भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग वाणिज्य संघको प्रदर्शनी केन्द्र भरतपुरको स्थानीय चुनावका लागि इपिसेन्टर हो । यहाँ वरपर अहिले मान्छेको बाक्लो भिड हुन्छ । भरतपुरको मतगणनास्थल रहेको यो प्रदर्शनी केन्द्र बाहिर भरतपुरको नयाँ नेतृत्वको चासो र चर्चा गर्दै मानिसहरू मतपरिणामको व्यग्र प्रतीक्षामा छन् । यही भिडमा केही भने आफ्नो जीविका चलाउने उत्तम मेसो खोज्दै व्यापारमा मग्न छन् ।
यहाँ वरिरि ठेलामा चटपट, मकै र खादा मालाको व्यापार गर्नेको लाम छ । अघिपछि ठेलामा व्यापार गर्दा लखेटिने उनीहरू अहिले मतगणनास्थल बाहिर सडकछेउमा ढुक्कले व्यापार गरिराखेका छन् । यिनैमध्ये एक हुन् प्युठान घर भएका २२ वर्षीय कुमार विश्वकर्मा । भरतपुरमा बसेर कलेज पढ्ने उनले आफ्नो पढाइसँगै अन्य खर्च निकाल्न मतगणनास्थल बाहिर खादा र मालाको व्यापार गरिराखेका छन् ।
भित्र मतपरिणाम आउनेबित्तिकै कुमारको पसलमा नेता कार्यकर्ता खादा माला किन्न ओइरिन्छन् । 'निर्वाचन भएपछि जित र हार भइहाल्छ । विजयी भएका पक्षका समर्थकहरूले फूलमाला, अबिर किनिहाल्नु हुन्छ । राम्रो व्यापार भइराखेको छ', उनले भने ।
पढाइसँगै व्यापारमा अघि बढेका कुमार राजनीतिप्रति पनि चासो राख्छन् । घर प्युठान भए पनि पढाइ र काम यतै भएकाले उताको भन्दा भरतपुरकै चासो छ उनलाई । नयाँ नेतृत्व कस्को आउला र कस्तो काम गर्लान् भन्नेमा उनको पनि चासो छ । नयाँ नेतृत्वले युवाको कुरा सुनेर काम गरे हुन्थ्यो भन्ने उनको अपेक्षा छ ।

कुमारजस्तै मतगणनाको छेको पारेर चटपट, पानीपुरी बेच्न आएकी भरतपुर–९ की जया श्रेष्ठको पनि आफ्नै अपेक्षा छन् । अहिले मतगणनास्थल बाहिर चटपट, पानी र खाजाको व्यापार राम्रो गरिराखेकी उनले अघिपछि पनि ठेलामै व्यापार गरेर जीविकोपार्जन गर्दै आएकी छिन् । तर, अहिलेको जस्तो ढुक्कले व्यापार गर्न सधैँ कहाँ पाउनु । जयाले कैयौँपटक नगरप्रहरीबाट दुर्व्यवहार खेपेकी छिन् । थुप्रैपटक ठेला छोडेर भाग्नुपरेको पीडा छ । सडकछेउमा चटपट बेचेर पाँच छोराछोरीको पालनपोषण गर्दै आएकी उनको अपेक्षा धेरै ठूलो छैन । 'बस ढुक्कले गरिखान पाइयाेस्', उनी भन्छिन् ।
'आफ्नो दु:ख गरेर खाँदा पनि नगरप्रहरीले लखेट्दा कति स्वार्थी दुनियाँ हो भन्ने लाग्छ । बालबच्चालाई पढाउनुपर्याे, खुवाउनुपर्याे । हामीले हाम्रो काम ढुक्कले नगरे भोकै बस्नुबाहेक अरु आधार नै के छ र ? अब नयाँ आउने नेतृत्वले हाम्रोबारे पनि सोचिदिउन् । सधैँ लखेट्ने मात्रै होइन एकचोटि हाम्रो पीडा पनि सुन्ने कोसिस गरून्', उनले भनिन् ।

ज्ञानुको जस्तै पीडा छ ठेलामा मकै पोलेर गुजारा गर्ने सुमित्रा कुशवाहाको पनि । अघिल्लो चुनावको बेला पनि गज्जबको व्यापार गरेकी उनले अहिले पनि त्यो मौका गुमाउन चाहिनन् । अघिपछि भन्दा अहिलेको व्यापार राम्रो रहेको उनले बताइन् । दिउँसो जति नै चर्को घाम भए पनि मकैको व्यापार नघटेको उनी बताउँछिन । मतगणनास्थल वरपर झुम्मिएका जमातले मकैको खपत घट्न दिएका छैनन् । सुमित्रालाई यो मौसमी व्यापारले सन्तुष्टि दिएको छ ।

मतगणनास्थल बाहिर राजनीतिक माहाैलबारे जानकार सुमित्रा पनि नयाँ नेतृत्वले आफूहरूलाई सुनोस्, बुझोस् र ढुक्कले गरिखाने वातावरण बनाओस् भन्ने चाहान्छिन् । कैयौँपटक सडकमा व्यापार गर्दागर्दै नगरप्रहरीबाट लखेटिएकी ५५ वर्षीया सुमित्रालाई सोध्न मन छ- सटरमा व्यापार गर्न सक्ने भए ठेलामा बाटोमा बसेर कस्ले व्यापार गर्थ्याे र ? बुढी भएँ, अब दगुर्न पनि सक्दिनँ । मकै पोलेर एउटा ज्यान पाल्ने हो । ढुक्कले गर्न दिए कति राम्रो हुन्थ्यो । अब राम्रो मान्छे आउँछ भन्छन्, केही होला कि !'
प्रकाशित मिति: सोमबार, जेठ ९, २०७९ १२:५२