नेपालको अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ । चालु मूल्यको आधारमा नेपालको अर्थतन्त्रको आकार गत वर्षभन्दा करिब ५ खर्ब ७४ अर्ब बढेको हो ।
आर्थिक वृद्धिदरको मापन उपभोक्ता मूल्य वृद्धिदरको आधारमा हेरिन्छ भने अर्थतन्त्रको आकार भने चालु मूल्यका आधारमा हेरिन्छ ।
यो हिसाबले नेपालको अर्थतन्त्रको आकार २०७६-७७ को तुलनामा अघिल्लो वर्ष करिब ४ खर्ब रुपैयाँले मात्रै बढेकोमा चालु वर्षमा करिब ५ खर्ब ७४ रुपैयाँ बढेको छ ।
पछिल्लो १० वर्षमा नेपालको अर्थतन्त्रको आकार

तथ्यांक विभागले चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकलाई तुलना गरेर निकालेको तथ्यांक अनुसार ५.८ प्रतिशतसम्मको आर्थिक वृद्धिदर पुग्ने देखिएको हो । कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा भने ५.४९ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।
क्षेत्रगत योगदान मा प्राथमिक क्षेत्रको योगदानमा कमि आएको देखिउको छ भने द्वितीय क्षेत्र र सेवा क्षेत्रको योगदान बढेको छ ।
प्राथमिक क्षेत्र
प्राथमिक क्षेत्रअन्तर्गत कृषि, वन तथा मत्स्य र खानी तथा उत्खनन क्षेत्र रहेका छन् । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले २४.५ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान छ । अघिल्लो आर्थिक वर्ष २०७७-७८ को तुलनामा चालु आर्थिक वर्ष २०७८-७९ मा यो क्षेत्रको कुल मूल्य अभिवृद्धि (वृद्धिदर) स्थिर मूल्य २.४४ प्रतिशत हुने प्रारम्भिक अनुमान छ ।चालु आर्थिक वर्षमा धानवालीको उत्पादनमा भएको ह्रासले यो क्षेत्रको उत्पादनमा गत आर्थिक वर्षको भन्दा कम वृद्धिदर रहेको छ ।
द्वितीय क्षेत्र
यो क्षेत्रअन्तर्गत उद्योग, विद्युत् तथा ग्याँस, पानीको आपूर्ति र निर्माण क्षेत्र पर्दछन् । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले १३.७ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७८-७९ मा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि (जीभीए) वृद्धिदर स्थिर मूल्यमा १०.२९ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट गत आर्थिक वर्षको अन्त्यदेखि विद्युत उत्पादन सुरू, निर्माण कार्यमा वृद्धि तथा औद्योगिक उत्पादनमा वृद्धि आदिका कारणले यो क्षेत्रको कुल मूल्य अभिवृद्धि (वृद्धिदर) वृद्धिदरमा सकारात्मक प्रभाव पारेको पाइन्छ ।
सेवा क्षेत्र
यो क्षेत्रअन्तर्गत थोक तथा खुद्रा व्यापार, आवास तथा भोजन सेवा, यातायात सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, घरजग्गा कारोबार, पेसागत तथा प्रशासनिक व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सेवा छन् । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यो क्षेत्रले ६१.८ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७-७८ को तुलनामा चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि (वृद्धिदर) स्थिर मूल्यमा ५.९३ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ । कोभिड-१९ को महामारीले ऋणात्मक भएका आवास तथा भोजन सेवा र यातायात क्षेत्रका आर्थिक क्रियाकलापमा भएको वृद्धि तथा व्यापार तथा निर्माण क्रियाकलापमा भएको वृद्धिको कारण यो क्षेत्रको कुल मूल्य अभिवृद्धि (जीभीए) वृद्धिदर बढी भएको हो ।
प्रकाशित मिति: बिहीबार, वैशाख १५, २०७९ १३:५८