देशमा हाम्रो विकल्प कोही छैन भन्ने ठान्दै मनपरी गरिरहेका प्रमुख दलका उम्मेदवारलाई पराजित गर्ने तागत देखाएर काठमाडौंमा युवा बालेन शाहले उधुम मच्चाएका छन् । यो लेख लेख्दै गर्दा बालेन झण्डै १७ हजार मतान्तरले अगाडि पुगिसकेका छन् । पुँजीबजारका लगानीकर्ताको ठूलो पङ्क्ति, युवाहरूको टिम र ‘रुटिन अफ नेपाल बन्द’ जस्ता फेसबुक पेजले लगातार उनको पक्षमा माहौल बनाउँदै गर्दा पनि उनले मानिसको यति ठूलो मत र मन जित्न सक्छन् भन्ने हेक्का हामीमध्ये धेरैलाई थिएन ।
अर्का युवा स्वतन्त्र उम्मेदवार २९ वर्षीय हर्क साम्पाङले धरानमा त्यस्तै रौनक ल्याइरहेका छन् । गोप्य निर्वाचन भनेकै सर्वसाधारण नागरिकको असाधारण शक्ति प्रदर्शन हो । निर्वाचनको खास विशेषता भनेकै असफलहरूलाई पुनः निर्वाचित हुनबाट रोक्ने र भेटिएसम्म त्यसको विकल्प खोज्ने अस्त्र हो ।
कोरोना भाइरसले देशलाई अस्तव्यस्त बनाइरहेको बेला सरकारको बागडोर सम्हाल्ने जिम्मा पाएको तत्कालीन नेकपाको पार्टी र त्यसका नेता अपसी आरोप प्रत्यारोप, गाली–गलौज र कहिले फकाउने त कहिले फुटाउने प्रहसन देखाउनमा व्यस्त थिए । उनीहरूका मिटिङहरूमा पार्टीभित्रको समस्याभन्दा माथि नागरिकको समस्यामाथि छलफल चलेको सुनिन्थ्यो । लाग्थ्यो, यस्ता गैरजिम्मेवार नेता संसारको कुनै देशका नागरिकले भोग्न नपरोस् ।
आज देशको अर्थतन्त्र भयावह अवस्थामा छ । महँगीले आकाश छोएको छ । तर, सरकार चलाइरहेका गठबन्धनका नेता गठबन्धन जोगाउने भागवण्डा गर्न दैनिक १८ घण्टा मिटिङ गर्न सक्छन् । तर, जनसरोकारका मुद्दामा छलफल गर्न उनीहरूलाई १८ मिनेट समय छैन । गठबन्धनका बैठकमा देशको अर्थतन्त्र ठीकठाक कसरी बनाउने भन्नेबारे छलफल भएको सुनिएन । खोक्रिएको शिक्षाक्षेत्र कसरी सुधार्ने भन्ने छलफल भएको थाहा पाइएन । शहरमा बढ्दो अव्यवस्था र प्रदूषणको नियन्त्रण कसरी गर्ने भन्ने विषयमा बहस भएको सुनिएन । २० हजार रुपैयाँका लागि खाडी जान ठिक्क परेका तन्नेरीलाई देशमै रोजगारीको सुनिश्चितता कसरी गर्ने भन्ने मुद्दामा बहस भएको पनि थाहा पाइएन । मानौँ, यी कुरा पार्टीहरूको सरकोरका विषय नै होइनन्, जे छ ठीकठाक चल्दैछ, जे हुँदैछ ठीकठाक हुँदैछ ।
पार्टीहरूले नागरिकका मुद्दामा काम गर्न नखोजेपछि युवाहरूले आफ्नो भविष्यबारे सोच्नु अन्यथा भएन । आफ्नो भविष्यको परिकल्पनाको उपज हो बालेनहरूले पाएको मत ।
ओली सरकारका पालामा अनेक काण्डहरू सार्वजनिक भए । वाइडबडी काण्ड, यती काण्ड, ओम्नी काण्ड, स्वास्थ्य सामग्री खरिद प्रकरण, सेक्युरिटी प्रेस खरिद प्रकरण आदि । प्रतिपक्षमा रहँदा काण्डका विरुद्ध खुब कुर्लने सत्तागठबन्धनका हालका नेता यति बेला चुपचाप छन् । गठबन्धनको सरकार बनेको दशौँ महिना पुग्दा पनि यस्ता भ्रष्टाचार काण्डका फाइल खुल्दैनन् ।
बालेनले राजनीतिको चरम निराशाका बीच गतिलो प्रदर्शन देखाउन सके भने उनीबारे केही लेखहरू होइन, अनेकौँ किताबहरू लेखिने कुरामा सन्देह छैन ।
अख्तियार दुरपयोग अनुसन्धान आयोग, सर्वोच्च अदालत, मानवअधिकार आयोग, विश्वविद्यालयजस्ता सबै संस्थाहरूको श्रेष्ठता दलीयकरणले गुमाएको छ । कहिले संसद् विघटनको मुद्दाले, कहिले पार्टी फुटको मुद्दाले त कहिले गभर्नरको गैरकानुनी बर्खास्तीजस्ता क्रियाकलापले अदालतको अमूल्य समय ध्वस्त भएको छ ।
भाषणपिच्छे संघीयताको अपनत्व लिन खोज्नेहरूले बालुवाटार, बालकोट र खुमलटारबाट उम्मेदवारको टिकट काटेर केन्द्रीयताको अभ्यासमा रमाए । स्थानीय समितिहरूका सिफारिस रद्दीको टोकरीमा मिल्काइए । आफ्नो छोरीले नजिते देश नै दुर्घटनामा पर्ने भ्रमसम्म छर्दै उग्र भाषण गर्न पछि परेनन् ।
स्वतन्त्र उम्मेदवारहरूले प्राप्त गरेको मत राजनीतिक पार्टीप्रतिको आक्रोश मात्रै नभएर उम्मेदवारले उठाएका सटिक एजेण्डाको आकर्षण पनि हो भन्ने बुझ्न बालेन शाहका अन्तर्वार्ताहरूमा प्रत्येक प्रश्नमा उनका सटिक उत्तर सुने थाहा भैहाल्छ ।
निर्वाचन आयोगका अनुसार पछिल्लो पाँच वर्षमा झण्डै ३७ लाख युवा मतदाता थपिएका छन् । यो सूचना प्रविधिको प्रयोग गरेर हुर्कंदै गरेको र तीव्र परिवर्तनको अपेक्षा गरेको पुस्ता हो । स्वतन्त्र मात्रै नभएर युवाको ठूलो पङ्क्ति जबर्जस्त रूपमा विभिन्न पार्टी पङ्क्तिमा प्रवेश गरिसकेको छ, गर्ने क्रममा छ ।
त्यसै कारण पनि यो निर्वाचनमा राजनीतिक पार्टीहरूले पहिलेभन्दा केही बढी प्रतिशत युवा उम्मेदवार उठाउन बाध्य भए । एक अनुसन्धान संस्था ‘ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लिनरी स्टडिज‘का अनुसार गत निर्वाचनमा भन्दा यसपालि २१ देखि ४० वर्ष उमेरका युवाको उम्मेदवारी प्रमुखमा ३५.३ प्रतिशत र वडा अध्यक्षमा ३६.२ प्रतिशत थियो । २१०७ जनाले स्वतन्त्र उम्मेदवारी दिएको तथ्यांक विचारणीय छ । दलभित्रबाट उदाएर विजयी बनेका तन्नेरीहरूले कार्यकारी भूमिकामा कत्तिको खरो रूपमा उत्रेलान्, यो भने प्रतीक्षाकै विषय भयो ।
मतगणना जारी हुँदैगर्दा डडेल्धुराको परशुराम नगरपालिकामा मेयरमा निर्वाचित २८ वर्षीय भरत बडायर जोशी हुन् वा बाग्लुङ जैमिनी नगरपालिकाको वडाअध्यक्षमा निर्वाचित ३० वर्षीय केन्द्र रसाइली वा पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्षमा निर्वाचित २१ वर्षीय वशिष्टकुमार गुप्ता नै किन नहुन्, दर्जनौँ स्थानमा लामो समयसम्म पाका उमेरकाहरूको हातबाट नेतृत्व खोसिएको छ । लाग्छ, जमेको पोखरीको बरफ पग्लिँदैछ । यी तन्नेरीले दलको दल–दलको सञ्जाल तोडेर जनपक्षीय काम कत्तिको गर्लान्, त्यो हेर्नु नै छ ।
२०६२/६३ को जनआन्दोलनबाट अलिअलि राजनीतिमा चासो राख्न थालेको तन्नेरीले यो बीचको झण्डै १८ वर्षमा उनै पाँच/छ जना नेता आपसमा कुस्ती खेलेको देख्छ । उतिबेला ती नेताले जे भाषण गर्थे, आज पनि त्यही भाषण गर्छन् । एउटा देश बनाउनका लागि १८ वर्ष काफी समय हो । तर, यो समय पनि बर्बाद भयो । कहिलेसम्म बर्बाद बनाइने हो, टुंगो छैन ।
ढिलै भए पनि यो प्रवृत्तिलाई भत्काउन बालेन शाहहरूलाई मतदाताले जन्माएका छन् । यो राजनीतिक कुसंस्कारविरुद्धको आवाज हो । राजनीतिक नेताप्रतिको असन्तुष्टि हो । पार्टीहरूका लागि पनि सावधानी हो, कि तिमीहरू सच्चिनुपर्छ या मक्किनुपर्छ । अबको संघीय निर्वाचनमै काठमाडौंको झिल्को अरु ठाउँमा फैलिने सम्भावना छ । अबको पाँच वर्ष दलहरूका लागि सुध्रने एक मौका हो । अन्यथा देशका अरु ठाउँमा पनि सयौँ बालेनहरू जन्मिन सक्छन् ।
आगामी दिनहरूमा बालेनको प्रस्तुति कस्तो रहन्छ, यसले धेरै कुराको निधो गरिदिनसक्छ । उनको चुनौती युवाहरूले गर्न सक्छन् भन्ने देखाउनुमा जो छ ।
एक जना चिन्तक भन्थे, ‘एउटा यस्तो किताब लेख, जसलाई लाखौँ पाठकले पढ्नेछन् या त यस्तो कर्म गर जसबारे लाखौँ किताब लेखिनेछन् ।’ यदि बालेनले राजनीतिको चरम निराशाका बीच चुनाव जिते र गतिलो प्रदर्शनी देखाउन सके भने उनीबारे केही लेखहरू होइन, अनेकौँ किताबहरू लेखिने कुरामा सन्देह छैन ।
बालेनजस्ता स्वतन्त्र व्यक्तिहरूको विजयले लोकतन्त्र कमजोर हैन, बलियो बनाउँछ । हरेक निर्वाचनमा उही पार्टी, उही नेतालाई आँखा चिम्लेर स्वस्तिक छाप लगाइदिने संस्कृतिले लोकतन्त्रको फल चाख्न पाइँदैन ।
काठमाडौंका मतदाताको दलहरूलाई एक सन्देश हो– हामी सधैँभरि तिम्रा आज्ञाकारी मेसिन बन्न सक्दैनौँ, हामीले खोजेको परिवर्तन हो ।
बालेनजस्ता स्वतन्त्र व्यक्तिहरूको विजयले लोकतन्त्र कमजोर हैन, बलियो बनाउँछ । हरेक निर्वाचनमा उही पार्टी, उही नेतालाई आँखा चिम्लेर स्वस्तिक छाप लगाइदिने संस्कृतिले लोकतन्त्रको फल चाख्न पाइँदैन । मतदाताले प्रश्न गर्नुपर्छ । मत बदल्नुपर्छ । मतदाताले सधैँभरि एउटै पार्टीलाई मत दिँदा पार्टीहरू भड्किए । मतदातालाई चुनावबाहेक अरु समयमा वास्ता नगर्ने भए । मतदाताले विवेकको मत दिने बानी बसाल्दै गर्दा निर्वाचित प्रतिनिधि र दल मतदाताप्रति डराएर काम गर्ने अवस्था बन्छ । यहाँबाट दायाँबायाँ हुँदा अर्कोपटक जनता जनार्दन त्यसविरुद्धमा जान सक्छन् भन्ने हेक्का राखेर काम गर्छन् ।
बलेन साह युवा चेतनाको गर्भबाट उदाएका हुन् । पक्कै पनि यसभन्दा अघि बालेन टिमले राम्रो मिहिनेत र तयारी नगरी यो मिसन सम्भव भएन । यसको खुलासा एक लामो रिपोर्टमार्फत शिलापत्रका सम्पादक बसन्त बस्नेतले गरिसकेका छन् ।
‘पोलिटिक्स इज डर्टी गेम’ भन्ने बुझेको पुस्ताको आइडियाले बालेनको एजेण्डालाई भित्रभित्रै घरघरमा पुर्याइसकेको थियो । उक्त कोर टिमका एक सदस्यले यस पङ्क्तिकारसँगको कुराकानीमा खुलाए, ‘प्रमुख भनिएका पार्टीहरूले काठमाडौंका परिपक्व उमेरका बा–आमाहरूसँग मत मागिरहेको बेला हामी उनीहरूका छोराछोरीको एजेण्डा समातेर तन्नेरी छोराछोरीसँग मत माग्दै थियौँ ।’ परिवर्तनको यो मत कुनै नाटकीय रूपमा आएको होइन, सुझबुझका साथ आएको मान्न गाह्रो मान्नुपर्दैन ।
हो, हाम्रो लोकतन्त्र भर्खर शैशवकाल अवस्थामै छ, यसलाई हुर्काउन बाँकी छ । गणतन्त्रको खास फल चाख्नै बाँकी छ । राजेन्द्र लिङ्देनहरूले पनि बुझून्, आजको युवा त्यति चेतनाविहीन छैन, जसले दाहसंस्कार गरिसकेको राजतन्त्रको अस्तु घाटमा पुगेर पुनः काँधमा बोकेर ल्याओस् ।
नेताहरूको गैरजिम्मेवारीपनाको आवेगमा २४० वर्षसम्म यही देशमा रजगज गरेर बसेको तर पृथ्वीनारायण शाहको भौगोलिक एकीकरणबाहेक नागरिकको जीवनस्तर उठाउन माखो नमारेको त्यो राजतन्त्रलाई यति छिटो बिर्सन सकिन्न । केही मानिसहरूले भन्ने गरेजस्तो हरेक दलमा जन्मेका नयाँ राजाहरूको विकल्प उहिलेका महाराजाधिराज हुन सक्दैनन् । सचेत पुस्ता लोकतन्त्रलाई परिपक्व बनाउन चाहन्छ । गणतन्त्रको जगमा समृद्धिको इँटा भर्न चाहन्छ । तर, फेरि राजतन्त्र र उसका वंशजहरूको रैती बन्न पाऊँ भन्ने बिन्तीभाउ चढाउँदैन ।
प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९ १६:४०