माेहत्तरी रामनगरका रामबहादुर मन्सुर कतार रोजगारीमा जान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रतिक्षालयमा बसेको थिए । उनी ११ वर्षदेखि कतारको ‘होरम एग्रिकल्चर’ कम्पनीमा कार्यरत छन् । इद विदामा घर आएका मन्सुर स्थानीय चुनावकाे भाेट हाल्ने दिनै कतार फर्किँदै छन् ।

मन्सुरलाई चुनावमा भोट हाल्न पर्खिएर बस्दा हुँदा–खाँदाको रोजगारी गुम्ने चिन्ता छ । भोट हाले पनि देशको मुहार नफेरिने उनले बताए । ‘भोट चाँहि जसलाई दिए पनि हुन्छ । गाँउमा विकास हुनुपर्यो । हामीलाई रोजगारी र विकास हो । यही काम गर्नेलाई भोट दिन परिवारलाई भनेको छु । देशमा विकास भएको हेर्ने रहर छ । तर, हुँदैन्’, उनले भने, ‘नेपाल कहिले बन्दैन होला । मैले कतारमा रोजगारी गरेको ११ वर्ष भयो । मैले हेर्दा–हेर्दै मरुभूमिमा हरियो साग उत्पादन गर्न थाले । न राजनीति छ न चुनाव नै हुन्छ । विकासका लागि निर्वाचन होइन काम गर्नुपर्छ ।’
देशमा निर्वाचन हुँदैछ मतधिकारबाट बञ्चित भएर झोला बोकेर विदेशीनु पर्दा नराम्रो लागेको उनको भनाइ छ ।
यस्तै, धनगढीकी सवित्रा गौतम पनि अध्ययनका लागि चार वर्षदेखि जापानमा बस्दै आएकी छिन् । उनी गत महिना दाइको विवाहका लागि नेपाल आएकी थिइन् । गौतम पनि निर्वाचनकै दिन जापान जान बोर्डिङ पासको लाइनमा उभिएकी थिइन् । अर्कोको देशमा निर्भर हुने नागरिकहरूलाई भोटसँग मतलब नहुने गौतमको तर्क छ ।
पार्टीलाई भोट दिएर नेपाली जनताले के पाए र भोट दिएपनि देशको अवस्था उस्तै हुने उनले बताइन् । ‘जापानमा निर्वाचनपछि विकासको स्वरुप नै फेरिन्छ । त्यहाँ भोट पाएका नेता जनताप्रति जवाफदेहिता हुन्छन् । जनतालाई निर्वाचनको बेला नेता र पार्टीले गरेको प्रतिबन्द्धता समयमै पूरा गर्छन् । तर, नेपालमा त्यस्तो हुँदैन’, उनले भनिन, ‘जापानमा निर्वाचनको समयमा विदेशमा बसोबास गर्ने जापानीजहरू भोट हाल्न फर्किन्छन् । तर, त्यसको ठिक उल्टो नेपालीहरू निर्वाचनकै दिन मतअधिकारबाट बञ्चित भएर विदेशीनु परेको छ । योभन्दा विडम्वाना के होला ।’

निर्वाचनपछि देशको विकास, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता जनताका आधारभूत माग पुरा हुनुपर्ने उनको भनाइ छ ।
मन्सुर र गौतम जस्तै अष्ट्रेलिया फर्किने लाइनमा उभिएका थिए काठमाडौं बसुन्धाराका रिजन थापा । उनी परिवारिक कामका लागि एक महिनाअघि मात्र स्वदेश फर्किएका थिए ।
दु:ख जति विदेशी भूमिमा गएर गर्नुपर्छ निर्वाचनका लागि बसेर केही नपाउने रिजन बताउँछन् । आफू जस्तो विदेशीने नागरिकलाई विदेशमा कसरी सेटल हुने भन्ने मात्र चिन्ता हुनेगरेको उनले बताए । ‘अष्ट्रेलियामा पनि निर्वाचन हुन्छ । तर, नेपालमा जस्तो हल्ला–खल्ला हुँदैन। त्यहाँका नेताहरूले आफ्नो विचार र भावी रणनीति जनतालाई सुनाउँछन् । राजनीतिकर्मीको विचार ठिक लागे भोट दिन्छन् । नत्र वास्ता गदैनन् ।’ उनले भने, ‘जनता समस्यामा परे सरकारको नेतृत्वमा पुगेका पार्टी जिम्मेवार हुन्छन् । जनताले प्रश्न गर्नु अगाडि उनीहरू जिम्मेवार भएर काम गर्छन् । तर, नेपालमा जनताप्रति राजनीतिक दलकाे जवाफदेहिता हुँदैन ।’

नेपालमा राजनीतिदेखि जनता नै वाक्क भएका छन् । त्यही भएर भोटप्रति मतलब नहुने गरेको उनको भनाइ छ ।
निर्वाचनकै दिन करिब ९ सय जना कामदारले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ ।
कोरोनापछि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या मासिक रुपमा बढ्दै गएको छ । निर्वाचनको अवधिमा करिब ३० हजार कामदार विदेशीएको विभागको तथ्यांकमा छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३०, २०७९ ०८:३७