विश्वभरका मजदुहरूले हरेक वर्ष आजकै दिन अर्थात मे १ मा अन्तर्राष्ट्रिय मजदुर दिवस (मे दिवस) मनाउँछन् । मजदुर एकता, वीरता र संघर्षबाट आफ्नो हक स्थापित भएको दिनका रूपमा मे दिवस विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकले मनाउने गर्दछन् ।
नेपालमा पनि १ सय ३३ औँ मजदुर दिवस ‘दिगो विकासमा मजदुरको आवश्यकता र रोजगारी सिर्जनामा अग्रसरता’ भन्ने नारासहित मनाइँदैछ । नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि यो दिवस मनाउन थालिएको हो । सरकार, गैरसरकारी संघ संस्था, ट्रेड युनियन, निजी क्षेत्रसमेतको संयुक्त समन्वयमा मजदुर दिवस मनाइन्छ ।
कोरोना भाइरसका कारण अघिल्ला २ वर्ष यो दिवसमा श्रमिक र सम्बन्धित निकायले भव्य कार्यक्रमकाे आइाेजना गरेनन् । यो वर्ष भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र विभिन्न संघसस्थाले कार्यक्रम गरेर दिवस मनाइरहेका छन् ।
मे दिवस’को सुरुवात
अमेरिकाको सिकागो शहरका मजदुरहरूले १ मे १८८६ मा ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग राख्दै आन्दोलन गरेका थिए । करिब ४ वर्षको आन्दोलनपश्चात् अमेरिकी सरकार मजदुरहरूका माग पूरा गर्न बाध्य भयो । यही आन्दोलनलाई मजदुरले सफलताको रूपमा लिएर विश्वभर मनाउन थालिएकाे हाे ।
सन् १८९० मा एंगेल्सको अगुवाइमा भएको दोस्रो कम्युनिस्ट इन्टरनेसनलको सम्मेलनमा छलफल भई निर्णय भएको आधारमा १ मे १८९० देखि विश्वभर मे दिवस मनाउन सुरु भयो । नेपालमा पनि सरकारले २०४७ सालयता मे दिवसका दिन सार्वजनिक बिदा दिन थालेको हो ।
मजदुरमाथि ज्यालाको राजनीति
नेपालमा विभिन्न राजनीतिक दलहरूले मजदुरहरूलाई आन्दोलनमा प्रयोग गर्दै आएका छन् । सत्ता परिवर्तनका लागि भएका ठूला आन्दोलनमा मजदुरको भूमिका महत्वपूर्ण भए पनि उनीहरूले जीविकाेपार्जन गर्ने पाश्रिमिक नपाउने गरेको विभिन्न ट्रेड युनियनहरूले आरोप लगाउँदै आएका छन् ।
मजदुरहरूकाे ज्याला र पारिश्रमिकमै अझै पनि विभेद रहेकाे र यसमा राजनीतिक दलहरूले चासाे नदिएकाे नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठको आरोप छ । संविधानमा मजदुरलाई आधारभूत अधिकारका रूपमा रहेको ट्रेड युनियन अधिकार, सामाजिक सुरक्षाको अधिकार, बेरोजगारीलाई अन्त्य गरी रोजगारीको प्रत्याभूति, शिक्षा, स्वास्थ्य, खाद्यान्न, खानेपानी मौलिक हकका रूपमा सुनिश्चित गरे पनि कार्यान्वयन नभएको उनले बताए ।
श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० बाट बढाएर गत वर्ष सरकारले १५ हजार पुर्याएको थियो । हाल ज्यालादारी श्रमिकको दैनिक न्यूनतम पारिश्रमिक ५ सय ७७ रुपैियाँ छ । अहिलेको न्यूनतम पारिश्रमिकले ज्यालादार श्रमिकलाई परिवार पाल्न समे धौ–धौ हुने गरेको ट्रेड युनियनहरूले बताउँदै आएका छन् ।
नेपालमा हाल ७० लाख नागरिक रोजगारीमा सहभागी रहेको केन्द्रीय तंथ्याक विभागले जनाएको छ । जसमा ३० लाख नागरिक दैनिक ज्यालादारीका लागि काम गर्ने गरेको विभागको तंथ्याक छ । यस्तै, दैनिक ज्यालादारीमा कार्यरत श्रमिक याेगदानमा आधारित सामाजिक सुरक्षामा सूचीकृत हुनबाट पनि बञ्चित छन् । श्रम ऐन र श्रम नियमावालीअनुसार नेपालमा कार्यरत अधिकांश ज्यालादारी मजदुरहरूले सुविधा पाउन सकेका छैनन् ।
सरकारले श्रमिकलाई समयसापेक्ष न्यूनतम पारिश्रमिक वृद्धि र अन्य सुविधा दिँदै आएको श्रम मन्त्रालयका सह–सचिव तथा प्रवक्ता डण्डुराज घिमिरेले बताए । नेपालमा पहिलो पटक विक्रम सम्वत २००३ सालमा विराटनगरबाट मजदुर आन्दोलन सुरु भएको थियो । उक्त आन्दोलनका नेताहरू प्रधानमन्त्री समेत भएका छन् । उक्त आन्दोलनका अगुवा कांग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरला र मनमोहन अधिकारी प्रधानमन्त्री बनेका थिए ।
२०१४ सालयता सरकारको नेतृत्वमा पुगेका राजनीतिक दलहरूले आन्दोलन र निर्वाचनका बेला मात्र मजदुरलाई आफ्नो एजेन्डाभित्र राख्ने गरेको रोजगारविज्ञ रामेश्वर बोहोरा बताउँछन् । मजदुरलाई रोजगारी, उनीहरूको आर्थिक अवस्था, सरकारले दिने स्वास्थ्य उपचार र श्रम ऐनमा भएका सुविधा दिन नेतृत्वमा पुगेका पार्टीहरूले चासो नदेखाएको उनको आरोप छ ।
बढ्दो वैदेशिक रोजगारी
राष्ट्रिय योजना आयोगका अनुसार नेपालमा वार्षिक ६ लाख श्रमशक्ति रोजगारीको खोजीमा आन्तरिक श्रम बजारमा आउने गरेका छन् । तीमध्ये करिब १ लाख ५० हजार श्रमिकले मात्र आन्तरिक श्रम बजारमा जसो–तसो रोजगारी पाउँछन् । त्योबाहेकको श्रमशक्ति वैदेशिक रोजगारीमा विभिन्न देश जाने गरेको श्रम मन्त्रालयकाे तथ्यांक छ ।
सुरुवातमा नेपालीहरू भारतको आसाम, सिक्किम, भुटान, बर्मा (म्यान्मार ) र तिब्बतलगायतका देशमा भारी बोक्न तथा कोइला खानीमा रोजगारीका लागि जाने गरेका थिए । पछिल्लो समय नेपालीहरू भारतमा कृषि, पशुपालन, चियाखेती, खानी, सुरक्षा र कारखाना लगायतका क्षेत्रमा काम गर्न जाने गरेका छन् । भारतपछि नेपालीहरू बिस्तारै खाडीका देश, मलेसिया, युरोप, अफ्रिका र अमेरिकासम्म रोजगारीका लागि पुग्ने गरेका छन् ।
हाल दैनिक ९ सय नेपाली रोजगारीको खोजीमा विश्वका १ सय ११ देश जाने गरेका छन् । चालु आर्थिक वर्षको ९ महिनामा ३ लाख २० हजार नेपाली वैदेशिक रोजगारीमा गएको वैदेशिक राेजगार विभागले जनाएकाे छ । हाल ४४ लाख नेपाली वैदेशिक रोजगारीमा कार्यरत रहेको श्रम मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारीले नेपालको बेरोजगारी समस्या समाधान गर्न सहयोग र विदेशको रोजगारीले अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए । वैदेशिक रोजगारीमा जाने कामदारसँगै आर्थिक, सीप र उद्यम पनि भित्रिने गरेको उनको भनाइ छ । प्रवासी मजदुरले देशको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा ठूलो सहयोग पुर्याएकाे उनले बताए ।
प्रकाशित मिति: आइतबार, वैशाख १८, २०७९ ०७:३६