अछामका विनोद शाही मृत्यु प्रकरणको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटिएको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका– ४ का शाहीको शव ६ दिनअघि फेला परेको थियो । उनको बिहीबार मात्रै पोस्टमार्टम पछि परिवारले शव बुझेर अन्त्येष्टि गरेका छन् ।
यद्यपि उनको हत्या वा आफैँ मृत्युबारे केही खुलेको छैन । पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ । नेकपा एमालेनिकट शाहीलाई नेपाली कांग्रेसका कार्यकर्ताले हत्या गरेको आरोप लगाउँदै घटनाको छानबिन नभएसम्म परिवारले शव उठाउन मानेका थिएनन् ।
१७ जेठको रातिदेखि बेपत्ता रहेका विनोदको शव घरनजिकैको कुच्ची जङ्गलको खोँचमा भेटिएको थियो । बिहीबार १३ जनामाथि प्रहरी किटानी जाहेरी लिन प्रहरी तयार भएपछि परिवारले शव बुझेका हुन् ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार १३ जना नेपाली कांग्रेसका कार्यकर्तामध्ये एक जना पञ्चदेवल नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेको नाममा समेत किटानी जाहेरी परेको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले १३ जनाविरुद्ध किटानी जाहेरी परेको पुष्टि गरे पनि नाम भने गोप्य रहेको बताए ।
सोही घटनाको अनुसन्धानका लागि सीआईबीको टोली अछाम पुगेको हो । सीआईबीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहर भट्टको टोली अछाम पुगेको हो ।
प्रहरी प्रवक्ता एसएसपी विष्णु केसीका अनुसार घटनाको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरूमाथि ज्यान मुद्दामा म्याद थप गरेर प्रहरीले अनुसन्धान अघि बढाएको केसीको भनाइ छ ।
सीआईबीबाहेक घटनाको थप अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेशस्थित सङ्घीय प्रहरी इकाइ महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे नेतृत्वको टोलीसमेत अछाममै छ ।
विनोद शाही मृत्यु प्रकरणले राजनीतिक रूप लिन थालेपछि घटना गिजोलिने भन्दै प्रहरी प्रधान कार्यालयले सीआईबीको टोली खटाएको हो ।
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९ १२:३२