म्याग्दीको बेनी नगरपालिका– ३, भकिम्लीका ४२ वर्षीय धनबहादुर श्रीष वैदेशिक रोजगारीका क्रममा खाडीका देश र युरोप पुगे पनि भनेजस्तो पैसा कमाउन सकेनन् । उनी सात वर्षअघि युरोपमा डेढ दशकको बसाइलाई बिट मारेर रित्तो हात ७ लाख रुपैयाँ ऋण बोकेर घर फर्किए । उनले नेपाल फर्किएपछि स्वदेशमै वैदेशिक रोजगारीभन्दा धेरै मिहिनेत गर्ने भन्दै कृषि पेसा अँगाले । २०६१ सालमा ३ लाख लगानी गरेर बोयर बाख्रापालन सुरु गरे ।
श्रीषले ‘पशुपालन तथा कृषि फार्म प्रालि' दर्ता गरी २०६१ सालमा ३ लाख लगानी गरेर बोयर जातको व्यावसायिक बाख्रापालन सुरु गरेका हुन् । उनले सोही व्यवसायबाट अहिले सबै खर्च कटाएर वार्षिक २० लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् ।
उनले बोयर जातको बाख्रापालन गर्दै आएका कृषकहरूलाई बोयरको स्रोतकेन्द्र बनाउन आवश्यक पूर्वाधार र तालिमसमेत दिँदै आएका छन् । श्रीष विदेशमा काम गर्दा पैसा कमाउनु त कता हो कता उल्टै ऋण बोकेर स्वदेश फर्किएका थिए । बाख्रापालन गर्न थालेपछि विदेशमा बोकेको ऋण तिर्दै परिवारको आर्थिक अवस्था सुधार्दै यो पेसा गरिरहेको उनी बताउँछन् ।
नेपालीहरूले स्वदेशमा पसिना बगाउन अल्छी गर्दा विदेशमा धेरै जोखिम मोलेर काम गर्नुपर्ने बाध्यता भएको उनले बताए ।
‘वैदेशिक रोजगारीबाट फर्किंदा लागेको ७ लाख रुपैयाँ ऋण तिर्नका लागि स्थानीय जातका बाख्रा बेचेर ३ लाखको लगानीमा बोयर जातका बाख्रापालन सुरु गरेँ । सात वर्षको अवधिमा ऋण तिरेर पनि व्यवसाय वृद्धि गर्नका लागि वार्षिक २० लाखसम्म बचत गर्न सफल भएँ,’ उनले भने, ‘मैले विदेशमा धेरै हण्डर खाएँ । पसिनाका धारा छुटाउँदै काम गर्दा पनि तलब पाइनँ, बिरामी परेँ, साथीहरूबाट ऋण लिएर उपचार गरेँ । नेपाल फर्किन पनि ऋण लिएँ, त्यही ऋण तिर्न सुरु गरेको यो व्यवसायले मलाई फलिफाप नै भयो ।’
श्रीषले अफ्रिकन जातको बाख्रापालनको मोडललाई प्रयोग गरिरहेका छन् । उनको फार्ममा ७० वटा बोयर जातका बाख्रा छन् । हाइब्रिड पद्धतिबाट बाख्रा उत्पादन गर्ने तालिम लिएपछि यो पेसा अँगालेको उनले बताए ।
बोयरको बोका खरिद गरी ल्याएर स्थानीय लोकल जातको बाख्रासँग क्रस गराई त्यसबाट उत्पादित बाख्रालाई प्रतिकेजी १ हजार ५ सय रुपैयाँमा मासु व्यापारीलाई बिक्री गर्ने गरेको श्रीष बताउँछन् । प्रतिगोटा बोयरको खसी १ लाख २० हजार रुपैयाँमा बिक्री हुने गरेको छ । फार्ममा उत्पादन भएका बाख्रा पोखरा, गण्डकी प्रदेश र बुटवलमा बिक्री गर्दै आएको श्रीषले बताए ।
बाख्रापालनसम्बन्धी सीप अन्य किसानलाई पनि सिकाउँदै आएको उनी बताउँछन् । जन्मदर बढी हुने, छिटो तौल बढ्ने, बाली लाग्ने, कम रोग लाग्ने, दूध–मासु दुवैका लागि प्रयोग हुने, आकर्षक र कसिलो शरीर हुनेलगायतका विशेषताहरू अफ्रिकन बोयर जातका बाख्रामा हुने हुँदा यी जातका बाख्राबाट छोटो समयमा सोचेभन्दा धेरै आम्दानी लिन सकिने उनको अनुभव छ ।
श्रीषको फार्ममा बाख्रापालन हेर्न र सोहीअनुसार व्यवसाय गर्न धेरै कृषकहरू उनको फार्ममा पुग्ने गरेका छन् । नेपालबाट मात्र होइन, भारतको दार्जिलिङ, सिक्किमबाट समेत कृषकहरू उनको बाख्राफार्म अवलोकन गर्न आउने गरेको श्रीषले बताए ।
खाडी मुलुकमा पुगेर फर्किएका युवा पशुपालनमा आकर्षित भइरहेको अवस्थामा श्रीषले विदेशमा आफूले खाएको हण्डरलाई सम्झिएर स्थलगत रूपमा आएका र फोनबाट समेत बाख्रापालनका बारेमा सिकाउँदै आएका छन् ।
श्रीषले आगामी तीन वर्षभित्र वार्षिक २५ लाख रुपैयाँ आम्दानी हुने खोर विस्तारसहितको बाख्रापालनको योजना बनाएर सोहीअनुसार काम गरिरहेको सुनाए । ‘पैसा ताकेर कृषि पेसामा लाग्दा धेरै फसेका छन् । यो पेसामा पैसा त छँदैछ तर, आजको भोलि नै लाभ खोजेर हुन्न । बिस्तारै गर्दै अगाडि बढ्नुपर्छ पैसा र पेसा दुवै सुरक्षित हुन्छ । तर, गर्नुचाहिँ पर्छ,’ उनले भने, ‘नेपालमा उत्पादन भएको खसीको मासु विश्वबजारमा उत्कृष्ट हुन सक्छ तर, विदेशमा निर्यात गर्न सक्ने अवस्था कृषकसँग छैन । सरकारको यो विषयमा ध्यान नै गएको छैन । जसका कारण स्वदेशी बजारमै निर्भर हुनुपर्छ ।’
नेपालमा रोजगारी र पैसातिर मात्र सबैको मन तानिदा विकास, प्रविधि र कृषि पछाडि परिरहेको उनको बुझाइ छ । सरकारको कृषि र रोजगार नीति पनि त्यति गतिलो छैन । ठूलो फार्म चलाउने उद्यमीलाई मात्र कृषक र टाईसुट लगाउने व्यक्तिलाई मात्र रोजगारीको सम्मान दिदाँ दुवै क्षेत्र ओझेलमा परेको उनको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९ ०६:३१