चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेपाल धितोपत्र बोर्डमा सूचिकृत भएका कम्पनीहरूको संख्या २ सय २५ छ । यसरी सूचिकृत कम्पनीहरूको धितोपत्रको बजार पुँजीकरण झण्डै ४० अर्ब रुपैयाँको हाराहारीमा छ । लगानीकर्ताको संख्या पनि ४५ लाखको हाराहारीमै छ ।
गत आर्थिक वर्ष २०७७/७८ शेयरबजारका लागि सुखद बनिदिँदा नेप्से सूचकले ३२ सयको नयाँ रेकर्ड कायम गर्न पुग्यो भने कारोबार २२ अर्बसम्म पुग्यो । लगानीकर्ताको संख्या पनि यसै वर्ष सर्वाधिक बढ्न पुग्यो । तर, लगानीकर्ता र बजार पुँजीकरणजस्तो कम्पनी सूचीकरण हुने प्रक्रिया नबढे पनि सूचिकृत कम्पनीको शेयरमूल्यमा भने ठूलै अन्तर आएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार धितोपत्र बजारमा सूचिकृत कम्पनीमध्ये चार कम्पनी सबैभन्दा महँगो शेयर भएका कम्पनीहरू छन् । जसमा केही वर्षअगाडि थोरै रकम लगानी गर्ने लगानीकर्ताहरूसमेत आज लाखौँ रुपैयाँबराबरको सम्पत्ति बनाउन सफल बनेका छन् ।
नेप्सेका अनुसार सबैभन्दा महँगो शेयरमूल्य भएका कम्पनीहरूमा युनिलिभर, बोटलर्स नेपाल तराई, राष्ट्रिय बीमा कम्पनी, हिमालयन डिस्टिलरी र महिला लघुवित्त वित्तीय संस्थालगायत छन् । जसको शेयरमूल्य ३ हजारदेखि १९ हजारसम्म छ । यीमध्ये सर्वाधिक महँगा चार कम्पनीको शेयरमूल्यमा आएको उतारचढाव र लगानीकर्ताले कमाएको नाफाबारे चर्चा गरौँ ।
युनिलिभर नेपाल लिमिटेड
२०१२ सालमा ५ हजार प्रतिकित्ता रहेको युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्य आजको दिनमा १९ हजार रुपैयाँ प्रतिकित्ता छ । यो नै धितोपत्र बजारको सबैभन्दा महँगो शेयरमूल्य भएको कम्पनी हो । आजभन्दा १० वर्षअगाडि प्रतिकित्ता ५ हजार रुपैयाँबाट उकालो लागेको युनिलिभरको शेयरमूल्यले अधिकतम ३८ हजारसम्म उचाइ चुमेको पाइन्छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार यो कम्पनीको शेयरमूल्य २०१६ मा सर्वाधिक बढेर झण्डै ३८ हजार प्रतिकित्ताको दरमा पुगेको थियो । यसरी सन् २०१२ मा ५० हजार लगानी गर्ने लगानीकर्ताले लगानीको ४ वर्षमा नै ४ लाख रुपैयाँबराबरको सम्पत्ति बनाइसकेका थिए ।
यद्यपि त्यसयता भने निरन्तर बजार ओरालो नै लागेको पाइन्छ । २०१६ मा सर्वाधिक ३८ हजार प्रतिकित्ता पुगेको शेयरमूल्य २०२२ मा आइपुग्दा भने १९ हजार रुपैयाँ प्रतिकित्तामा झरिसकेको छ ।

यो एक दशकमा शेयरमूल्यमा देखिएको उतारचढावलाई बेवास्ता गर्दै समग्रमा १० वर्षको नाफालाई मात्रै हिसाब गर्ने हो भने पनि लगानीकर्ताको ५० हजारको लगानी लाखौँ रुपैयाँमा पुगिसकेको छ । जस्तो तपाईंले १० वर्षअगाडि १० कित्ता शेयर ५ हजार प्रतिकित्ताका दरले किन्दा ५० हजार रुपैयाँ लगानी गर्नुभएको थियो भने १० वर्षपछि अर्थात् हाल त्यति कित्ता मात्रैलाई जोड्दा पनि तपाईंको सम्पत्ति ३ लाख ८० हजारसम्म पुगिसकेको हुन्छ । यसमा वार्षिक रूपमा कम्पनीले दिने बोनस तथा नगद लाभांशलाई जोड्ने हो भने तपाईंको सम्पत्ति अझै बढ्न जान्छ ।
समग्रमा हेर्दा युनिलिभर कम्पनीका लगानीकर्ता यो दश वर्षमा हजारबाट लखपतिमा परिणत हुन पुगेका छन् ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेड
आजको दिनको बजारलाई हेर्ने हो भने महँगो शेयर भएका कम्पनीहरूमा दोस्रो स्थानमा आउँछ ‘राष्ट्रिय बीमा कम्पनी’ । यो कम्पनीको शेयरमूल्य आइतबार मात्रै प्रतिकित्ता १६ हजार ९ सय २० रुपैयाँ छ । झण्डै छ वर्षअगाडि यसको मूल्य प्रतिकित्ता २३ सय ३० रुपैयाँ मात्र थियो ।
धितोपत्र दोस्रो बजारमा कारोबारमा आएबाटै निरन्तर उकालो लागेको शेयरमूल्यले सन् २०२१ मा अधिकतम २४ हजार रुपैयाँसम्म उचाइ छुन पुगेको थियो । यद्यपि पछिल्लो ६ महिनामा यो कम्पनीको शेयरमूल्य झण्डै ८ हजार रुपैयाँले घटिसकेको छ ।

पछिल्लो छ महिनामा शेयरमूल्य निरन्तर घटे पनि लगानीकर्ता भने नाफामा नै छन् । जस्तो उदाहरणको रूपमा तपाईंले यदि सन् २०१५ मा १० कित्ता शेयरमा २३ सय ३ रुपैयाँ लगानी गर्नुभएको थियो भने तपाईंको सम्पत्ति सन् २०२१ मा आइपुग्दा बढेर २ लाख ४० हजार रुपैयाँ पुगेको देखिन्छ । आजको दिनसँग तुलना गर्ने हो भने पनि ६ वर्षअगाडि १० कित्तामा २३ सय रुपैयाँ गरेको लगानी अहिले बढेर १ लाख ७० हजार रुपैयाँसम्म पुगिसकेको छ । यसमा वार्षिक रूपमा लगानीकर्तालाई कम्पनीले दिने लाभांश भने जोडिएको छैन ।
बोटलर्स नेपाल (तराई)
सन् २०१२ सम्म १ हजार प्रतिकित्ता रहेको बोटलर्स नेपाल (तराई) को शेयरमूल्य अहिले झण्डै १३ हजार ६० रुपैयाँ प्रतिकित्ता छ । यो १० वर्षको अन्तरालमा बोटलर्स नेपाल (तराई) कम्पनीको अधिकतम शेयरमूल्य प्रतिकित्ता १७ हजार रुपैयाँसम्म पुगेको देखिन्छ । पुस महिनामा १७ हजारको उचाइ लिएको कम्पनीको शेयरमूल्य त्यसयता भने केही तल ओर्लिंदै १३ हजारसम्ममा आइपुगेको हो ।

नगद र बोनस लाभांशबाहेक मात्रै पनि यो १० वर्षमा लगानीकर्ताले १० कित्ता शेयरमा १० हजार लगानी गरेबापत १ लाख ६० हजारभन्दा बढी नाफा कमाइसकेका छन् ।
हिमालयन डिस्टिलरी
हालचालैको कारोबारलाई लिने हो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीहरूको अग्रपंक्तिमा नै आउँछ हिमालयन डिस्टिलरी । यो कम्पनीका लगानीकर्ता पनि छोटो समयमा मनग्य नाफा कमाउने लगानीकर्तामध्येमा पर्छन् । सन २०१६ सालमा १ सय २६ रुपैयाँ प्रतिकित्ता मूल्य रहेको हिमालयन डिस्टिलरीको शेयरको मूल्य आज ४ हजार प्रतिकित्ताको दरमा खरिदबिक्री भइरहेको छ ।

अधिकतम मूल्य ५ हजार रुपैयाँ प्रतिकित्तामा पुगे पनि ओरालो लागेर ४ हजारमा कारोबार भइरहँदा धितोपत्र बजारमा सूचिकृत कम्पनीहरूमध्येकै महँगो शेयर भएका कम्पनीको चौथो स्थानमा यो कम्पनीलाई लिन सकिन्छ ।
यो कम्पनीमा लगानी गर्ने लगानीकर्ताले पनि अहिले राम्रो नाफा कमाइरहेका छन् । जस्तो सन् २०१६ मै १ हजार रुपैैयाँ लगानी गर्ने लगानीकर्ताको सम्पत्ति सन् २०२२ सम्ममा ४० हजारभन्दा धेरै नाफा कमाइसकेका छन् । त्यस्तै, कम्पनीले नगदसहित बोनस शेयर पनि लगानीकर्तालाई दिँदै आएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८ १७:३६