हामीलाई नेपालको पैसामा हस्ताक्षर गर्ने पहिलो गभर्नरको नाम थाहा छ, अहिलेका गभर्नरको नाम पनि थाहा छ । तर, नेपाली नोटको डिजाइन कसले गर्यो ? कमैलाई थाहा हाेला ।
यसका लागि बागबजारको एउटा गल्लीमा आइडियल डिजाइनर्स सञ्चालन गरेर बसिरहेका सुन्दर श्रेष्ठबारे जान्न जरुरी छ । झट्ट सार्वजनिक समारोह वा कार्यक्रममा देखा नपर्ने सुन्दर हतपत बोल्न डराउँछन् । कसैले बोलाइ हालेमा उनको जवाफ हुन्छ, ‘म कामै गर्छु । बोल्न जान्दिनँ । भैगयो, नआऊ !’
तर, फिल्म निर्देशक यादव भट्टराईले उनको पिछा छाडेनन् । लगातारको जोडबल र आग्रहपछि यसपालि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको हलमा देखा परे सुन्दर । निफको चौथो दिन ‘फिल्म पोस्टर डिजाइनका कुरा’ विषयक सेसनमा उनी यसरी पोखिएका थिए-
संकोचको पर्खाल यहाँ ढलेपछि आएँ
ढुकढुक गर्ने मुटु पनि जलेपछि आएँ
घच्घच्याएँ, सुम्सुम्याए यही छातीको देव्रेतिर
सुस्तसुस्त यही मुटु चलेपछि आएँ ।
०००
तत्कालीन राजा विरेन्द्रको गद्दिआरोहणको २५ वर्ष पुगेको थियो । नेपाल राष्ट्र बैंकमा डिजाइनिङका जागिरे सुन्दर श्रेष्ठलाई सरकारबाट एउटा कामको उर्दी भयो, ‘नोटको डिजाइन गर्न सक्छौ ?’
उतिबेलै ०३६ सालमा बैंकमा जागिरका लागि अन्तर्वार्ता दिन जाँदा एउटा साथीले सुझाएका थिए, ‘आउँदैन नभन्नु । जे पनि आउँछ, गर्नसक्छु भन्नु !’ मनमा डर थियो, चानचुने काम थिएन । तैपनि भनिदिए, ‘सक्छु !’

त्यसअघि नोटका डिजाइनिङ नेपालमा हुन्थेनन् । सुन्दरका लागि यो परीक्षा थियो र अवसर पनि । २५ रुपैयाँ र २५० रुपैयाँको नोटका डिजाइन गर्नुपर्ने । नोटमा कैली गाईको फोटो राख्नु थियो । डिजाइन कमिटीका सदस्य सत्यमोहन जोशी र चुँडानाथ भट्टराईले गाई खोज्न पठाए । एक महिनासम्म कैली गाई भेटिएन, जर्सी गाईमात्र भेटिएर हैरान !
उनले नोट हातैले डिजाइन गरे ।
जब नोट छापिएर सुन्दरको हातमा आइपुग्यो, खुसीको सीमा रहेन । आफूले डिजाइन गरेको नोटलाई हातले पटक-पटक सुम्सुम्याए । परिवारमा खुसी साटे । ‘अरु बिर्सिएँ होला । तर त्यो क्षण आज पनि मेरो सम्झनामा उस्तै ताजा छ,’ सुन्दर भन्छन् ।
सुन्दर विगतका स्मृतितर्फ चियाउँदै थिए । नेपालमा फिल्मको पोस्टर पहिलो पटक डिजाइन गरेका उनीसँग अनुभूतिका चाङ छन् । चलचित्र निर्देशक यादवले सुन्दरसँग रहस्य खोतलिरहेका थिए । ‘तपाईं नोट डिजाइनको क्रममा जर्मनी जानुभएको थियो हैन ?’
‘म गएको थिएँ । त्यहाँ नोटका लागि फरक-फरक विशेषज्ञ हुँदा रहेछन् । जुन यहाँबाट म एक्लैले ती सबै काम गरेको थिएँ । उनीहरू चकित पर्दै मलाई त्यहीँ बस्न अफरसमेत गरे,’ सुन्दरले भने ।
‘अनि त्यत्रो अफर गर्दा किन बस्नुभएन त जर्मनी ?’
यादवको प्रश्नले एकछिन शान्त भए । उनका आँखा भरिए । र भक्कानिँदै भनेँ, ‘देशभन्दा ठूलो केही हुन्न । त्यसैले त्यहाँ बस्न मन लागेन ।’
अहिले पनि नेपालका नोटहरू डिजाइन गर्ने हात सुन्दरकै हुन् । तिनै हातले ०६० सालमा तत्कालीन राजा ज्ञानेन्द्रको फोटो राखेको नोट डिजाइन गर्दा गोरखा दक्षिणबाहु पुरस्कार थापेका थिए । अन्तर्राष्ट्रिय समाचारपत्र ‘टेलिग्राम’ले वर्ल्ड मोस्ट ब्युटिफुल करेन्सी’को सूचीमा नेपालका तीनवटा नोट र एक सिक्का संसारकै सुन्दर आकृत भएको नोटको सूचीमा छनोट गरेको थियो । जसको डिजाइन उनै सुन्दरले गरेका थिए ।
उनलाई थाहा छ, नोट डिजाइन गर्ने हात र मानिस उत्तिकै संवेदनशील हुनुपर्छ । सयको नोट, पाँचसयको नोट र हजारको नोटमा एउटा, दुईटा र तीनवटा थोप्ला हुन्थे । ‘यो दृष्टिविहीनका लागि हो । ताकि छामेर उनीहरूले नोट चिन्न सकुन् । अहिले तीनवटा थोप्ला हटाएर छेउमा एम राखेका छौँ,’ सुन्दर भन्छन् ।
०००
वि.सं. २०१७ सालमा पाल्पामा जन्मेका सुन्दर ०३६ सालमा काठमाडौं आए । हातको सीप भनेकै चित्रकला थियो । आफ्नो जागिरे र सिर्जनशील जीवनमा उनी चित्रहरूमाझ नै रमाए । ‘मैले बनाएका तस्वीर अहिले पनि सरकारी कार्यालयका भित्ताहरूमा टाँसिएका छन् । घरका भित्ताहरूमा पनि राजारानीका चित्रहरू टाँसिएका छन्,’ सुन्दर सुनाउँछन् ।
यी त छँदै छन् । सुन्दरलाई छुटाउनै नहुने अर्को महत्वपूर्ण पाटो भनेको फिल्मको पोस्टर हो । उनले १३ सयवटा फिल्ममा १० हजारभन्दा बढी पोस्टर बनाइसकेका छन् । ‘उसोभए, नेपालमा पहिलो पटक फिल्मको पोस्टर बनाउने पनि सुन्दर नै हुन् ?’
‘चलचित्र पोस्टर डिजाइनका सुरुवातकर्ता उनी नै हुन्, उतिबेला विदेशमा पोस्टर डिजाइन हुन्थ्यो । सुन्दरले नेपालमा सुरुवात गरे,’ मञ्चबाट यादव बताउँछन् ।
घटना ०४३ सालको हो । सुन्दरले प्रकाश थापाको निर्देशनमा ‘सन्तान’ चलचित्र बन्न लागेको थाहा पाए । डिजाइन अफिस बागबजारमा थियो । त्यसअघि सबै चलचित्रका पोस्टर भारतमा डिजाइन हुन्थे । उनको साथीले निर्माता भगवान श्रेष्ठलाई चिनेका थिए । ‘फिल्मको पोस्टर डिजाइनको काम हामी नै गरौँ न,’ सुन्दरले साथीलाई भने ।
त्यसपछि रत्नकुमार र सुन्दर भगवानसँग काम माग्न हिँडे । भगवानले ‘हुन्छ, हेरौँला’ भन्दै टार्न खोजे ।
प्रकाश उबेलाका ‘बाघ निर्देशक’ । जो कोही बोल्न त के, उनकै अघि जान पनि डराउँथे । तर, उनीहरू आँट लिएर गए, काम मागे । ‘तिमीहरूले सक्दैनौँ,’ सुरुमा मानेनन् । तर उनीहरू ‘कन्भिन्स्ड’ नगरी फर्किएनन् । आइडियाभन्दा बढी आत्मविश्वास थियो । सुन्दरले हातैले पोस्टरको डिजाइन गरे ।
भारतको मुम्बईबाट पोस्टर छापिएर आयो । जब प्रकाशले पोस्टर हेरे । विछट्टै खुसी भएर भने, ‘ल केटा हो, राम्रो गर्यौ ।’
अनि त, डिजाइनका लागि भारत जानेहरू सुन्दरको घरतर्फ आउन थाले । ‘नेपालमै डिजाइन हुन्छ भन्ने हल्ला भयो । जति फिल्म बन्थे, सबै पोस्टरको लागि मैकहाँ आउन थाले,’ सुन्दर सम्झन्छन् ।

०६० सालतिर नेपालमा कम्प्युटरको प्रयोग बढ्न थालिसकेको थियो । उनले ‘जिन्दगानी’ फिल्मको पोस्टर कम्प्युटरमार्फत् डिजाइन गरे । तर, कम्प्युटर जान्न पनि सजिलो थिएन । मजा त हातैले लाग्थ्यो । केही फिल्मको पोस्टर त पुनः हातैले पनि गरे । विस्तारै कम्प्युटरमा उनी बानी पर्न थाले ।
यद्यपि, सुन्दर सिनेमाको नाम भने हातैले कोर्छन् । कारण, कम्प्युटरमा नभएको फन्ट त हातैमा हुन्छ । पछिल्लो पटक प्रदर्शन भएको फिल्ममध्ये ‘हेलो जिन्दगी’को पोस्टर पनि सुन्दरले नै डिजाइन गरेका हुन् । यतिमात्र होइन नेपालमा आयोजना गरिने ठूला फेस्टिभलका ट्रफीमा पनि सुन्दरकै कला हुन्छ ।
सुन्दरका काम खोतल्दै जाँदा मानिसहरू अझै चकित पर्छन् । हेर्नका लागि उनका चित्र छन्, डिजाइन छन् । अनि सुन्नका लागि गीत । उनले ३५ वटाभन्दा बढी गीत लेखे, र ती सबैले चर्चा कमाए ।
उनका साथी थिए मोहन निरौला । उनले मुम्बईमा कुसुम गजमेरलाई फिल्मका लागि गीत लेख्न दिएका थिए । बिरामी भएकाले कुसुमले सबै गीत लेख्न सकेनन् । स्टुडियो बुक भइसकेको थियो । बाँकी गीत कसलाई लेखाउने त ? मोहन चिन्तित देखिए । साँझ मोहनलाई सुन्दरले भने, ‘म गीत लेखौँ त ?’
मोहनले ‘सक्छौ र’ भनेर सोधे । त्यसपछि त सुन्दर लेख्न तम्सिहाले । तर, उनले लेखेका गीत फिल्ममा समावेश भएनन् । नारायण पुरीले आगो बनाउँदै थिए । पदम थापाले ‘आगो लाग्यो दिलैमा’ गीत लेखिसकेका थिए । अरु गीत चाहिएको थियो । सुन्दरले लेखे, ‘माया बस्यो मुटुमा...’ ! गीत हिट भयो । चोक चोकमा उभिएका मानिसको ओठमा त्यो गीत झुण्डिँदा उनी पुलकित बने । ‘हामी तीन भाइ’को ‘तिर्खा लाग्यो निर्माया, ‘कर्मयोद्धा’को 'छुट्टि छोटो छ’ लगायतका गीत उनै सुन्दरका सिर्जना हुन् ।
०००
सुन्दरसँगका कुराकनी रोचक भइरहेका छन् । किनकि, उनीसँग रमाइला किस्सा छन् । जस्तो कि हातले कोरेका पोस्टरकै कारण दर्शकले हल भरिएका किस्सा । उनी दाबी गर्छन्, ‘पोस्टरले तानेर नै २० प्रतिशतभन्दा बढी मान्छे हलसम्म पुग्थे ।’
भलै अहिले प्रविधिका कारण समय बदलियो । उतिबेला पोस्टर नहेरी मानिसहरू हलसम्म कसरी पुग्थे र ! प्रचारको सबैभन्दा बलियो माध्यम नै पोस्टर थियो । ‘हलमा के फिल्म लाग्दैछ भनेर थाहा पाउने माध्यम थियो पोस्टर,’ सुन्दर भन्छन् ।
०५५ सालतिर, नेपालका स्टार शिव श्रेष्ठ र भुवन केसीले पाकिस्तानी सिनेमा ‘इन्साफ’ खेलेका थिए । पाकिस्तानका निर्माताले पोस्टर नेपालीमा बनाउनका लागि सुन्दरलाई प्रस्ताव गरे । भुवन र शिवको टाउको राखिएको पोस्टर बन्यो । त्यो फिल्म नेपालका हलहरूमा पनि चल्यो । ‘पोस्टर हेरेर फिल्म हेर्न गएका दर्शकहरूले भाषा बुझेनन् । अनि तपाईंले गर्दा हामी झुक्कियौँ भनेर गाली गरे,’ सुन्दर सम्झन्छन् ।

तिनताका फिल्म कथाले हैन, कलाकारको अनुहारले चल्थ्यो । राजेश हमालको युगमा निर्माताहरूको जुक्ति नै थियो- ठूलो टाउको पोस्टरमा देखाउने । राजेश हुँदै निखिलको समयमा पनि त्यो कायम रह्यो । यसले सुन्दरको सिर्जनालाई मारिदिन्थ्यो ।
पोस्टर डिजाइन गर्दाका पीडा पनि छन्, सुन्दरसँग । काम गर्छन्, तर पारिश्रमिक अधुरै रहन्छ ।
‘मेरो ७५ प्रतिशत निर्माताबाट पैसा लिन बाँकी छ । अर्को फिल्म बनाउँदा दिन्छु भन्छन् । कार्यक्रममा भेट्दा हच्कँदै तपाईंकोमा आउँछु भनेको,आउँछु है भनेर टार्छन्,’ उनी सुनाउँछन् ।
फिल्म निर्माताहरूको पोस्टर डिजाइन सबैभन्दा अन्तिमको काममा पर्छ । पोस्टर डिजाइन गर्ने बेलामा बजेट सकिसकेको हुन्छ । तर, नदिनेहरूसँग उनको कहिल्यै गुनासो रहेन । बरु सोचे, ‘देश र सिनेमाको अवस्थै यस्तो छ ।’
तर, चलेका फिल्मका निर्माताले नै पैसा नदिँदा भने दुःख लाग्छ सुन्दरलाई । त्यति बेला चाहिँ सोच्छन्, ‘यो लाइन नै यस्तो हो ।’
उनले खुसी मनाउने थुप्रै कुरा पनि छन्, आफूसँग सिकेका नयाँ पुस्ताहरूले यसलाई निरन्तरता दिइरहेका छन् । फरक पनि गरेका छन् । उनलाई लाग्छ, उतिबेला चाहेर पनि कतिपय काम फरक गर्न पाइन्नथ्यो । ‘त्यो बेला एउटै पोस्टरमा ४२ वटा फोटोसम्म राख्नुपर्थ्यो । कलाकार सबैको राखे ती सबैका परिवार आएर फिल्म हेर्छन् अनि फिल्म हिट हुन्छ भन्थे,’ उनी हाँस्दै सुनाउँछन् ।
‘के तपाईं यिनै काम गरेर नेपालमा खुसी हुनुहन्छ ?’ यादवका प्रश्नमा सुन्दर पुनः भावुक बन्छन् ।
‘म खुसी छु । हामी विदेशमै गएर जति पैसाले पुरिए पनि नेपाली भन्न सकिन्न । तर, यहाँ त नेपाली भन्न पाएका छौँ...,’ सुन्दर मीठो जवाफ दिन्छन् ।
प्रकाशित मिति: आइतबार, चैत २०, २०७८ २१:३४