स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर शिलापत्रले गरेको सर्वेक्षणअनुसार बालिग नागरिकमध्ये मतदाता नामावली कतिसँग छ त ? पहिलो भागमा प्रस्तुत गरेका छौँ । यो दाेस्राे रिपाेर्टमा भने नागरिक कुन पार्टीलाई रुचाउँछन् भन्ने विषयमा फिल्ड सर्वेक्षण नतिजा पस्किएका छौँ । अघिल्लो अंकमा नै हामीले उल्लेख गरिसकेका छौँ, मतदान गर्न उमेर पुग्ने समूह अर्थात् १८ वर्ष उमेर नाघेका नागरिकमा गरिएको सर्वेक्षणका आधारमा यो नतिजा प्रस्तुत गरिएको छ ।
सर्वेक्षणले केही रोचक नतिजासमेत देखाएको छ । जसअनुसार बालिग नागरिकमध्ये २४ प्रतिशतले कुनै पनि पार्टी मन नपराउने गरेको पाइएको छ । दलहरूमध्ये सबैभन्दा बढी नेपाली कांग्रेसलाई रुचाएका छन् । कांग्रेस रुचाउनेको प्रतिशत ३१ छ । त्यसपछिको ठूलो संख्या कुनै पनि पार्टी मन पर्दैन भन्नेको छ । त्यस्तो प्रतिशत २४.६ पाइएको छ । त्यसपछि धेरै मन पराइएकोमा नेकपा एमालेको १६.७ प्रतिशत छ ।
माओवादी केन्द्र ठीक छ भन्ने र राप्रपा ठीक छ भन्ने संख्या समान देखिएका छन् । यस्तो प्रतिशत समान ६.१/६.१ छ । त्यस्तै, जनता समाजवादी, विवेकशील साझा, लोकतान्त्रिक समाजवादी र नेकपा समाजवादीको प्रतिशत क्रमश: २.८, २.५, २.५ र १.२ छ ।
कुन उमेर समूहलाई कुन पार्टी मनपर्छ ?
जम्मा सर्वेक्षणकर्तामध्ये दलहरूलाई मन पराउने ७६ प्रतिशतलाई शतप्रतिशत आधार मानेर मुख्य रुचाइएका पुराना पार्टी नेपाली कांग्रेस, एमाले र कांग्रेस/एमालेबाहेकका पार्टी रुचाउने संख्या गरी तीन भागमा विभाजन गरिएको छ । जसमध्ये २१.४ प्रतिशत १८ देखि २३ वर्ष उमेर समूहका, ४५.७ प्रतिशत २३ देखि ४० वर्ष उमेर समूहका र ४१ वर्षमाथिका ३२.८ प्रतिशत छन् ।

पाको समूहलाई कांग्रेसको भर
सर्वेक्षणमा सहभागी ३२.८ प्रतिशतको संख्यालाई शतप्रतिशत आधार मान्दा ४१ वर्षमाथिका अर्थात् पाको समूहले कांग्रेसलाई मन पराएको देखिएको छ । त्यसमध्ये कांग्रेस रुचाउनेको प्रतिशत ५०.३ देखिएको छ ।
त्यस्तै, एमाले रुचाउने १९.९ र कांग्रेस एमालेबाहेकका दल रुचाउनेको प्रतिशत २९.८ छ । यो तथ्यले पाको उमेर समूहले कांग्रेसलाई रुचाएको पाइएको छ ।
१८ देखि २३ वर्ष उमेर समूह कांग्रेस एमालेको विकल्प खोज्छ
१८ देखि २३ वर्षको उमेर समूहमध्ये कांग्रेस एमालेबाहेकको पार्टी रोज्नेको संख्या धेरै देखिएको छ । यद्यपि तीमध्ये धेरैको मतदाता परिचयपत्र छैन ।
तर, पार्टी कुन मन पर्छ भन्ने सवालमा त्यो उमेर समूहले विवेकशील साझासहितका अन्य दलहरू रोजेको छ । यो उमेर समूहमध्ये कांग्रेस/एमालेबाहेकका दल मन पराउनेको प्रतिशत ३९ छ । त्यस्तै, एमाले र कांग्रेस मन पराउनेको प्रतिशत ३१.४ र २८.८ छ ।
युवाले कुन पार्टी रुचाउँछन् ?
सर्वेक्षणमा भाग लिएको समूहमध्ये २४ देखि ४० वर्ष उमेर समूहको ४२.१ प्रतिशत संख्याले नेपाली कांग्रेसलाई रुचाएको पाइएको छ । त्यस्तै, २१.८ प्रतिशतले एमाले र ३६.१ प्रतिशतले कांग्रेस/एमालेबाहेकका दललाई रुचाएको पाइएको छ ।
नोट : 'कुन समूहले रुचाउँदैन कुनै पनि पार्टी ?' सर्वेक्षण र स्टोरी भोलि प्रस्तुत गरिनेछ)
सर्वेक्षण तथा तथ्यांक विश्लेषणको विधि
- (विभिन्न चार समूह बनाएर काठमाडौंका विभिन्न सार्वजनिक क्षेत्रमा सर्वेक्षेणकर्ता पठाइएको थियो । चार समूह बनाएर पठाइएकोमा समूह १ ले २८४, २ मा २०५, ३ मा १६४ र ४ मा ७२ जनामा सर्वेक्षण गरिएको थियो ।
- सर्वेक्षणमा भाग लिएकामध्ये उमेरका आधारमा ३ समूहमा विभाजन गरिएको छ । जसअनुसार अघिल्लो निर्वाचनमा उमेर नपुगेको हुन सक्ने भएकाले १८ देखि २३ वर्ष उमेर समूह, सरकारले १८ देखि ४० वर्षको उमेर समूहलाई युवा मानेका कारणले २३ देखि ४० वर्ष उमेर समूह र ४१ वर्षमाथिको अर्को उमेर समूह भनेर विभाजन गरिएको थियो । सर्वेक्षणमा १८ वर्ष उमेर नपुगेका नागरिकलाई सहभागी गराइएको थिएन ।
- सार्वजनिकस्थलको रूपमा वाणिज्य बैंकमा पुगेका सेवाग्राही, सेवाग्राहीको भिड हुने स्थान यातायात कार्यालयबाहिर लाइनमा बसेका नागरिक, पार्क क्षेत्र, बागबजार, पुतलीसडक, न्युरोड तथा डिल्लीबजारमा भेटिएका उपभोक्ताले सर्वेक्षणमा भाग लिएका थिए ।
- उमेरगत रूपमा कुनै पनि पार्टी मनपर्दैन भन्ने ७३३ मध्ये १८२ जनाको सूची हटाएर १८ देखि २३ वर्ष उमेर समूहका ११८ जना, २४ देखि ४० वर्ष उमेर समूहका २५२ र ४१ वर्षमाथिका १८१ जना सर्वेक्षणमा सहभागीकर्ताको संख्या राखिएको छ । सम्बन्धित अंकलाई शतप्रतिशत मानेर कांग्रेस, एमाले र कांग्रेस/एमालेबाहेकका पार्टी रुचाउनेको प्रतिशत निकालिएको छ ।)
प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८ ०६:०७