क्यान महासंघको आयोजनामा राजधानीस्थित भृकुटीमण्डपमा २७औँ इन्फोटेक एक्स्पो हुँदैछ । आगामी ७ वैशाखदेखि १२ वैशाखसम्म इन्फोटेक सञ्चालन हुनेछ ।
नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउन क्यानले इन्फोटेक आयोजना गर्ने गरेको हो । उद्योग तथा उद्यमीहरूको आवश्यकता थाहा पाउन र त्यसका लागि चाहिने सहयोग दिलाउन क्यान इन्फोटेकको सञ्चालन हुँदै आएको छ ।
इन्फोटेक २०२२ पनि व्यवसायी तथा ग्राहकका लागि अन्तर्क्रियाको प्लेटफर्म हो । इन्फोटेकमा ग्राहकसँगको छलफलबाट व्यवसायीले आफ्ना वस्तु तथा सेवाको आपूर्तिमा सुधार ल्याउन सक्नेछन् । स्वदेशी तथा विदेशी कम्पनी तथा व्यवसायीहरूबीच नेटवर्क सिर्जना गर्ने लक्ष्य पनि क्यानले राखेको छ । तर यसपटकको इन्फोटेकमा भने मेला हुँदैन ।
इन्फोटेकमा व्यवसायीहरूले व्यापार गर्ने सुविधा भने पाउने छैनन् । कार्यक्रममा प्रविधिबारे सिकाउने, नयाँ इनोभेसन भएका कुराहरूबारे जानकारी दिने, प्रदशर्नी गर्ने क्यानको मुख्य लक्ष्य छ ।
प्रदर्शनीमा हार्डवेर र सफ्टवेरको फरक–फरक स्टल, विद्यार्थीले गरेको इनोभेसनहरू, स्टार्टअपहरू, सरकारले सेवा दिन प्रयोग गरेका प्रविधिहरू, बैंकहरूले प्रयोग गरेका प्रविधिहरू राखिनेछ । विगतका एक्स्पोहरूमा जस्तै यसपटक पनि सयभन्दा धेरै कम्पनीहरूले भाग लिनेछन् । त्यस्तै, एक सयभन्दा धेरै स्टल हुने अनुमान क्यानको छ ।
इन्फोटेक २०२२ मा अवलोकनको टिकटको मूल्य मात्र एक रुपैयाँ तोकिएको छ । विगतमा टिकटको मूल्य विद्यार्थीलाई ५० र सर्वसाधारणलाई सय राखिएको थियो । एक रुपैयाँ तिर्नका लागि भने डिजिटल पेमेन्ट नै गर्नुपर्ने हुन्छ । त्यहाँ उपस्थित हुने सबैले डिजिटल तरिकाले पैसा तिर्न सिकून् भन्ने ध्येयले यस्तो नियम क्यान महासंघले ल्याएको हो ।
के हो क्यान महासंघ ?
नेपालमा सूचना प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ, संघ, संस्था र व्यवसायीहरू मिलेर सन् १९९२ मा कम्प्युटर एसोसिएसन नेपाल (क्यान) स्थापना भएको थियो । सूचना तथा सञ्चार प्रविधिसम्बन्धी व्यवसायी तथा विज्ञहरूका निम्ति काम गर्न सुरु गरिएको क्यानलाई सन् २०१५ मा क्यान महासंघमा रुपान्तरण गरियो ।

नयाँ टेक्नोलोजीबारे सूचना प्रदान गर्ने, सेमिनार, एक्जिबिसन र ट्रेनिङ सञ्चालन गर्ने उद्देश्यसहित क्यान सुरु गरिएको थियो । जसका लागि क्यानले सन् १९९५ मा इन्फोटेक मेला आयोजना गरेको थियो । सूचना प्रविधिबारे जानकारी दिने सम्भवतः पहिलो एक्स्पो क्यानले गरेको थियो । ३५ वटा स्टल राखेर गरिएको एक्स्पोमा चासो राखेर आउने धेरै भए ।
एक्स्पो सञ्चालन गरेपछि क्यानले नियमित ट्रेनिङ, सेमिनारहरू गर्न थाल्यो । क्यानको स्थापना हुँदा नेपालमा सूचना तथा सञ्चारसम्बन्धी कुनै मन्त्रालय वा विभागहरू थिएनन् । हाल क्यानले नेपाल सरकारको सूचना तथा सञ्चार विभागको सल्लाहकारको भूमिका पनि निर्वाह गर्दैछ ।
काठमाडौँमा पहिला सुरु गरिएको क्यान अहिले ७७ वटै जिल्लामा छ । गत ५ चैतमा हुम्ला जिल्लामा पनि क्यान पुगेपछि यो सबै जिल्लामा फैलिएको हो ।
कस्तो होला त यसपटकको क्यान इन्फोटेक एक्स्पो ? यसबारे हामीले क्यान महासंघका अध्यक्षनवराज कुँवरसँग कुराकानी गरेका छौँ । हेरौँ उहाँकै शब्दमा :
नेपालमा लकडाउनले गर्दा गर्ने भनिएको एक्स्पो दुई पटकसम्म सारियो । यसपटक सफल रूपमा आयोजना गर्न सकिन्छ भन्ने आशा गरेका छौँ ।
लकडाउनको समयमा धेरैले प्रविधि चिन्ने मौका पाएका छन् । काम, पढाइजस्ता कुराहरूमा प्रविधि प्रयोग गरिएपछि डिजिटल साक्षरता बढेको हाम्रो अनुमान छ । एक्स्पो कहिले र कहाँ हुने भनेर प्रश्न पनि गरेका छन् । त्यसैले यसपटक धेरैले प्रदर्शनीमा भाग लिने र धेरैले अवलोकन गर्न आउने सोचेका छौँ ।
एक्स्पोमा अवलोकन गर्न आउनेका लागि एक रुपैयाँमा टिकटको व्यवस्था गरिएको छ । कत्तिले एक रुपैयाँ राख्नुभन्दा नि:शुल्क राखे भैहाल्यो नि पनि भने तर हाम्रो उद्देश्य फरक छ । एक रुपैयाँको सिक्का हामी लिँदैनौँ । एक रुपैयाँ तिर्न डिजिटल तरिका प्रयोग गर्नुपर्छ । त्यसरी पैसा तिर्न नजान्नेलाई हामी तिर्ने तरिका सिकाउँछौँ । आई एम. ई पे वालेटबाट तिर्नुपर्ने हुन्छ ।
यसरी नजान्नेले सिकून् र जान्नेले प्रयोग गर्न अभ्यस्त बनून् भन्ने हामी चाहन्छौँ । नेपालको सूचना तथा प्रविधिको विकासमा टेवा पुर्याउन क्यानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । त्यसलाई अझ बढाउनका लागि हामी नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)सँग जोडिएका छौँ । एक्स्पोमा नास्टमा भएका इनोभेसनहरू पनि राखिनेछ ।
प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८ १८:५८