आसन्न स्थानीय चुनावमा सत्ता गठबन्धनलाई कायमै राखेर कांग्रेस अघि बढ्ने भएको छ । तीन दिने केन्द्रीय समितिको बैठकले कांग्रेसलाई यसतर्फ उन्मुख गराएको हो ।
संविधान र लोकतन्त्रलाई सिध्याउने उद्देश्यले दुईपटक संसद विघटन गरेको एमालेलाई साइजमा राख्न गठबन्ध आवश्यक रहेको मत कांग्रेसभित्र छ । यस्तै पाँच दलबीच चुनावसम्मै सहकार्यको सहमतिमा प्रतिवद्ध रहन पनि चुनावी गठबन्धमा अडिग रहनुपर्ने मत नेताहरूले राखेका छन्। ।
बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवाको आशयअनुसार मत राखेपछि कांग्रेस त्यसतर्फै अघि बढ्ने भएको छ ।
बैठकमा बोल्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेलाई साइजमा राख्न पनि कांग्रेस गठबन्धन गरेरै अघि बढ्नुपर्ने मत राखेका छन् । उनले एमालेलाई साइजमा राख्नका निम्ति माओवादी केन्द्र र एकीकृत समाजवादीलाई मत हाल्नुपर्ने धारणा राखेका हुन् । 'केपी ओलीको असंवैधानिक कदमविरुद्ध हामीसँगै लडेका हौँ । संविधान र लोकतन्त्रलाई सिध्याउन खोज्ने ओली र एमालेलाई साइजमा राख्न माओवादी र एकीकृत समाजवादीलाई भोट थपिदिनुपर्छ,' पौडेलले भनेका छन् ।
बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसलाई बहुमत स्थानमा जिताउन र आन्तरिक एकता बलियो रहेको सन्देश दिन पनि चुनावी गठबन्धनको पक्षमा कांग्रेस उभिनुपर्ने मत राखे । 'पार्टीभित्र आन्तरिक एकता बलियो रहेको सन्देश दिन र चुनावमा कांग्रेसलाई बलियो बनाउन पनि एकमनाले गठबन्धनको पक्षमा निर्णय लिनुपर्छ,' उनले भनेका छन् ।
यस्तै नेता बालकृष्ण खाँणले पनि पाँचदलीय गठबन्धन बन्दा चुनावसम्मै जाने सहमति भएकाले त्यसमा प्रतिवद्ध रहनुपर्ने बताएका छन् । 'पाँचदलीय गठबन्धन निर्वाचनसम्मै जानेगरी बनेकाले कांग्रेस त्यस सहमतिमा प्रतिवद्ध हुनैपर्छ,' उनले बैठकमा भनेका छन्,' सरकार बन्ने बेलामै भएको सहमति कांग्रेसले तोड्नुहुँदैन ।'
बैठकमा बोल्दै कांग्रेस नेता रमेश लेखकले पनि सत्ता गठबन्धनलाई असर नपुग्नेगरी कांग्रेसले निर्णय लिनुपर्ने मत राखेका थिए । यस्तै नेता चित्रलेखा यादवले पनि आवश्यकताको सिद्धान्तअनुसार गठबन्धनमा जानुपर्ने भनाइ राखेकी थिइन् ।
कांग्रेसमा त्रास: कम्युनिस्ट अझै मिल्न सक्छन्
केन्द्रीय समिति बैठकमा कम्युनिस्ट अझै मिल्न सक्ने त्रास नेताहरूले व्यक्त गरेका छन् । नेता शेखर कोइराला, महामन्त्री गगन थापा, उपसभापति धनराज गुरुङले कम्युनिस्ट अझै मिल्न सक्ने संभावना रहेकाले कांग्रेस सजग हुनुपर्ने धारणा राखेका छन् । बैठकमा नेता कोइरालाले आफ्नो सिद्धान्तलाई तिलाञ्जली दिई माओवादीलाई बोक्न नसकिने धारणा राखेका थिए । 'आफ्नो सिद्धान्तलाई तिलाञ्जली दिएर माओवादीलाई कसरी बोक्न सकिन्छ ? गठबन्धन किन र कसका लागि गर्ने?' शेखरको प्रश्न थियो ।
नेता कोइरालाले कम्युनिस्ट नेताहरू लर्को लागेर चीन गइरहेकाले उनीहरूबीच एकताको संभावना अझै रहेको बताएका छन् ।
बैठकमा महामन्त्री गगन थापाले पनि माओवादी कांग्रेसको साथमा रहने कुनै सुनिश्चितता नरहेको बताएका छन् । रोल्पामा प्रचण्डले दिएको अभिव्यक्तिलाई केन्द्रीय सिमिति बैठकमा राख्दै थापाले भनेका छन्,'रोल्पा पुगेर प्रचण्डले कोहीकोही माओवादीसँग मिल्न चाहेकाले मात्रै गठबन्धनमा जान लागेको नत्र माओवादी एक्लै लड्न सक्षम रहेको बताउनुभएको छ । हामीले कांग्रेस बलियो छ एक्लै चुनाव लड्छ भन्न किन हिचकिचाउने ?' थापाको भनाइ थियो ।
यस्तै थापाले विगतमा कम्युनिस्टहरू लोकतन्त्र र संविधानका लागि खतरा रहेको भन्दै चुनावमा गएको कांग्रेसले यसपटक उनीहरू मिल्न खोजेको एजेण्डा लिएर जानुपर्ने धारणा पनि राखेका छन् । 'पहिला हामी कम्युनिस्टहरू लोकतन्त्र र संविधानका लागि खतरा हुन् भन्दै चुनावमा गयौँ । के अब उनीहरू सच्चिए भनेरसँगै जाने?' थापाको प्रश्न थियो ।
थापाले माओवादी केन्द्रले विगतमा पनि धोका दिएकाले यसपटक पनि धोका दिनसक्ने मत बैठकमा राखेका छन् । 'माओवादी हामीसँगै हुन्छ भन्ने सुनिश्चितता के छ ?,' उनले बैठकमा भनेका छन् ।
बैठकमा उपसभापति धनराज गुरुङले वामपन्थी एकताको संभावना अझै कायम रहेकाले कम्युनिस्ट दललाई पत्याउन नसकिने मत राखेका छन् । 'चीनस्थित मामाघर गएका कम्युनिस्ट भान्जाभान्जी मिल्दैनन् भन्ने के छ ? त्यसैले गठबन्धन गरेर क्षणिक लाभ हेरेर जाने होइन । भ्रष्टाचारको छानविन गर्ने एजेण्डा बोकेर दीर्घकालीन लाभसहित चुनावमा जाऔँ,' उनको प्रस्ताव थियो ।
बैठकमा गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणले कम्युनिस्टहरूलाई मिलाउन अन्तर्राष्ट्रिय शक्ति क्रियाशील रहेको सूचना आफूसँग रहेको बताएका छन् । 'कम्युनिस्टहरूलाई मिलाउन अन्तर्राष्ट्रिय शक्ति क्रियाशील रहेको सूचना मसँग पनि छ,' उनले भनेका थिए ।
बैठकमा माओवादीप्रति अविश्वास पैदा भएपछि सभापति शेरबहादुर देउवाले माओवादीलाई अविश्वास नगर्न नेताहरूलाई निर्देशन दिएका छन् । 'म त पहिलेदेखि नै गठबन्धनको पक्षमा थिइनँ । माओवादीलाई तपाइँहरूले ल्याउनुभएको हो की मैले ल्याएको हो ?,' देउवाले प्रश्न गरे, 'अहिले मलाई माओवादी बोक्यो भन्ने ? हिजो गठबन्धन नगर्दा तपाइँहरू पनि हार्नुभएको होइन । हिजो पनि तपाइँहरूले यसरी नै बोलेर गठबन्धन बन्न नसकेको होइन ?'
देउवाले भने, 'माओवादीलाई अविश्वास नगर्नुस् . कांग्रेसको नीति सिद्धान्त मलाई नसिकाउनुस् । म कांग्रेसका लागि जीवन काटेको मान्छे हुँ,' उनले भने ।
यस्तै देउवाले गठबन्धन गर्दा नै कांग्रेसलाई फाइदा हुने दाबी गर्दै पार्टीभित्र झाँगिएको अन्तरघातका कारण उल्लेखनीय नतिजा ल्याउन नसकिएको बताए । उनले यस्ता गतिविधि रोक्न पदाधिकारीहरूले ध्यान दिनुपर्ने धारणा पनि राखेका छन् ।
महामन्त्रीद्वयलाई उनले अन्तरघातको वातावरण अन्त्य गर्ने स्थिति बनाउन र पार्टीलाई अनुशासित बनाउन पनि निर्देशन दिएका छन् । 'हामी अन्तरघातका कारण धेरै ठाउँमा हारेका छौँ । गठबन्धन नगरे कहाँ जित्ने म पनि बालबाल चुनाव जितेर आएको हुँ । अन्तरघात जस्ता अनुशासनहीन गतिविधि महामन्त्री र अन्य पदाधिकारीले रोक्नुपर्यो,' उनले भनेका छन् ।
कांग्रेस गठबन्धनमा प्रतिवद्ध भएर बहुमत स्थानमा जित्नेगरी जानुपर्ने बताएका छन् । 'मेरो सिद्धान्तमा शंका नगर्नुस् न यार म अब पार्टी सभापति हुने पनि होइन । तपाइँहरू जे जे हुने हो हुनुस् अहिले जित्नेगरी जाऔँ,' देउवाको भनाइ छ ।
गठबन्धनबारे औपचारिक निर्णय भने कांग्रेसले मंगलबार गर्देछ । मंगलबारको केन्द्रीय कार्यसमिति बैठकबाट प्रस्ताव पारित गरिने प्रवक्ता प्रकाशशरण महतले बताए । 'पार्टीको अधिकतम हित सुरक्षित हुनेगरी गठबन्धन गरेरै अघि बढ्न अधिकांश साथीहरूको सुझाव छ । केहीले भने गठबन्धन नगर्ने मत पनि राख्नुभएको छ । तर, पार्टीको सर्वोपरी हितको पक्षमा भोलिको केन्द्रीय समितिको बैठकले प्रस्ताव पारित गर्नेछ,' उनले भने ।
महामन्त्री थापा र शर्माको मत बाझियो
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको मत बाझिएको छ । बैठकमा थापाले आफू गठबन्धनको पक्षमा नरहेको मत राखेका छन् । अहिले अधिकांश मतदाता नयाँ रहेकाले उनीहरूलाई रुखमा नै भोट हाल्न प्रेरित गर्नुपर्ने तर्क थापाको छ । 'अहिले नै अरु चिह्नमा भोट हाल्न सिकाएपछि नयाँ मतदातालाई कांग्रेस कसरी बनाउन सकिन्छ । त्यसैले म गठबन्धनको पक्षमा छुइँन,' उनले भनेका छन् ।
गठबन्धन हुँदा कांग्रेसले ९० सिटमा मात्रै चुनाव लड्ने स्थिति रहेकाले पार्टीभित्र व्यापक असन्तुष्टि पैदा हुने थापाको तर्क छ । 'गठबन्धन हुँदा कांग्रेसले ९० सिटमा मात्रै चुनाव लड्न पाउनेछ । यसले पार्टीभित्र व्यापक असन्तुष्टि पैदा हुन्छ र त्यो असन्तुष्टिले हामीलाई नै घाटा पुर्याउँछ,' उनको भनाइ थियो ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले एमाले बलियो रहेकाले गठबन्धन गर्न लागेको सन्देश पार्टी नेतृत्वबाट प्रवाह गरिनु उचित नरहेको बताएका छन् । एमाले बलियो रहेकाले गठबन्धन गरेको सन्देश प्रवाह गर्दा कार्यकर्ता पंक्तिमा नकरात्मक असर पर्ने उनको भनाइ छ । 'अहिले गठबन्धनको आवश्यकता निश्चय पनि छ । आवश्यकताको सिद्धान्तअनुसार गठबन्धन पनि गरिनुपर्छ । तर, एमाले बलियो रहेकाले गठबन्धन गर्नुपर्छ भन्ने भाष्य निर्माण गर्नु गलत हो,' उनले भने ।
सभापति देउवाले गत शनिबार एमाले अझै कमजोर नरहेकाले गठबन्धन जोगाउनुपर्ने बताएका थिए । शर्माले त्यही भनाइप्रति असहमति राख्दै नेतृत्व तहबाट त्यस्ता अभिव्यक्ति व्यक्त हुन नहुने धारणा बैठकमा राखेका हुन् ।
प्रकाशित मिति: सोमबार, चैत १४, २०७८ १९:४०