्यक्ष सिंहले महाधिवेशनबाट चयन भएका १ सय ९९ केन्द्रीय सदस्यभन्दा बाहिरबाट ५ जनालाई पदाधिकारी बनाएको पनि असन्तुष्ट पक्षको दाबी छ । जुन विधानविपरीत भएको उनीहरूको दाबी छ । अध्यक्ष सिंहले उपाध्यक्षमा सूर्यनारायण साह, सचिवमा अनिल भगत, सूर्य घर्ती, सुमन श्रेष्ठ र कोषाध्यक्षमा भूषण शाहीलाई नियुक्त गरेका असन्तुष्ट पक्षको दाबी छ ।
अहिले उपाध्यक्ष बनाएका १९ जना पहिला पनि संगठनमा आवद्ध भएकाहरूमात्रै रहेको भन्दै असहमति जनाएका छन् । पहिला पदाधिकारीमा रहेकाहरूलाई दोहोर्याउने र नयाँ व्यक्तिलाई जिम्मेवारी दिने काम नभएको असन्तुष्ट पक्षका अर्का एक नेताको दाबी छ । त्यसो त, २१औँ महाधिवेशनमा सचिवमा पराजित भएर पार्टीबाट निष्कृय रहेका उपेन्द्र शाहीसहितका केही नेतालाई पुनः सचिवमा चयन गरेको पनि आरोप लागेको छ ।
पार्टीले कारबाहीका लागि सिफारिस गरेका विद्यार्थी नेताहरू पुजन सिंह र तुलसीमणि पोखरेलमाथि अध्यक्ष सिंहले कारबाही गर्ने भन्दा पनि संरक्षण गर्ने गरेको आरोप छ । सिंहले सप्तरीको गोलबजार नगरपालिकामा बागी उम्मेदवारलाई सहयोग गरेको र पोखरेलले पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै कारबाहीको माग गरिएको छ ।
अध्यक्ष सिंहविरुद्ध लागेका उपाध्यक्ष पवन कार्कीसहितको असन्तुष्ट पक्षले २२ जेठमा थापाथली क्याम्पसमा भेला आयोजना गरेको थियो । उक्त भेला गर्ने निर्णयपछि अध्यक्ष सिंहले कार्कीलाई कारबाही गर्ने निर्णय गरेकी थिइन् । उक्त निर्णयसँगै कार्कीको टोलीले प्रचण्डनिवास पुगेर अध्यक्ष सिंहले विधानविपरीत गरेका निर्णयविरुद्ध ज्ञापनपत्र बुझाएको थियो ।
त्यसपछि दुवै पक्षलाई बोलाएर प्रचण्डले समाधानका तीनवटा उपाय सुझाएका थिए । प्रचण्डले त्यतिबेला कार्कीको कारबाही फिर्ता गर्ने, केन्द्रीय सदस्यमा थप हुने भनिएका एक सय जनाका विषयमा मापदण्ड बनाउने, मापदण्डमा नपरेकालाई हटाउने र स्थानीय तहमा अन्तर्घात गर्नेलाई कारबाही गर्न सुझाव दिएका थिए । तर, अध्यक्ष सिंहले यी तीनवटै काम गरेको असन्तुष्ट पक्षको दाबी छ । विवाद समाधान नहुँदै ५ असारमा केन्द्रीय कमिटीको तेस्रो विस्तारित बैठक बसेको थियो ।
बैठक सुरु नहुँदै कार्की पक्षले विधान विपरीतका निर्णय सच्याउन नाराबाजी गरेपछि विद्यार्थी नेताहरूबीच हात हालाहाल भएको यादव स्वीकार्छन् ।
यो पनि :
अखिल क्रान्तिकारीको केन्द्रीय समिति बैठकमै हात हालाहाल
अखिल क्रान्तिकारीले गर्यो १० नेतालाई कारबाही
प्रकाशित मिति: सोमबार, असार ६, २०७९ १५:५२