पोखरा महानगरपालिकाको तथ्यांकअनुसार यहाँ १२ वटा सार्वजनिक शौचालय छन् । पूर्ण व्यवस्थित नभए पनि यी शौचालय जेनतेन चलिरहेका छन् ।
पोखराका बजार डुल्दा रेस्टुरेन्टको शौचालय प्रयोग गर्नुपर्ने बाध्यता छ । काठमाडौंमा पनि यस्तै समस्या भएपछि नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन) ले निजी संघसंस्थाका शौचालयलाई सार्वजनिक प्रयोग गर्ने प्रस्ताव पहिलो कार्यपालिका बैठकमा ल्याएका थिए । त्यो पास भएर पनि कार्यान्वयनको चरणमा पुगिसकेको छ ।
काठमाडौंका मेयर बालेनको निर्णयले पोखरामा पनि सार्वजनिक शौचालय घोषणा गर्ने लहर सुरु भएको छ । पोखरामा रेस्टुरेन्ट, कफी सप, पेट्रोल पम्प, होण्डा कम्पनीका सोरुमले आफ्नो शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएको घोषणा गरेका छन् । पोखराको न्यूरोडस्थित कफी घरले सबैभन्दा पहिले बालेनको योजनालाई समर्थन गर्दै २० जेठमा आफ्नो शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएको घोषणा गरेको थियो ।
काठमाडौंका मेयर शाहको योजना मन परेर आफ्नो कफी हाउसको शौचालयलाई सार्वजनिक प्रयोगका लागि खुला गरेको सञ्चालक सोभित ठकुरीले बताए । ‘बालेन शाहको कन्सेप्ट मन परेपछि मैले शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएको हुँ । पोखराका मुख्य बजार ठाउँमा सार्वजनिक शौचालय छैनन्,’ ठकुरीले थपे, ‘पोखरा महानगरसँगै यसले अरुलाई पनि प्रेरित गर्छ । ठाउँठाउँमा निजी शौचालय सार्वजनिक हुनु हामी पोखरेली र पर्यटकलाई नै सहज हुन्छ ।’
पोखराको बजार क्षेत्रबाहेक पर्यटकको चहलपहल हुने लेकसाइडका होटल, रेस्टुरेन्टले शौचालय प्रयोग खुला गर्दा देशभर राम्रो सन्देश जाने उनी बताउँछन् ।
पोखराको व्यस्त बजार चिप्लेढुंगाको क्लाउड नाइन रेस्टुरेन्ट, महेन्द्रपुलको विवेक पेट्रोल पम्प, बिरौटाको पोखरा मःमलगायतले आफ्नो शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएका छन् । क्लाउड नाइन रेस्टुरेन्ट सञ्चालक महेश्वर भण्डारी काठमाडौंबाट सुरु भएको अभियान भए पनि राम्रो पक्षलाई आफूले अबलम्बन गरेको बताउँछन् । ‘राम्रो कुरा छ भने त्यसलाई फलो गर्नु राम्रो पक्ष हो । हामीले काठमाडौंको ट्रेण्ड फलो गरे पनि यो हाम्रो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) पनि हो,’ उनले भने ।
पोखरा महानगरसँग समन्वय गर्ने र कुनै कानुनी प्रक्रिया भए त्यो पनि पूरा गर्ने सञ्चालक भण्डारीले बताए । उनको रेस्टुरेन्टले बुधबारदेखि आफ्नो शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याएको हो ।
पोखरामा १२ वटा सार्वजनिक शौचालय अधिकांश संघसंस्थाले चलाइरहेका छन् । महानगर सरसफाइ शाखा प्रमुख कल्पना बरालका अनुसार भएका शौचालय केहीबाहेक अधिकांश पुराना भएकाले व्यवस्थित गर्न आवश्यक छ । ‘भएकामध्ये कति शौचालय व्यवस्थित गर्नुपर्ने छन् । तर, सबै प्रयोगमा आएकै छन्,’ प्रमुख बरालले भनिन्, ‘स्मार्ट शौचालय पनि पोहोरबाट चलेको छ । मुख्य बजारमा पहिल्यै बनेका शौचालय छन् ।’
पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले चुनावी घरदैलोमा जाँदा पोखरामा सार्वजनिक शौचालय बनाउने घोषणा गरेका थिए । अघिल्लो नेतृत्वले काम नगरेको दाबी गर्दै मेयर आचार्यले सार्वजनिक ठाउँमा जग्गा पाए शौचालय बनाउने प्रतिबद्धता जनाएका छन् ।
हालसालै नेतृत्वमा आएकाले मेयर आचार्य यो विषयमा अघि भने बढेका छैनन् । ‘पालिकाहरू आफैँ निर्णय गर्न स्वतन्त्र छन् । काठमाडौंले गरेको निर्णय यहाँ कार्यान्वयन हुँदैन,’ महानगरका सूचना अधिकारी भरतराज पौडेलले भने, ‘भोलि हाम्रो नेतृत्वले पनि त्यो आवश्यकता देख्नुभयो भने निर्णय होला । तर, पोखरामा होटल–रेष्टुराँले आफ्नो शौचालयलाई सार्वजनिक बनाएको महानगरमा जानकारी छैन ।’
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९ २१:२२