भोजपुरका धीरेन्द्र राई रोजगारीका लागि साउदी अरब पुगेको ३९ महिना भयो । उनी साउदीको राजधानी रियादस्थित अन्तर्राष्ट्रिय फलफूल सप्लाई कम्पनीमा कार्यरत छन् । उनी साउदीमा अवैध रूपमा बसेर काम गरेको सात महिना पुगेको छ ।
साउदी आवासीय अनुमतिपत्र (अकामा) नभएका कारण अवैध रूपमा बसेर काम गर्न बाध्य भएको उनले बताए । मासिक तलब २ हजार ९ सय रियाल (८० हजार रुपैयाँ) भएकै कारण अवैध रूपमा बसेर काम गरेको उनले बताए । ‘अवैध बनेर काम गर्नु मेरो मात्र होइन, धेरै नेपालीहरूको बाध्यता बनेको छ । स्वदेश फर्किंदा यही काममा आउन फेरि समस्या हुन्छ । त्यही भएर अवैध भएर बसेको हुँ,’ उनले भने ।
कम्पनीको म्यानेजरसँग राम्रो सम्बन्ध हुनाले पनि आफूलाई अवैध रूपमा बसेर काम गर्न सजिलो भएको उनको भनाइ छ । राईसँगै एउटै कम्पनीमा काम गर्ने अन्य ११ जना नेपाली छन् । उनीहरू पनि अवैध भएरै काम गरिरहेका छन् ।
राईजस्तै चितवनका निशान लमिछाने पनि एक वर्षदेखि साउदीमा अवैध रूपमा बसेर काम गरिरहेका छन् । उनीसँग साथमा राहदानी, अकामा र अन्य केही कागतजात छैन । कोरोना महामारीमा रोजगारीका लागि साउदी अरब आएका कारण कम्पनी छोडेर अर्को कम्पनी जाँदा अवैध हुनुपरेको लामिछानेले जानकारी दिए ।
अकामा नभएका कामदारले कम्पनीले भनेजतिमा काम गर्नुपर्ने बाध्यता रहेको उनले सुनाए । अहिले ग्रिल र गाडीको टायर उत्पादन हुने कम्पनीमा मासिक १ हजार ८ सय रियालमा काम गरिरहेको र यो कम्पनीमा अवैध रूपमा बसेर काम गर्ने नेपालीहरूको तलब काम २ हजार रियालभन्दा कम भएको लामिछानेले बताउँछन् ।
राई र लामिछानेजस्तै साउदीमा ८० हजारभन्दा धेरै नेपालीहरू अवैध रूपमा बसेर काम गरिरहेको साउदीस्थित नेपाली दूतावासको अनुमान छ । यसरी अवैध बसेर काम गर्ने नेपालीहरूसँग राहदानी, अकामा र अन्य कुनै पनि कागतजात नभएको दूतावासले जनाएको छ ।
दूतावासले साउदी अरबका विभिन्न रोजगारदाता कम्पनी र प्रतिष्ठानहरूमा कार्यरत रहँदा अकामा नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसा (एक्जिट भिसा) का लागि साउदीको सम्बन्धित निकायसँग आग्रह गर्दै आएको छ ।
गत साता मात्र अवैध रूपमा बसेका १ सय १८ जना नेपाली कामदारको बहिर्गमन भिसा दूतावासको आग्रहमा साउदीको अध्यागमनले दिएको थियो । गत वर्ष अकामा नभएका २ हजारभन्दा धेरै कामदार स्वदेश फर्काइएको दूतावासले जनाएको छ ।
कामदारले भोगिरहेका मुख्य समस्या
साउदीमा कार्यरत नेपाली कामदारले कम्पनीसँग भएको करार सम्झौताअनुसारको तलब सुविधा नपाउने, तलब नपाए पनि उजुरी गर्ने अवस्था नभएको, कम्पनीले अनावश्यक जरिवाना लगाउने र फर्जी कागजात बनाएर कामदारलाई कम्पनीले मुद्दा लगाउनेजस्ता समस्या कामदारले भोग्नुपरेको नेपाली कामदारले साउदीस्थित नेपाली दूतावासमा गर्दै आएका छन् ।
साथै, नेपाली कामदारले साउदीमा काम गरेको तलब समयमा नपाउने ओभरटाइम काम गरेको पैसा कम्पनीले नदिने, बिरामी पर्दा उपचार कम्पनीले नगराइदिने र छुट्टीमा घर फर्किन पनि नदिने गरेको समस्या कामदारले भोगिरहेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।
साउदी दूतावासले हालै कम्पनीले अकामा नबनाइदिएको वा अकामा नवीकरण नगरिदिएको वा हुरूब लगाइदिएका कारणले नेपाल फर्किन नपाएका श्रमिकका लागि एक्जिट भिसा दिँदै आएको छ ।
साउदीमा कामदार अलपत्र बन्ने क्रम बढेपछि दूतावासले यहाँ कार्यरत कामदारलाई सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको साउदीस्थित नेपाली दूतावासका प्रवक्ता ऋषिराज आचार्यले जानकारी दिए ।
‘साउदीमा पछिल्लो समय देखिएको सबैभन्दा ठूलो समस्या भनेको अकामा नै हो । यो समस्या समाधानका लागि पहल भइरहेको छ । साउदी रोजगारीका लागि आउने कामदार धेरै कमाउने प्रलोभनमा पर्दा पनि समस्या हुने गरेको छ,' प्रवक्ता आचार्यले भने, ‘दूतावास र सरकारले विभिन्न माध्यममार्फत समस्यामा परेका नेपालीहरूलाई उद्धार गर्दै आएको छ । कति कामदार धेरै कमाउने लोभमा परी कम्पनी परिवर्तन गर्दा समस्यामा परेका छन् । एक वर्षयता यो समस्या बढ्दो क्रममा छ ।’
साउदीमा अवैध रूपमा बसेर काम गर्ने कति नेपालीहरूले अरु नेपालीहरूलाई ठग्ने र फसाउने काम गरिरहेको आचार्यको भनाइ छ । साउदीको रियाद र दमाममा धेरै नेपाली कामदारहरू कार्यरत छन् । यी शहरबाहेक राजधानीभन्दा पूर्वी क्षेत्रका शहरहरूमा कार्यरत ३० प्रतिशत नेपाली अवैध रूपमा बसेर काम गरिरहेको दूतावासको अनुमान छ । साउदीमा करिब ४ लाख नेपालीहरू वैदेशिक रोजगारीमा कार्यरत रहेको दूतावासले जनाएको छ ।
नेपाली दूतावासको आग्रहमा एक्जिट भिसा दमाम, जुवेल, खोबर र अलहासास्थित अध्यागमन कार्यालयबाट प्राप्त हुने दूतावासले जनाएको छ । दूतावासले प्रोसेसिङ गरेर प्राप्त हुने एक्जिट भिसाको सूची प्रत्येक हप्ता दूतावासको फेसबुक पेजमार्फत सार्वजनिक गर्ने गरेको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९ ०६:३०