पेरियोडिक तालिकामा ११८ वटा तत्त्वहरू छन् । तीमध्ये सबै तत्त्वहरू हाम्रो शरीरमा पाइँदैन । यी तत्त्वहरूमध्ये पाँचवटा तत्त्वहरूले मात्रै शरीरको झण्डै ९९ प्रतिशत तौल ओगटेको हुन्छ । ती पाँच तत्त्वहरू हुन्– अक्सिजन, कार्बन, हाइड्रोजन, नाइट्रोजन र क्याल्सियम । शरीरमा हुने अरु महत्त्वपूर्ण तत्त्वहरू सोडियम, पोटासियम, क्लोरिन, सल्फर, म्याग्नेसियम र फस्फोरस हुन् । यी ११ वटा तत्त्वहरू हाम्रो शरीरको संरचना र कार्यसञ्चालनका लागि नभई हुँदैन ।
यीबाहेक शरीरको प्रकृति हेरेर अरु झण्डै ५० वटा तत्त्वहरू ज्यादै नगन्य मात्रामा शरीरमा रहेका हुन सक्छन् ।
अब यी प्रमुख तत्त्वहरूले शरीरमा के के काम गर्छन्, यसबारे चर्चा गरौँ ।
यी पाँच तत्त्वहरूमध्ये पनि अक्सिजनले झण्डै ६५ प्रतिशत तौल ओगट्छ । कुनै एक जना व्यक्तिको तौल ७० केजी छ भने ४५ केजी त अक्सिजन नै हुन्छ । किनकि हाम्रो शरीरमा ५० देखि ६० प्रतिशत भाग पानी छ । पानीमा अक्सिजन ग्यास हुन्छ । अक्सिजन ग्यास शरीरमा ऊर्जा उत्पादन गर्न आवश्यक पर्छ । अक्सिजनले हामीले खाएको खानामा हुने ग्लुकोजसँग रासायनिक प्रतिक्रिया गरी ऊर्जामा परिणत गरिदिन्छ । यसले शरीरमा तापक्रमलाई सन्तुलित बनाउँछ । यति मात्रै होइन प्रोटिन, कार्बोहाइड्रेट, लिपिडको बनावटका लागि यो नभई नहुने तत्त्व हो ।
शरीरमा सबैभन्दा बढी तौल ओगट्ने तत्त्वमध्ये दोस्रो नम्बरमा कार्बन पर्छ । यसले करिब शरीरको १८ देखि १९ प्रतिशत तौल ओगट्छ । शरीरमा प्रत्येक कोषको संरचना नै कार्बनबाट बन्ने गर्छ । कार्बन शरीरमा कार्बोहाइड्रेट्स, फ्याट, प्रोटिन कार्बनबाटै बन्ने गर्छन् । यो पृथ्वीमा हने प्रत्येक जीवको अस्तित्वको मेरुदण्ड हो ।
शरीरको तेस्रो नम्बरमा हाइड्रोजन पर्छ । शरीरमा अरु तत्त्वहरूको परमाणुभन्दा हाइड्रोजनको परमाणु संख्या बढी हुन्छ । तर, यसले शरीरमा जम्मा ९ देखि १० प्रतिशत तौल मात्र ओगट्छ । प्रत्येक पानीको अणुमा एउटा अक्सिजन परमाणुको बढी भए पनि कम तौल ओगट्नुको कारण भनेको हाइड्रोजनको परमाणुको तौल कम हुनु हो । १६ वटा हाइड्रोजनका परमाणु तौलबराबर एउटा अक्सिजन परमाणुको तौल र १२ वटा हाइड्रोजनका परमाणुको तौल बराबर एउटा कार्बनको तौल हुन्छ ।
हाइड्रोजन शरीरमा प्रोटिन, कार्बोहाइडेट्स र फ्याट निर्माणको प्रमुख तत्त्व पनि हो ।
फस्फोरस तत्त्वले शरीरमा हाड र दाँत निर्माणमा भूमिका खेल्छ । कोष र तन्तुहरूको पुनर्निर्माण गर्ने र प्रोटिनको निर्माणमा पनि यसले काम गर्ने गर्छ । यसले रगतको पीएचलाई समान्य बनाउँछ । न्युरोन तथा मुटुको काममा सहयोग गर्छ ।
शरीरमा पाइने चौथो प्रमुख तत्त्व नाइट्रोजन हो । यसले शरीरमा झण्डै ३ प्रतिशत तौल ओगट्छ । यो तत्त्व वायुमण्डलमा सबैभन्दा बढी झण्डै ७८ प्रतिशत पाइन्छ । प्रत्येक श्वासप्रश्वास प्रक्रियामा अक्सिजनसँगै यो तत्त्व पनि शरीरभित्र जान्छ । तर, ग्यासको अवस्थामा यो तत्त्वलाई शरीरले कुनै उपयोग गर्न सक्दैन र सास फाल्दा तत्काल यो बाहिर जान्छ । यद्यपि खानासँग मिसिएको अवस्थामा नाइट्रोजनलाई शरीरले ग्रहण गर्छ । प्रोटिन, एमिनो एसिड, डीएनए तथा आरएनए निर्माणका लागि नाइट्रोजन आवश्यक पर्छ ।
शरीरमा पाइने अर्को प्रमख तत्त्व क्याल्सियम हो । यसले शरीरमा १ देखि २ प्रतिशत तौल ओगट्छ । नेसनल इन्स्टिच्यट अफ हेल्थका अनुसार शरीरमा झण्डै ९९ प्रतिशत क्याल्सियम हड्डी र दाँतमा पाइन्छ । योबाहेक आइरन, सोडियम, म्याग्नेसियम, क्लोरिन, फस्फोरस, जिङ्क, आयोडिनलगायत दर्जनौँ तत्त्वहरू पनि शरीरमा थोरै मात्रामा आवश्यक पर्छ ।
शरीरमा मस्तिष्कले विभिन्न भागहरूसँग सञ्चार र सहकार्य गर्ने गर्छ । एक भागको सन्देश अर्को ठाउँमा पुर्याउनुपर्ने हुन्छ । यसका लागि सोडियम र पोटासियमको आवश्यकता पर्छ । यी दुई तत्त्वबिना मस्तिष्कले सोच्ने र अरु अंगसँग सन्देश आदानप्रदान गर्ने कुरा सम्भव हुँदैन । पोटासियमले शरीरमा मुटुको धड्कन नियमित गराउनसमेत मद्दत गरिरहेको हुन्छ ।
हाम्रो रगतमा पाइने केन्द्रिय तत्त्व आइरन हो । यो तत्त्वलाई शरीरले राता रक्तकोषमा पाइने एउटा प्रोटिन ‘हेमोग्लोबिन’ बनाउन प्रयोग गर्छ । हेमोग्लोबिनले कोषकोषमा अक्सिजन ग्यास पुर्याउन भूमिका खेल्छ । आइरन शरीरमा केही हर्मोनहरू निर्माण गर्नसमेत आवश्यक पर्छ । यसको कमीले फोक्सोबाट शरीरका अन्य भागमा अक्सिजन कम पुग्छ । परिणामस्वरुप व्यक्ति थकित हुने, छोटो हिँडाइमै स्वाँस्वाँ हुने, कमजोरी महसुस हुने, स्मृति कम र ध्यान केन्द्रित गर्न गाह्रो हुनेजस्ता लक्षण भएको ‘एनेमिया’ रोग लाग्छ ।
शरीरको अर्को महत्त्वपर्ण तत्त्व म्याग्नेसियम हो । यसले शरीरमा प्रोटिन उत्पादन, हाड बलियो बनाउने, रगतमा चिनी नियमित गराउने, रक्तचापलाई नियमित गराउनेजस्ता कार्यमा मद्दत गर्छ । म्याग्नेसियम हाड तथा तन्तुहरूमा जम्मा भएर रहेको हुन्छ ।
फस्फोरस तत्त्वले शरीरमा हाड र दाँत निर्माणमा भूमिका खेल्छ । कोष र तन्तुहरूको पुनर्निर्माण गर्ने र प्रोटिनको निर्माणमा पनि यसले काम गर्ने गर्छ । यसले रगतको पीएचलाई समान्य बनाउँछ । न्युरोन तथा मुटुको काममा सहयोग गर्छ । कोषभित्रका जीनको बनावटमा पनि यो तत्त्व आवश्यक पर्छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ९, २०७९ ०६:०५