ब्राउन सुगर लुटपाट गर्न एक युवकको अपहरण भएको खुलेको छ ।
प्रहरी वृत्त गौशालाको टोलीले युवकको अपहरण गरेको आरोपमा स्कार्पियोसहित पाँच जनालाई पुरानो बानेश्वरबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरूमा भक्तपुरका सन्जन ओली, निरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपाने छन् ।
उनीहरू लागुऔषध ब्राउन सुगर लुटपाट गर्न खोज्दा पक्राउ परेका हुन् । घटना प्रहरीले सार्वजनिक गरेको छैन । प्रहरी स्रोतका अनुसार उनीहरूले लागुऔषधका कारोबारी सिराहाका पवन कुमार यादवलाई अपहरण शैलीमा स्कार्पियोभित्र बन्धक बनाएर लुटपाटको प्रयास गरेको खुलेको छ ।
सिनामंगल बस्दै आएका यादवलाई भक्तपुरका पाँच जनाको समूहले अपहरण शैलीमा कारभित्र राखेर पुनारो बानेश्वर पुर्याएका थिए । ‘उनीहरूले लागुऔषध ब्राउन सुगर लुटपाट गर्न यादवलाई अपहरण गरेर गाडीमा राखेको देखिन्छ । हामी थप अनुसन्धान गर्दैछौँ,’ प्रहरी स्रोतले भन्यो ।
उनलाई ब्राउन सुगरको डिलरसम्म पुर्याउन भनेर गाडीमा राखेर बानेश्वर पुर्याएको खुलेको छ । प्रहरीले यादवको साथबाट केही मात्रा ब्राउन सुगरसमेत बरामद गरेको छ । स्रोतका अनुसार पक्राउ परेकालाई शरीर बन्धक र यादवलाई लागुऔषध कारोबारीको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९ १५:४७