सञ्चितिमा निरन्तर चाप परेपछि नेपाल राष्ट्र बैंकले एकपछि अर्को कदम चालेको छ । विदेशबाट प्रवाह हुने रकम बढाउने र नेपालबाट विदेशमा जाने रकम घटाउने नीति राष्ट्र बैंकले अघि सारेको छ ।
विदेशी विनिमयको सञ्चिति ७ महिनाको वस्तु तथा सेवालाई पुग्ने गरी मात्रै बाँकी रहेपछि राष्ट्र बैंकले एकपछि अर्को कदम चालेको हाे । गत कात्तिकबाट यस्तो पहल सुरू गरे पनि सञ्चितिको अभाव भने घटेकाे छैन ।
आइतबारबाट मात्रै सुनको आयातमा प्रतिदिनको कोटा २० केजीबाट झारेर १० केजीमा सीमित गरेको छ ।
सुनको आयात कडाइले कति रोकिन्छ ?
अब व्यवसायीहरूले बैंकबाट प्रतिदिन १० केजी मात्रै सुन पाउनेछन् । यसको अर्थ महिनामा औषत २१० केजी सुन घट्ने छ । यसअघि राष्ट्र बैंकले प्रतिदिन २० केजी सुनको कोटा दिएकोमा चालु आर्थिक वर्षको ७ महिनासम्मको तथ्यांक अनुसार औषत १७ केजी आयात भएको छ ।
चालु वर्षको साउनदेखि माघसम्म नेपालमा ३ हजार ७ सय ३१ केजी सुन, २५ अर्ब ७९ करोड ३८ लाख रुपैयाँ बराबरको आएको छ । प्रतिमहिना ३ अर्ब ६८ करोड रुपैयाँको सुन आयात भएकोमा परिणाको हिसावले आधा घटाइए पनि मूल्यको हिसावले भने करिब २० प्रतिशत मात्रै कम आयात हुने देखिन्छ ।
पछिल्लो एक महिना अन्तर्राष्ट्रिय बजारमा सुनकाे मूल्य प्रतिऔँश १३१ डलर बढेको छ । नेपाली बजारमा २२ हजार रुपैयाँले बढेको छ । यसअघि १३ केजी सुन किन्नका लागि आवश्यक पर्ने औषत रकम आइतबारको मूल्यलाई आधार मान्ने हो भने अहिले जम्मा १० केजी मात्र किन्न सकिन्छ ।
आयात रकममा करिब मासिक १ अर्ब रुपैयाँ घट्ने देखिए पनि अहिलेको व्यवस्थाअनुसार प्रतिमहिना ५ अर्ब रुपैयाँसम्मको सुन आयात हुन सक्नेमा अब अधिकतम साढे २ अर्ब बराबरको आयात हुने देखिन्छ । समग्रमा सञ्चितिमा पर्न सक्ने थप चापलाई मध्यनजर गरेर राष्ट्र बैंकले यस्तो कदम चालेको हाे ।
व्यवसायी भन्छन् : व्यवसाय त चौपट हुन्छ तर राष्ट्र नै अप्ठेरोमा परेपछि के गर्ने
व्यवसायीहरूले सुनको आयात कोटा घटाएपछि समग्र व्यावसायमा असर पार्ने गुनासो गरेका छन्। अहिले सरकारले दिएको २० केजी सुनको कोटाबाट पनि माग बराबरको पूर्ति गर्न नसकेको उनीहरूको गुनासो रहेको छ ।
नेपाल सुनचादी व्यवसायी महासंघले बैशाख लागेसँगै सुनको कोटा बढाउनुपर्ने अवस्था आउनेमा उल्टो घटाएको जनाएको छ ।
महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने कडाइ गर्दा चोरी तस्करी बढ्ने सक्ने बताउँछन् । 'आयातको कोटा घटाउनुले व्यवसायमा त निकै प्रभाव पार्छ । तर, राष्ट्र नै अप्ठेरोरोमा परेपछि के गर्ने ?', उनले भने, 'आयात कडाइ गर्दा चोरी तस्करी बढ्ने र राजस्व गुम्ने डर पनि हुन्छ । सरकार थप चनाखो हुन आवश्यक छ ।'
यस्ता छन् अन्य ३ उपाय
१४ सय वस्तुको आयातमा कडाइ
राष्ट्र बैंकले करिब ४७ हार्मेनिक कोडका १४०० वस्तुकाे आयातलाई निरुत्साहत गर्ने उद्देश्यले आयात कडाइ गरेको छ । पुस ५ देखि लागू हुने गरी ४०० वस्तुको आयातमा कडाइ गरिएकोमा २६ माघदेखि लागू हुनेगरी थप एक हजार वस्तु थपेर १४ सय वस्तुको आयातलाई निरुत्साहित गरिएको छ । जसको मासिक आयात दर मासिक ४२ अर्ब रुपैयाँ रहेको छ ।
जसमा ११ सय वस्तुको आयातमा शतप्रतिशत नगद मार्जिन वा १ लाख रुपैयाँको सामान आयात गर्नुपर्नेछ भने पहिले नै १ लाख रुपैयाँ बैंकमा राख्नुपर्ने नीति लिएको छ । थप ३०० वस्तुको आयातमा ५० प्रतिशत नगद मार्जिनको व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले बैंकमार्फत दिइने ऋणलाई कडाइ गर्न खोजे पनि सुनमा जस्तै अन्य वस्तुमा भने राष्ट्र बैंक स्वयमले कोटा तोक्न सक्दैन । यद्यपि सरकारले पनि राष्ट्र बैंककै नीतिको कारण आयातमा कमि आउने आँकलन गर्दै परिणात्मक बन्देजको नीति भने अघि सारेको छैन ।
भिजिट भिसामा कडाइ, डलर सटही घटाइयो
विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि विदेश जानका लागि चाहिने विदेशी मुद्रामा १४ पुसबाट नै कडाइ गरिएको थियो ।
यसअघि विदेश भ्रमणमा जाँदा हरेकपटक १५ सय डलर दिने गरिएकोमा नयाँ निर्देशन जारी गर्दै वर्षमा प्रति राहदानी दुई पटक मात्र सटही सुविधा दिन निर्देशन दिएका थिए ।
एकातर्फ भिजिट भिसामा नै जान कडाइ गरिएको छ, भने राष्ट्र बैंकले डलर कार्डमार्फत मात्रै रकम लैजान आग्रह गरेको छ । मौखिक रूपमा राष्ट्र बैंकले प्रति राहदानी २५० डलर मात्रै नगद दिन आग्रह गरेको छ ।
रेमिट्यान्स पठाउँदा धेरै व्याज, डलर खाता खोल्न सकिने
गत पुस महिनाबाट रेमिट्यान्सबाट आएको रकम निक्षेपमा जम्मा गर्ने तथा बैंकिङ च्यानलबाट पैसा पठाउन प्रोत्साहन गर्न भन्दै रेमिट्यान्स निक्षेपमा एक प्रतिशत बढी व्याज पाइने व्यावस्था गरेको थियो ।
यसको अर्थ अहिले सामान्य मुद्दति निक्षेपमा ११.३ प्रतिशत व्याज दिइएकोमा छ भने रेमिट्यान्स निक्षेपमा १२.३ प्रतिशत व्याज रहेको छ । तर, व्यवस्थित नगर्दा बैंकहरूले नक्कली रेमिट्यान्सको रुपमा निक्षेप तानेको बैंकरहरूको गुनासो छ ।
गैरआवासी नेपालीहरू (एनआरएन) हरूलाई नेपाली बैंकहरूमा विदेशी मुद्रामा खाता खोल्न सकिने व्यवस्था पनि गरिएको छ ।
अमेरिकी डलर, पाउण्ड स्टर्लिङ, युरो, अस्ट्रेलियन डलर, चाइनिज युआन र जापानिज येनमा खाता खोल्न सकिने व्यवस्था गरेको छ । यस प्रकारको खातामा अमेरिकी डलर पाँच हजार वा सो बराबरको परिवतीय विदेशी मुद्रा न्यूनतम मौज्दात कायम हुनुपर्ने व्यवस्था गरिएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८ २०:४१