स्थानीय तह चुनावको सरगर्मी बढ्दै जाँदा उम्मेदवारहरू आ–आफ्नो एजेन्डा र प्रतिबद्धताका साथ चुनावी मैदानमा उत्रिएका छन् । एमालेबाट मेयर पदका लागि माडी नगरपालिकाबाट ताराकाजी महतो र रत्ननगरबाट विमला दुवाडीले उम्मेदवारी दिएका छन् ।
अघिल्लो स्थानीय चुनावबाट उपमेयरको रूपमा विजयीद्वयले यसपटक आ–आफ्नो क्षेत्रबाट मेयर पदका लागि उम्मेदवारी दिएका हुन् । अघिल्लो कार्यकालमा उपमेयरको रूपमा जिम्मेवारी निर्वाह गर्दा जनताको समस्या नजिकबाट बुझ्ने र समाधानको प्रयास गरेको बताउने उनीहरूले बाँकी रहेका अधुरा योजना मेयर बनेर पूरा गर्ने संकल्पका साथ मैदानमा उत्रिएको बताएका छन् ।
तम्तयार तारा
२०७४ सालको स्थानीय चुनावमा माडी नगरपालिकाको उपमेयर पदमा विजयी भएकी महतो आफ्नो पाँचवर्षे कार्यकाल सफल भएको मूल्याङ्कन गर्छिन् । एक कार्यकाल उपमेयर भएर काम गर्दा मेयरको कामकारबाही नजिकबाट नियाल्न पाएकी महतोले प्रमुख कार्यकारी भूमिकामा रहेर काम गर्दा आफूले पहिलेभन्दा धेरै काम गर्न सक्ने आत्मविश्वास लिएर मैदानमा होमिएको बताउँछिन् । महिलाले पनि प्रमुख पदमा जित हासिल गरी काम गर्न सक्छन् भनेर आफूले पुष्टि गर्नु पनि मेयर उम्मेदवारीको एक कारण रहेको उनले बताइन् ।
‘मेरो हिजोको अनुभवको प्रतिफल नै अहिलेको मेरो उम्मेदवारी हो । ठाउँ पाए हामीले प्रमुख पदमा रही काम गरेर देखाउन सक्छौँ । म पनि देखाउन चाहन्छु,’ उनले भनिन्, ‘पाँच वर्षमा माडीको समस्या नजिकबाट बुझ्दै जाँदा किन कार्यकारी भूमिकामा बसेर थप काम नगर्ने त भन्ने लाग्यो ।’
माडीको मेयरको उम्मेदवारीमा तीन जनालाई पार्टीले सिफारिस गरे पनि उपमेयरको पदमा आसीन हुँदा आफूले पाएको जिम्मेवारी राम्रोसँग पूरा गरेको विश्वासले नै पार्टीले छनोट गरेको उनको ठहर छ । उपमेयर हुँदा माडीको १ देखि ९ नम्बर वडासम्मका सबै समस्या तथा आवश्यकता नजिकबाट नियालेको र पाँच वर्षमा आफूले गर्न नसकेका अधुरा कामहरू मेयरमा चुनिएर सम्पन्न गर्न आतुर रहेको उनले बताइन् ।
‘न्यायिक समितिमा रहेर काम गर्दा समुदायस्तरमा भएका सूक्ष्म समस्याहरू पहिचान गरी समाधानसम्म पुग्दा जनतासँग नजिकिन पाएँ । माडीमा अझै पनि खानेपानीको समस्या पूर्णतः समाधान भएको छैन । बाटोघाटो तथा अन्य भौतिक संरचनाका कामहरू सुरुवात मात्रै भएका छन् । ती अधुरा काम पूरा गर्नु छ । थप योजनाहरू बनाएर विकासका कामहरू गर्नु छ,’ उनले आफ्नो आगामी कार्ययोजनाबारे प्रस्ट पारिन् । उनले यसैमा थप्दै भनिन्, ‘माडीमा शिक्षा तथा स्वास्थ्यलगायत धेरै अधुरा काम गर्नु छ । त्यसैका लागि मेरो उम्मेदवारी हो ।’
महतोले आफू महिला भएर समुदायका लागि काम गर्दैगर्दा धेरै महिलाहरू आर्थिक गतिविधिमा संलग्नता तथा सार्वजनिक पदहरूमा उपस्थिति कम देखेको पाएको बताइन् । उनी महिला नेतृत्व सीप र क्षमता विकास र ती सीपलाई उत्पादनमुखी कार्यसँग जोड्ने नै आफ्नो कार्यकालको प्राथमिकता रहेको बताउँछिन् । १४ भदौ २०३२ मा माडीको साविक बघौडा गाविस– ७ मा जन्मेकी महतोको राजनीतिक करिअर बिहेपछि मात्रै सुरु भयो ।
गैसस चितवनबाट सञ्चालित डकाउ कार्यक्रमको भिलेज फ्यासिलेटरको रूपमा ५ वर्ष र कामकै दौरानमा नाम निकालेर तत्कालीन माडीको वडा नं ३, ४ र ५ नं वडामा सचिव भई १२ वर्षसम्म स्थानीय तहमा जनतासँग रहेर आदिवासी महिला र आममाडीवासीको समस्या र पीडालाई बुझेकी उनले यसै सिलसिलामा स्थानीय निर्वाचन २०७४ मा माडी नगरपालिकाबाट उपप्रमुखमा उम्मेदवार बन्न नेकपा एमालेबाट प्रस्ताव आयो । राम्रो मतका साथ उपमेयरमा विजयी भइन् । उपमेयरको जिम्मेवारीमा रहेर उनले सबैको साझा भएर जनताको दुःखमा मल्हम लगाउने काम गरिन् ।
उनी भन्छिन्, ‘मैले कसैलाई पनि मेरो कार्यकक्षबाहिर कुराएर राख्ने गरेको छैन । नीति र विधिबाट हुने काम तत्काल गरेर पठाएँ । मलाई लाग्छ, मेरो कारणले कसैले पनि दुःख पाउनुभएको छैन् ।’ अहिले मेयरका रूपमा मैदानमा रहेकी उनीसँग गठबन्धनका तर्फबाट माओवादीका ऋषिराम काफ्ले प्रतिस्पर्धाको मैदानमा छन् । २०७४ सालको स्थानीय चुनावमा माडी नगरपालिकामा मेयरमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार ठाकुरप्रसाद ढकालले नेपाली कांग्रेसका उम्मेदवार खेमप्रसाद महतोलाई ४४ मतको झिनो अन्तरले हराएका थिए ।
दलीय रूपमा सबैभन्दा बढी वडा जितेको नेकपा (एमाले)ले प्रमुखमा भने हार ब्यहोरेको थियो । यद्यपि उपप्रमुख पदमा भने एमालेकी उम्मेदवार ताराकुमारी काजी महत्तोले सबैभन्दा बढी मत ४ हजार ६९० मत ल्याएर विजयी भएकी थिइन् । अहिले गठबन्धनसमेत हावी भएकाले महतोलाई जित हासिल गर्न उत्तिकै चुनौती भने छ । ‘हामीले राप्रपासँग मिलेर गए पनि पाँचदलीय गठबन्धन चुनौतीकै रूपमा छ । तर पनि म मानसिक रूपले तयार छु । मलाई विश्वास छ, नगरवासीले मलाई जिताउनुहुनेछ,’ उनले दृढ हुँदै सुनाइन् ।
दृढ दुवाडी
रत्ननगरको मेयर उम्मेदवार विमला दुवाडीले पनि अघिल्लो कार्यकाल सफल भएरै मेयरको टिकट पार्टीले दिएको दाबी गरिन् । पाँच वर्षसम्म उपमेयर भएर काम गरिरहँदा आफूले जनताका हरेक समस्याहरूलाई नजिकबाट नियाल्न सकेकाले अहिले आफ्नो उम्मेदवारी मेयरमा रहेको उनी बताउँछिन् । आफू उपप्रमुख भएर काम गर्दा महसुस गरेका कार्यगत सीमाभन्दा माथि उठेर काम गर्ने उद्देश्यले पनि मेयर पदमा आफ्नो उम्मेदवारी रहेको उनले बताइन् ।
‘पाँच वर्षसम्म उपमेयरको रूपमा मैले जे–जति गरेँ, त्यो जनताले आभास गर्न पाएका छन् । पार्टीले पनि त्यसको सही मूल्यांकन गर्दै मलाई मेयर पदका लागि योग्य उम्मेदवार ठहर गरेको हो । अधुरा योजनालाई पूरा गर्न मेयर बन्नुपर्छ भनेर म मैदानमा निस्केकी हुँ,’ उनले थपिन्, ‘मैले मेरो नगरका सबै समस्या देखेकी छु, महसुस गरेकी छु र समाधानका लागि ज्ञान हासिल पनि गरेकी छु ।’
विमला २०५४ सालको स्थानीय निकायको निर्वाचनमा नगर परिषद्को सदस्यमा निर्वाचित भएकी थिइन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपमेयरमा विजय भएकी थिइन् । उप–प्रमुखमा दुवाडी १४ हजार ४८१ मत ल्याएर विजयी भएकी थिइन् । दोस्रोमा कांग्रेसकी उम्मेदवार निता ढकालले १२ हजार ७०३ ल्याएकी थिइन् । २०६० सालदेखि मेलमिलापकर्ताको रूपमा काम गरेर न्याय सम्पादनमा अब्बल दुवाडी अहिले पनि जिल्ला अदालतको मेलमिलापकर्ताको सूचीमा छिन् ।
२०४३ सालदेखि कम्युनिस्ट पार्टीमा आबद्ध दुवाडी अहिले जिल्ला कमिटी सदस्य हुन् । अखिल नेपाल महिला संघ चितवनको सचिव दुवाडी अहिले जिल्ला अध्यक्ष हुन् । भरतपुर र माडीमा राप्रपासँग तालमेल गरे पनि रत्ननगरमा एमाले एक्लै लड्दैछ । चितवनका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिकापछि रत्ननगर नगरपालिकामा मतदाताको संख्या बढी छ । यहाँ अघिल्लो स्थानीय चुनावमा निकै पेचिलो प्रतिस्पर्धा भएको थियो । अहिले पनि रोचक हुने देखिएको छ । नेकपा (एमाले)का नारायण वनले नेपाली कांग्रेसका रूपनराज घिमिरेलाई १ हजार ४५१ मत अन्तरले हराएका थिए । अघिल्लो स्थानीय चुनावमा झैँ यसपटक पनि एमाले र कांग्रेस बीचमै प्रतिस्पर्धा हुने भएको छ । विमलाको प्रत्यासीको रूपमा गठबन्धनबाट कांग्रेसका प्रह्लाद सापकोटा मैदानमा छन् । तर, गठबन्धनका अगाडि सिंगल मैदानमा उत्रिएकी दुवाडी आफ्नो जित सुनिश्चत रहेको दाबी गर्छिन् ।
‘पार्टी गठबन्धनमा गए पनि जनता मेरो साथमा छन् । मैले गरेको कामले प्रत्येकको मनमनमा बसेकी छुजस्तो लाग्छ । मैले कहिल्यै पार्टी हेरेर काम गरिनँ । मलाई नगरवासीले भोट दिनुहुन्छ भन्ने विश्वास छ,’ उनले भनिन् । रत्ननगर अझै पनि अस्तव्यस्त भएकाले आफूले जितेको खण्डमा ‘रत्न’ बनाउने उनको प्रतिबद्धता छ ।
प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९ १४:२०