नेपालगञ्ज उपमहानगरपालिका- २० स्थित आदर्श मावि राँझा मतदान केन्द्रमा अपाङ्गता भएका व्यक्तिहरूले घिस्रिएर मतदान गरेको समाचार शुक्रबार दिउँसो शिलापत्रमा प्रकाशित भयो । मतदान केन्द्रमा ह्वीलचेयर प्रयोग गर्न नदिइएपछि उनीहरू निकै कष्टसाथ भोट हालेर फर्किए ।
घिस्रिएर भोट हाल्नुपरेको फोटो भिडियो सार्वजनिक भएपछि मानवअधिकार आयोगको समेत ध्यानाकर्षण भयो । निर्वाचन आयोगलाई पटकपटक सचेत गराउँदा पनि अपाङ्गमैत्री संरचना बनाउन नसकेकोमा आपत्ति रहेको मानवअधिकार आयोगका कार्यवाहक सचिव मुरारिप्रसाद खरेलले बताए ।
यो घटनाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार हनन् भएको खरेलले बताए । 'आयोगले यसअघि पनि अपाङ्गमैत्री मतदानस्थल बनाउन निर्वाचन आयोगलाई सुझाव दिँदै आएको थियो । तर, त्यो पाइएन । हामीले ध्यानाकर्षण गराउनेछौँ,' आयोगका कार्यवाहक सचिव खरेलले बताए ।
के भएको थियो नेपालगञ्जमा ?
नेपालगञ्ज उपमहानगरपालिका- २० स्थित आदर्श मावि राँझा मतदान केन्द्रमा अपाङ्गता भएका फागुराम चौधरीलाई ह्वीलचेयरमा बसेर प्रहरीले बुथ प्रवेश गर्न दिएन । उनी घिस्रिएरै लाइनमा पुगे । ‘मतदान गर्ने ठाउँ पुग्दा हात पूरै हिलो थियो । भोट हाल्ने टेबुल पनि अग्लो थियो । आफैँले भोट हाल्न नमिलेपछि सहयोगीले भोट हालिदिए,' चौधरीको दुखेसो थियो ।
त्यसैगरी, लालबहादुर परियारले पनि उस्तै दर्दनाक पीडा भोट दिने क्रममा भोग्नुपर्यो । ‘कुरै नबुझ्ने पुलिस र मतदान अधिकृत खटाएको रै'छ । हाम्रो कुनै सुनुवाइ नै भएन । यसपटक बडो दुःखसित भोट हालियो,’ परियारले भने ।
अपाङ्ग संघ भन्छ- देशभर छैन अपाङ्गमैत्री मतदानस्थल
राष्ट्रिय अपाङ्ग महासंघले भने एक ठाउँमा मात्र नभई देशभर नै निर्वाचन आयोगले अपाङ्गमैत्री मतदानस्थल नबनाएको गुनासो गरेको छ ।
संघका अध्यक्ष मित्रलाल शर्माले पटकपटक आयोगमलाई ध्यानाकर्षणपत्र बुझाए पनि यसबारे सुनुवाइ नभएको बताए । 'अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक वा गर्भवती महिलाहरूका लागि छुट्टै लाइनको व्यवस्था पनि गरेको देखिएन । उनीहरूलाई मतदान केन्द्रसम्म ल्याउने व्यवस्था पनि गरेको देखिएन । यो दायित्व राज्यको हो, निर्वाचन आयोगको तयारी देखिनुपर्थ्यो ।
अपाङ्गता भएका व्यक्तिहरूको सवालमा भने केही तयारी देखिएन,' अध्यक्ष शर्माले भने । मतदान केन्द्रहरू अपाङ्गता भएका व्यक्तिलाई मात्र सोचेर बनाइएको उनको गुनासो छ । 'न बहिराका लागि सांकेतिक भाषा राखिएको छ, न अशक्तका लागि कुनै व्यवस्था । मैले भोट हालेको निर्वाचन क्षेत्रमा पनि त्यही समस्या छ । कुनै पनि ठाउँमा अपाङ्गमैत्री संरचना नभएकोमा दु:ख लागेको छ, ' शर्माले भने ।
अघिल्लो निर्वाचनभन्दा यसपालि अपाङ्गता भएका व्यक्तिले बढी दुर्व्यवहार खेप्नुपरेको संघका पूर्वअध्यक्ष सुदर्शन सुवेदी बताउँछन् । 'यसपालि अपाङ्गता भएका व्यक्तिहरूले दुर्व्यवहार खेप्नुपरेका घटना धेरै आएका छन् । निर्वाचन आयोगले अझ कठिन बनाएको छ,' सुवेदीले भने ।
निर्वाचन आयोगको तयारी किन फितलो ?
निर्वाचन आयोगको तयारीमाथि प्रश्न उठिरहँदा आयोग भने मतदान केन्द्रहरू अपाङ्गमैत्री भएको दाबी गर्छ ।
मतदान केन्द्रहरू बनाउँदा नै अपाङ्गमैत्री बनाउन निर्देशन दिएको आयोगको दाबी छ । 'निर्वाचन आयोगले तयारी गरेको थिएन' भन्ने प्रश्नमा आयुक्त ईश्वरी पौडेल भन्छन्, 'हामीले के महसुस गरेका छौँ भने ०७४ को निर्वाचनमा भन्दा यसपटक बढी अपाङ्गमैत्री भएको छ । मतदान केन्द्रहरू बनाउँदाखेरि पनि अपाङ्गहरूलाई सजिलो हुने किसिमको बनाउने भनेर हामीले निर्देशन पठाएको हुनाले त यसमा सुधार भएको छ ।'
आयुक्त पौडेल भने आजको घटनालाई बेवास्तापूर्वक जवाफ दिन्छन्, 'कुनैकुनै मतदान केन्द्रहरूमा त्यस्तो अवस्था भएको होला तर धेरै मतदानस्थलमा पहिलेभन्दा धेरै राम्रो भएको पाउनुहुन्छ ।'
कस्तो थियो त अघिल्लो निर्वाचनमा ?
पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने अघिल्लो निर्वाचनमा निर्वाचन आयोगले अनुमानित ३ सयभन्दा बढी मतदान केन्द्र अपाङ्गमैत्री बनाएको दाबी गर्छन् ।
'खासखास मतदान केन्द्र अपाङ्गमैत्री थिए । हामीले ह्वीलचेयरमा जानेहरूलाई सहज वातावरण बनाएका थियौँ । विद्यालय वा मतदानस्थलम संरचना बनाउँदा नै अपाङ्गमैत्री बनाउन आदेश दिएका थियौँ,' यादव भन्छन्, 'तर यसपालिको तयारी कस्तो थियो भन्नेचाहिँ थाहा भएन ।'
यद्यपि सबै स्थानहरूमा अपाङगमैत्री बनाउन नसकिने पूर्वप्रमुख आयुक्त यादव भन्छन् । 'अघिल्लो पालि हामीले प्रयत्न गर्दागर्दै पनि अपाङ्गमैत्री नभएको कुरा पर्यवेक्षकहरूको प्रतिवेदनमा आएको थियो । त्यतिबेला शतप्रतिशत हुन सकेको थिएन । यो सम्भव पनि छैन,' उनी भन्छन् । यादवका अनुसार सबै मतदान केन्द्र अपाङ्गमैत्री नहुनुको कारण भौगोलिक कठिनाइ हो ।
यो समस्या समाधानका लागि एड्भान्स भोटिङ सिस्टमको व्यवस्था हुनुपर्ने उनी बताउँछन् ।
'मतदान गर्दागर्दै वृद्धहरूको मृत्यु भएको सुन्नुपरेको छ । १० घण्टा हिँडेर आएर मतदान हाल्नुपर्ने अवस्थामा अपाङ्गता भएका व्यक्तिले भोट हाल्ने सम्भावा नै हुँदैन,' उनी भन्छन्, 'त्यसका लागि इन्टरनेटबाटै भोटिङ गर्ने सिस्टम हुनुपर्छ र अशक्त व्यक्तिहरू जो जहाँ छन्, त्यहीँबाटै भोट हाल्ने व्यवस्था मिलाउनुपर्छ ।'
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९ २०:३१