२० वर्षअघि सिन्धुपाल्चोक बलेफीका नारायण श्रेष्ठ घरनजिकैबाट उर्लिएर बगेको सुनकोसी र भोटेकोसी देखेर तर्सिन्थे । त्यसो त नारायण मात्र होइन, सिंगो गाउँ नै डराउँथ्यो नदीदेखि ।
‘प्रकृतिसँग डराउनुपर्छ, हामी पनि डराउँथ्यौँ । किनकि नदीले कतिबेला ज्यान लैजान्थ्यो, पत्तो हुँदैनथ्यो । सानोमा नदीवरिपरि जान डर लाग्थ्यो,’ बचपनलाई स्मरण गर्छन् उनी ।
तर, आज प्रकृतिप्रतिको चेत बदलिएको छ उनको । कोसी देख्दा डराउने नारायण कोसीबाटै सफल उद्यमी बनेका छन् । नदी उनको पर्याय बनेको छ । ‘नदीदेखि डराउँथेँ तर नदीबाटै व्यवसायी बनेँ,’ उनी भन्छन्, ‘प्रकृतिसँग डराउने होइन, प्रकृतिप्रेमी बन्नुपर्ने रहेछ ।’
नदीजस्तै बगिरहेको छ उनको व्यावसायिक जीवन पनि । दुई दशक बित्यो, कोसीको छेउछाउमै भेटिन्छन् उनी ।

काठमाडौंबाट ६३ किलोमिटरको दूरीमा पर्छ बलेफी अर्थात् सुकुटे बिच । वारिपारि मन लोभ्याउने मनमोहक हरियाली पहाड । बीचमा बगिरहेको कोसी । कोसीको आडैमा छ उनको सुकुटे भ्याली रिसोर्ट ।
भ्याली रिसोर्ट खोल्नुअगाडि २०६८ सालमा श्रेष्ठले रक्स रिभर भनेर क्याम्पिङ रिसोर्ट खोलेका थिए । ‘त्यतिबेला क्याम्प मात्रै राख्थ्यौँ,’ उनी भन्छन्, ‘नेपालीहरू खोला देख्दै तर्सन्थे । र्याफ्टिङ गर्न त विदेशी मात्रै आउने भएकाले रिसोर्ट बनाइहाल्ने स्थिति थिएन । हामीले जोखिम मोल्न चाहेनौँ ।’

भूकम्पले दिएको अवसर
२०७२ सालको भूकम्पले सिन्धुपाल्चोक थिलथिलो बन्यो । श्रेष्ठको गाउँ बलेफी बजार र सुकुटे पनि भूकम्पको मारमा पर्यो । उनी काठमाडौंबाट राहत, सहयोग र उद्धारका लागि गाउँ पुगे ।
‘त्यो समयमा गाउँ जाँदा बाटोमा खाजापानी खानसमेत पाएनौँ । अत्यासलाग्दो थियो । भूकम्पको अवलोकनमा आउनेहरूका लागि बस्ने ठाउँ पनि थिएन ।’
भूकम्पले पुर्याएको क्षति अवलोकन गर्न आउनेहरू बस्न र घुम्न चाहेको देखेपछि उनको सोचमा परिवर्तन आयो । क्याम्पिङमा मात्र सीमित रहेको व्यवसायलाई उनले ‘सुकुटे भ्याली रिसोर्ट’ मा परिणत गरे ।

क्याम्पिङमा चार वर्ष विदेशी पर्यटक मात्रै आएका थिए । तर, रिसोर्टको रूपमा व्यवसाय विस्तार भएपछि बाह्यभन्दा आन्तरिक पर्यटकको संख्या बढ्न थाल्यो । १५ देखि २० जनाको संख्यामा आउने पर्यटक बढेर दैनिक ३ सयसम्म पुग्न थाले । ४ सय रोपनीमा फैलिएको रिसोर्ट खचाखच हुने स्थिति आयो ।
‘सुरुमा विदेशी मात्रै ‘एड्भेन्चर’ खोज्दै आउँथे, र्याफ्टिङ गरेर फर्कन्थे । केही दिन राख्न सक्ने संरचना पनि थिएन । व्यवसाय विस्तार गर्न हम्मेहम्मे पर्थ्यो,’ उनी भन्छन् ।
अहिले समय फेरिएको बताउँछन् उनी । ‘हिजो र्याफ्टिङ गर्न तर्सिने र नदी किनारामा रमाउनुलाई फजुल खर्च मान्नेहरू थकान भुल्न पनि यहाँ आइपुग्छन्,’ उनी भन्छन् ।

१२ वर्षअघि नौ जना कर्मचारी राखेर दैनिक १० देखि १५ जना विदेशी पर्यटकलाई मनोरञ्जन दिँदै आएको रिसोर्टले अहिले ६५ जना कर्मचारीमार्फत दैनिक तीन सय जनासम्मलाई मनोरञ्जन दिँदै आएको छ ।

पर्यटकको घुइँचो लागेसँगै उनको कारोबार पनि उकालो लागिरहेको छ । श्रेष्ठका अनुसार सुकुटे भ्याली रिसोर्टले मात्रै दैनिक १२ लाख रुपैयाँ र मासिक १ करोडभन्दा बढीको कारोबार गर्दै आएको छ । खान बस्नसहित क्याम्प फायर, डीजे, र्याफ्टिङ, हाइकिङलगायतका सुविधा दिएपछि आन्तरिक पर्यटकले अचेल रिसोर्ट भरिभराउ हुन थालेको छ ।

पर्यटकको मुख्य आकर्षण र्याफ्टिङ बनेको छ । पहिले र्याफ्टिङ विदेशी पर्यटकले गर्ने साहसिक जलयात्राको रूपमा लिइन्थ्यो । तर, अहिले नेपाली पर्यटकको पनि रोजाइमा पर्न थालेको छ । यात्राका क्रममा प्रकृतिका मनोरम दृश्यहरू हेर्दै मनका तनावहरू बिर्साउने उत्तम विकल्प सुकुटे बिच बनेको बताउँछन् उनी । ‘यहाँ आउनेहरूका लागि विभिन्न प्याकेजको व्यवस्था गरिएको छ । थोरै खर्चमा आनन्द लिन सकिन्छ,’ उनी भन्छन् ।


तस्वीर : सुशील श्रेष्ठ
प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८ ०६:३२