‘भिलेज रकस्टार्स’ र ‘बुलबुल क्यान सिङ’ यी दुवै फिल्मबीच धेरै समानता छन् । पहिलो, दुवैकी लेखक, निर्देशक अनि सम्पादक रिमा दास हुन् । दोस्रो, दुवै फिल्म किशोरीको कथामा बनेका हुन् । तेस्रो, दुवै फिल्म रिमाले कुनै व्यावसायिक कलाकारबिना नै बनाएकी हुन् । र चौथो, दुवै फिल्मका मुख्य सहायक पात्र आमा हुन् ।
समानताको सूची थप्दै जाँदा लामो हुँदै जान्छ । दुवै फिल्म आसामको एकै गाउँमा खिचिएका । एक्लै बनाइरहेको भएकाले दुवै फिल्मको प्रोडक्सनको काममा रिमालाई फिल्ममा खेल्ने केटाकेटीहरूले नै सहयोग गरेका । दुवै फिल्ममा किशोरीको लागि कठिन सामाजिक अवस्था भएको । दुवै फिल्ममा किशोरीलाई सपना देख्न अनि आफूले मन लागेको काम गर्न रोकिएको । दुवै फिल्ममा आसामका विभिन्न ऋतु अटाएका ।

यति धेरै समानताका बीच यी दुईमा एउटा ठूलो भिन्नता छ । आमाको रूपमा प्रस्तुत भएका सहायक पात्रबीचकाे भिन्नता । भिलेज रकस्टार्सकी प्रमुख पात्र धनुकी आमा छोरीको सपनामा साथ दिन्छिन् । छोरीको लागि समाजसँग भिड्छिन् । उनी बलियो छिन् । तर त्यही काम ‘बुलबुल क्यान सिङ’ की बुलबुलकी आमा गर्न सक्दिनन् । किनकि उनका श्रीमान् उनलाई घरभित्र सीमित श्रीमतीभन्दा ज्यादा केही हुन दिँदैनन् ।
आमाको प्रभाव छोरीमा परेकै कारण धनु बुलबुलभन्दा बलियो छिन् । धनुको आँट बुलबुलको आँटभन्दा सहज छ । उनीहरूबीच तात्त्विकरूपमा धेरै फरक भएको पनि हैन । बुलबुल पनि धनुजस्तै विद्रोही नै छिन् । उनी पनि समाजले नगर्नु भनेका काम गर्छिन् । वर्जित समयमा पनि सुन्दर प्रेम गर्छिन् । आफूलाई सुन्छिन् । तर उनको चरित्रलाई आफ्नो विद्रोहमा साथ दिने बलियो आमाको खाँचो सधैँ भइरहन्छ ।
यसरी ती दुई पात्रलाई आमाको चेतनास्तरसँग आमुन्ने-सामुन्ने पार्दै उनीहरूले भोग्ने साना साना समस्याहरूमार्फत रिमा दासले आसामको पितृसत्तात्मक संरचनालाई उदाङ्गो पारेकी छन् । र दुखद् कुरा, ती संरचना हाम्रो नेपालको समाजमा पनि उत्तिकै उदाङ्गो छन् ।
०००
भिलेज रकस्टार्सकी प्रमुख पात्र धनु १० वर्षकी हुन् । उनी ब्रम्हपुत्र नदीनजिकैको कुनै आसामी गाउँमा बस्छिन् । त्यो गाउँको फरक-फरक रूप छ । बर्खा नलागुन्जेल गाउँ अर्कै हुन्छ । बर्खा लागेपछि अर्कै । धनु त्यहाँका पाखाहरूमा डुल्छिन् । आफ्नो उमेरका केटा साथीहरूसँग निस्फिक्री घुम्छिन् । खेल्छिन् । पछारिन्छिन् । पानीमा लड्छिन् । अरूलाई समातेर लडाउँछिन् । रुखमा चढ्छिन् । उनीहरूसँग मस्तले रमाउँछिन् । सधैंजसो उनी आफ्नो समूहलाई नेतृत्व गर्छिन् ।
तर उनले गरेको सबैथोक उनलाई देख्नेहरूलाई मन पर्दैन । उनलाई देख्ने महिलाहरू उनले केटाहरूसँग खेलेको मन पराउँदैनन् । उनले रुख चढेको पनि मन पराउँदैनन् । ती उनलाई गाली गर्छन् । उनले सुन्ने गरी ‘केटी भएर यस्तो काम गरेको’ भनी भ्याउँछन् ।
त्यो कुराले उनलाई नछुने हुँदैन । छुन्छ । उनी त हुर्किँदै गरेकी मान्छे । हुर्किँदै गरेको मान्छेलाई समाजमा भएका हरेक कुराले छुन्छ । त्यही कुराले उनको जीवन नै मोड्न पनि सक्छ । उनलाई कहिल्यै रुख नचढ्ने बनाउन पनि सक्छ । उनलाई केटाहरूसँग नघुम्ने, सपना नै नदेख्ने बनाउन पनि सक्छ । यदि त्यसबेला बलियो साथ कसैले नदिने हो भने कलिलो बालिकामाथि त्यस्तो हुन सम्भव छ । कलिलो मुना सजिलै भाँचिन सम्भव छ ।
तर उनकी आमा त्यस्तो हुन दिँदिनन् । उनी बलियो रुख हुनलाई हुर्किँदै गरेको बिरुवा जोगाउँछिन् । श्रीमान् बितेपछि एक्लै परिवार चलाइरहेकी र छोरीलाई हुर्काइरहेकी उनकी आमा समाजले उनलाई भनेको कुरा सुन्न दिँदिनन् । उनी तीनको प्रतिवाद गर्छिन् । धनुलाई जे गर्न मन लागेको हो त्यो गर्न हौसला दिन्छिन् ।
त्यसले धनुलाई आफ्नो सपना पछ्याइरहने बनाउँछ ।
धनु गाउँको एउटा कार्यक्रममा कसैले गितार बजाएको देखेपछि आफू पनि गितार बजाउने रहर गर्छिन् । त्यति मात्र हैन, आफ्नो पुरै ब्यान्ड नै बनाउने सपना देख्छिन् । साथीहरूलाई त्यो सपनामा सामेल हुन लगाउँछिन् । टिभी लगायत सामान जोगाउन कार्टुनभित्र राखिने फोमको गितार बनाएर बजाउँछिन् । गाउँका सबै केटाहरूलाई लिड गरेर ब्यान्ड बनाउँछिन् । आमा ती कुनै पनि कुरामा उनलाई रोक्दिनन् । बरू सघाउँछिन् । छोरीका लागि सबै सामान जुटाउन नपाउँदा पिर गर्छिन् । उनलाई छोरी भोलि गएर के गर्छे भन्ने कुराको भारी छैन । छोरीको बिहे कसरी गर्ने भन्ने भारी उनी बोक्दिनन् । यसरी गितार बजाउँदै हिँड्दा भोलि अरूले के भन्ने हुन् भन्ने सोच्दिनन् ।
सायद उनी पनि सानो हुँदा त्यस्तै केही गर्न चाहन्छिन् । सायद उनले त्यसो गर्न पाइनन् । सायद उनले आफूमा पलाउँदै गरेको सपनाको पखेटा अचानक बिहे भएपछि काटिएको महसुस गरिन् । सायद उनी आफूले मनबाट गर्न नपाएको कुरा छोरीमार्फत पुरा होस् भन्ने चाहन्छिन् । सायद उनी छोरीको अनुहारमा सानो हुँदाको आफू भेट्छिन् । आफूलाई के के कुराले गाह्रो बनाएको थियो सायद उनी छोरीलाई ती कुराले अप्ठ्यारो नबनाऊन् भन्ने चाहन्छिन् ।
फिल्मको एउटा दृश्यमा उनी धनुलाई पौडी खेल्न सिकाउँदैछिन् । उनले पौडी सिकाएको दृश्य केवल आमाले छोरीलाई पौडिन सिकाएको दृश्य हैन । त्यसले उनी बाँचिरहेको परिवेशको धेरै तह छिचोल्छ । एउटा त त्यो गाउँमा बाढी आइरहन्छ । बाढीले गाउँ डुबाइरहन्छ । उनी छोरीको सपनालाई त्यस्तो बाढीले नडुबाओस् भन्ने चाहन्छिन् । आफ्नो श्रीमानलाई जसरी बाढीले छोरीलाई नबगाओस् भन्ने चाहन्छिन् ।
दोस्रो, उनले पौडी सिकाएको पानी समाजले किशोरीलाई हरेक तहमा डुबाउन खोज्ने दह पनि हो । त्यसमा बेलैबाट पौडिन सिकेन भने त्यसले डुबाउँछ भन्ने उनलाई थाहा छ । दहले पहिला डुबाउँछ अनि डुबेपछि उतार्छ । उनी छोरीलाई नडुबी उत्रिन सिकाउन चाहन्छिन् । अचानक सासै रोक्नेगरी आउने पितृसत्ताको बाढीसँग डट्ने सामर्थ्य दिन चाहन्छिन् । उनलाई थाहा छ- महिला भएर यो समाजमा आएपछि समाजका गहिरा संरचनाले महिलालाई डुबाउन खोजिरहन्छन् । पटक-पटक लडाउन खोजिरहन्छन् ।
पौडी सकेर आमा छोरी सँगैबस्दै पर परसम्म रहेको पानी हेरिरहेको एउटा दृश्य छ । त्यो दृश्यले महिला भएर वा छोरी भएर यो पितृसत्तात्मक समाजमा रहँदा गर्नुपर्ने संघर्षको फेहरिस्त बताउँछ । अनि सँगै यो पनि भन्छ- यहाँ अप्ठ्यारो बाटो होलान् तर हामी लड्नेहरू पनि छौँ ।
यसरी आमा आफूलाई बुझ्ने भइदिएकै कारण अनि आमाले उनको इच्छालाई बुझिदिएकै कारण धनु फिल्मभर बलियो चरित्र बन्न सकेकी छन् । उनी कुनै पनि बेला भाँचिनु परेको छैन । एक्लिनु परेको छैन । परिहाले पनि त्यो लामो समय अडिन पाएको छैन । उनकी आमा जुनसुकै अवस्थामा पनि उनको पक्षमा उभिन तयार छिन् । साथी जसरी उनको कुरा सुन्न तत्पर छिन् । फिल्मको अन्तिमतिर आमाले उनको लागि गितार किन्दै गरेको दृश्यले त्यसैलाई प्रतिनिधित्व गर्छ । छोरीको सपनामा आमा उभिइदिए त्यसले पार्न सक्ने फरकलाई बुझाइदिन्छ ।
तर यो उभिन र पौडिन सक्ने आमाको कथा भयो । तर सबैतिर त्यस्तो हुँदैन । सायद रिमा दासलाई यो कुरा भन्नु थियो । त्यसैले होला उनले ‘बुलबुल क्यान सिङ’ बनाइन् ।
०००
‘बुलबुल क्यान सिङ’ १४ वर्षकी बुलबुलको कथा हो । उनी पनि धनुजस्तै नजिकैको स्कुलमा पढ्छिन् । उनका दुई जना साथी छन् । ती सँगै खेल्छिन् । उनी स्कुलमा सङ्गीत सिक्छिन् तर सबैको अगाडि गाउन धक मान्छिन् । उनकी एक साथीको सानो खाजा पसल छ । उनीहरू बेलाबेला त्यहाँ गएर आमालाई काम पनि सघाउँछन् । बुलबुल छोटो लुगा लगाउँछिन् । कपाल खुल्लै छोड्छिन् । तर उनलाई आमाले त्यसो नगर्नु भनेर गाली गर्छिन् ।
आमालाई पनि सायद उनले आफूले जे मन लाग्यो त्यो गरेको मन पर्छ तर छोटो लुगा लगाएर समाजले के भन्छ भन्ने डरले उनको मनको डर भाग्न दिँदैन । वा समाजले केही भन्नासाथ आफ्नो श्रीमानले आफूलाई गर्नसक्ने प्रहारसँग उनी डराउँछिन् । बुलबुलकी आमा धनुकी आमा जति बलियो छैनन् । उनलाई आफ्नै घरमा स्वतन्त्रता छैन ।
बुलबुल एक युवकसँग प्रेम गर्छिन् । तर गाउँ नजिकैको चर्चित स्थान नजिकै सँगै बसिरहेको बेलामा अर्को गाउँका मानिसहरूले उनीहरूलाई भेट्छन् । त्यसरी बसेर गाउँको इज्जत बिगारेको भनेर सामूहिक रूपमा कुट्छन् । उनीहरू प्रेम गर्दा कुटाइ खान्छन् । त्यति मात्र हैन, स्कुलबाट इज्जत जाने काम गरेकाले उनीहरू निकालिन्छन् । त्यो सबै कुरा थाहा पाउँदा घरले उनलाई साथ दिँदैन । उनको पक्षमा कोही पनि बोल्दैन ।
बुलबुल जति पनि समस्या फिल्ममा भोग्छिन्, त्यसमा उनको साथमा साथीहरूबाहेक घरबाट कोही पनि हुँदैनन् । उनकी आमा धनुलाई जसरी उनलाई सहायता गर्न सक्दिनन् । किनकि उनी स्वयं चरम पितृसत्ताबाट पीडित छन् । आफैँले राखेको लुगा नभेट्दा गाली गर्ने श्रीमानको गाली खान विवश छिन् ।
धनुलाई पनि गीत गाउनु त छ तर त्यसको लागि उनी धनुजसरी लड्दिनन् । त्यति हिम्मत उनीसँग छैन किनकि उनलाई धनुलाई जसरी आमाले वा कसैले सिकाएका छैनन् । उनलाई के गर्छु भन्ने नै पनि थाहा छैन । एउटा दृश्यमा बुलबुललाई नजिकै राखेर बाबु गीत बजाएर सुनाउँदैछन् । त्यति बेला बुलबुलको शिर झुकेको छ । उनी छोरीले गीत गाओस् भन्ने चाहिराख्दा आँखाको सामुन्ने झुकेको छोरीको अनुहार किन झुक्यो भनेर थाहा पाउँदैनन् । आफूले सिकाउन खोजेको मान्छेको शिर झुकेको पनि नबुझ्ने शिक्षकले के बुझाऊलान् । उनका बाबु छोरीले त्यसो गरेको हेर्न चाहन्छन् जुन उनले गर्न सकेनन् ।
धनुलाई आमाले पौडिन सिकाएजस्तो यहाँ आमा बुलबुललाई सिकाउन सक्दिनन् । बुलबुललाई त्यसको आभास जहिल्यै भइरहन्छ । आफ्नो छेउमा उभिइदिने कोही छ भन्ने आभास । त्यो उनले एउटा दृश्यमा बगिरहेको पिँडालुको पात हेरिरहेको बाटो पुष्टि हुन्छ । अर्कोमा उडिरहेको सिमलको भुवा हेरिरहन्छिन् । उनी ती सबै कुरा हेर्छिन्, जो उनी खासमा गर्न सक्दिनन् । उनी पिँडालुको पात जसरी यी सबै बोझहरूबाट तैरिएर बगिजान सक्दिनन् । उनी युवती भएर हुर्किँदा समाजले लगाइदिने अनेकौँ तगाराहरूमाथि सिमलको भुवा जसरी उड्दै जान सक्दिनन् ।
यी दुई आमा चरित्रहरू दुवै हाम्रो समाजमा छन् । कति किशोरीहरूलाई धनुको जस्तो आमासँग हुर्किने मौका मिलेको छ । कतिलाई बुलबुलकी आमाजस्तो । दुवैजना आमाको चरित्रमार्फत पहिलो फिल्ममा आमाको सहायता पाए के के हुनसक्छ देखाएकी दासले दोस्रोमा आमा बलियो हुन नसक्दा हुने क्षतिहरू देखाएकी छन् । सायद हुनसक्छ, पहिलो फिल्मले दिलाएको अन्तर्राष्ट्रिय चर्चाले उनलाई भारतको कोर क्षेत्रको कथालाई अझै उधिनेर भन्ने हौसला दियो । सायद हुनसक्छ एकदमै कम हुनसक्ने कथालाई भन्दा भइरहने कथालाई भन्न उनले आफ्नो फिल्ममेकरको रूपमा दायित्व सम्झिन् ।
त्यसैले पनि सायद ‘भिलेज रकस्टार्स’ भन्दा ‘बुलबुल क्यान सिङ’ को कथा वियोगान्त छ । बिझ्ने छ । फिल्मका कतिपय स्थानमा आफू नै फिल्ममा भएका घटना हेरिरहेको छु कि जस्तो हुन्छ । प्रेमी सँगसँगै बसेको देखेर पक्रिएपछि गाउँलेले उनीहरूलाई कुटेको दृश्य यति लामो खिचिएको छ कि उनीहरूले खाएको हरेको कुटाई आफूले नै खाइरहेको छुजस्तो हुन्छ । अनि सँगै त्यसरी कुट्ने आफू नै हुँ कि जस्तो पनि हुन्छ ।
त्यो दृश्यले लामो समयसम्म झङ्कार हानिरहन्छ ।
०००
‘बुलबुल क्यान सिङ’ को अन्त्यमा आफ्नो छोरी गुमाए पनि बुलबुललाई ढाडस दिँदै उनकी साथीकी आमा नदी किनारमा सँगै बसेको बेला बुलबुललाई भन्छिन् ‘जसले भनेको पनि सुनिरह्यौ भने तिम्रो सारा जीवन बर्बाद हुन्छ ।’
साँच्चै, त्यस्तो हुन नपाएर कति धेरैको जीवन वर्बाद भएको होला है ?
प्रकाशित मिति: शनिबार, असार ४, २०७९ १०:२०