चिन्तकहरूका अनुसार मानव प्रजातिको अनौठो एवम् सर्वोत्कृष्ट आविष्कार हो, भाषा । हुन पनि भाषा एउटा यस्तो औजार हो, जसले मानवजातिलाई वस्तुको मात्र नभई विचारको पनि विनिमय गर्ने बाटो खोलिदिएको छ ।
त्यसो त हाल संसारभर ६ हजारभन्दा बढी भाषा बोलिन्छन् । तर, तीमध्ये सबै भाषाका लिखित स्वरूप भने छैनन् । भएजति भाषाका लिखित स्वरूप यदि हुन्थ्यो भने सबै भाषाका आ–आफ्नै लिपि हुने थिए ।
लिपिको विमान चढेर नै आज भाषा संसारभर फिँजिएको छ । लिपि भएकै कारण आज हजारौँ वर्षअघि लेखिएका दस्तावेज र अभिलेखलाई संग्रह गरी पढ्न सकिएको छ । बुझ्न/बुझाउन सकिएको छ ।
यद्यपि लिपि यति सहजै विकास भएको भने होइन । ‘कथ्य रूपमा रहँदै आएको भाषा समयानुक्रमको विकाससँगै चित्रात्मक अनि सांकेतिक स्वरूपमा लेखिन थालियो । ती संकेतहरूलाई व्यवस्थित गर्दै जाने क्रममा लेख्य परम्पराको विकास हुन पुगेको हो’, नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका सहायक प्राध्यापक डा. महेश आचार्य बताउँछन् ।
लेखन परम्परा सुरु हुनुअघि मानिसहरू वस्तुका आकृति दुरुस्तै बनाएर बुझ्ने/बुझाउने प्रयास गर्थे । खासगरी यस्ता चित्रमय चिह्नहरू धार्मिक र सार्वजनिकस्थलहरूमा प्रयोग हुन्थे । जसलाई हाइरोग्लाफिक भनिन्छ । पछि चित्रात्मक रूपमा लेख्य परम्परा विकास हुँदै गयो, जसलाई क्युनिफर्म भनिन्छ । त्यसपछि भने लेख्य अभ्यास शब्दात्मक (लोगोग्राफिक) एवम् ध्वन्यात्मक (फोनोग्राफिक) रूपमा विकास भयो र आधुनिक लिपिको विकास भयो ।

लिपि विकास तालिका । तस्वीर स्रोत : सुशील श्रेष्ठ
चिन्तकहरू भन्छन्, ‘भाषापछि, मानव प्रजातिको अर्को चामत्कारिक आविष्कार हो, लिपि ।’ इतिहासविद् एवम् लिपिविज्ञ महेशराज पन्त भन्छन्, ‘दक्षिण एसियाको सबैभन्दा प्राचीन् लिपि नै ब्राह्मी लिपि हो ।’
त्यति मात्रै होइन, ब्राह्मी लिपि नै अन्य लिपिको जननी भएको लिपिविज्ञ श्यामसुन्दर राजवंशी बताउँछन् । उनी भन्छन्, ‘ब्राह्मी लिपिबाट नै उत्तर भारतीय लिपिहरू देवनागरी, बङ्गाली, उडिया, गुजराती र दक्षिण भारतीय लिपि तमिल, तेलगु, कन्नाडा र मलायलम विकास भएका हुन् ।’
ब्राह्मी लिपिको सुरुवात कहाँ र कसरी भयो भन्नेबारे यकिन तथ्य त छैन । तर, सृष्टिकर्ता ब्रह्मा नै यस लिपिको प्रतिपादक भएको धार्मिक कथन व्याप्त छ ।
पूरा तत्त्व विभागबाट प्रकाशन हुने ‘प्राचीन् नेपाल’को २५औँ अंकमा लिपिविज्ञ शंकरमान जोशीले लेखेका छन्, ‘संसारभर चलेका लिपिमा ६४ लिपिको नाम ललितविस्तर नामक (बौद्ध) ग्रन्थमा वर्णित छ ।’ जसमा लिपिको क्रमसंख्याअन्तर्गत पहिलो लिपिमा ब्राह्मी लेखिएको छ ।
बायाँबाट दायाँतिर लेखिने यस लिपिका विषयमा भने विभिन्न विद्वान्हरूको विभिन्न मत रहेको शंकरमानले विवेचना गरेका छन् ।
‘बेबर, टेलर तथा बुल्हरहरूको भनाइअनुसार ब्राह्मी लिपि इसापूर्व आठौँ शताब्दीतिर पश्चिमी मिश्र तथा मेसोपोटामियामा पाइने प्राचीन् लिपिबाट आएको हो भन्ने छ । हेलेबीको भनाइअनुसार ब्राह्मी लिपिचाहिँ अरमायक, खरोष्ठी र युनानी लिपिको मिश्रणबाट बनेको भन्ने छ । डब्ल्यू. डेके तथा आई. टेलरले भने भारतीय लिपिलाई दक्षिण सेमेटिकबाट आएको भनी मान्दछन् । बेबर तथा बुल्हरले त्यस कुरालाई खण्डन गर्दै फिनिसियन अथवा उत्तरी सेमेटिक लिपिबाट आएको भनी मत स्थापना गरेका छन् । भारतीय प्राचीन् लिपिमालाका लेखक गौरीशंकर हीराचन्द ओझाले बुल्हरको कुरालाई कल्पित सिद्ध गर्दै लिपिको तुलनाद्वारा खण्डन फिनिसियन (उत्तरी सेमेटिक) लिपिका २२ अक्षरमा केवल एक अक्षर मात्र ब्राह्मी लिपिसँग सादृश्य मिल्छ भनी आफ्नो तर्कलाई राम्रोसँग प्रतिपादन गरेका छन् । उनको भनाइमा यदि बुल्हरको रीतलाई अनुसरण गर्ने हो भने चक्र तथा सरल रेखाका टुक्राटाक्री लिएर जहाँ, जुनसुकै लिपि पनि बनाउन सकिन्छ । कनिगहमको विचारचाहिँ भारतीय लिपि भारतीय वीजाक्षरबाट उत्पन्न भएको हो भन्ने छ । श्री एबी बालबाल्करको विचारचाहिँ इसापूर्वको सातौँ, आठौँ शताब्दीतिर महेश्वर ब्राह्मी भन्ने एक जना थिए, उनी डमरुको तालमा नाच्दा (?) निस्केको हो भन्ने छ ।’
यसरी ब्राह्मी लिपिका विषयमा विभिन्न विद्वान्हरूले व्यक्त गरेका विभिन्न विचारधाराबारे सप्रसंग विवेचना शंकरमानले गरेका छन् । सुरुवात जहाँबाट जसरी नै भएको भए पनि दक्षिण एसियाकै सबैभन्दा प्राचीन् मानिएको ब्राह्मी लिपि हाल नेपालमा भने केवल तीनवटा अभिलेखमा पाइन्छ ।
लुम्बिनीको अशोक स्तम्भ, कपिलवस्तु, निग्लिहवाको अशोक स्तम्भ र चाबहिलको धन्दो चैत्यमा भेटिएको इँटामा गरी हालसम्म केवल तीनवटा अभिलेखमा ब्राह्मी लिपि उत्कीर्ण भएको फेला परेका छन् ।

लुम्बिनीको अशोक स्तम्भ । तस्वीर स्रोत : सुशील श्रेष्ठ
लुम्बिनीको अशोक स्तम्भ
पाली भाषा र ब्राह्मी लिपिमा लेखिएको ९० अक्षर र २६ शब्दरूपी अभिलेखले युक्त लुम्बिनीको अशोक स्तम्भ नेपाली इतिहासमा कोसेढुंगा सावित भएको इतिहासविद्हरूको भनाइ छ ।
मौर्य सम्राट अशोकले २४९ इ.पू.मा ठड्याएको अभिलेखसहितको स्तम्भले शाक्यमुनि बुद्ध लुम्बिनीमा जन्मिएको र भगवान् बुद्ध जन्मिएको चिनोरूपी ढुंगामा अशोक स्वयम्ले पूजा गरी सो स्तम्भ खडा गरेको विवरण लुम्बिनीको अशोक स्तम्भमा उल्लेख भएको पुरातत्वविद वसन्त बिडारी बताउँछन् । विगत ३ दशकदेखि लुम्बिनीमा बसेर गौतम बुद्ध र बुद्धस्थलबारे खोज, अनुसन्धानमा क्रियाशील बिडारी भन्छन्, ‘त्यति मात्रै होइन, अशोकले लुम्बिनीमा आएर कर माफी गरिदिएको प्रसङ्ग पनि यस स्तम्भमा उल्लेख छ ।’

लुम्बिनीको अशोक स्तम्भमा ब्राह्मी लिपिमा लेखिएको अभिलेख । तस्वीर स्रोत : वसन्त महर्जन
देवानपियेन पियदसिन लाजिन वीसतिवसाभिसितेन
अगनआगाच महीयिते हिदबुधेजाते सक्यमुनीति
सिलाविगडभीचा कालापित सिलाथभेच उसपापिते
हिदभगवंजातेति लुंमिनिगामे उबलिकेकटे
अठभागियेच
अनुवाद : देवताहरूका प्रिय प्रियदर्शी (अशोक) राजा राज्यकालको बीसौँ वर्षमा आफैँ आउनुभयो । यहाँ शाक्यमुनि बुद्धको जन्म भएकाले (बुद्धजन्म) संकेतक शिलामा पूजा गरी यो शिलास्तम्भ स्थापना गर्नुभयो । यहाँ भगवान्को जन्म भएकाले गाउँको बलि (कर) घटाई आठौँ भाग मात्र कायम गर्नुभयो ।
(स्रोत : अशोक स्तम्भमा राखिएको क्याप्सन)
'झण्डै १२५ वर्षअघि भारतका विभिन्न भागहरूमा रेलवेको लिक निर्माणका लागि नेपालको तराईको चारकोसे झाडीको जंगल काटिँदै थियो । जंगल काटेर काठका मुढाहरू निकासी गर्ने क्रममा मजदुरहरूले जंगलभित्र ढुंगाको ठूलो स्तम्भ देखेपछि तत्कालीन (पाल्पाका) बडाहाकिम खड्गशमशेर हेर्न आइपुगे । केको स्तम्भ रहेछ भनी वरिपरिको माटो पन्छाउँदै गर्दा ठीक त्यसै बखत जर्मन पुरातत्व सर्वेक्षक डा. फुहरर त्यहाँ पुगेका थिए । फुहररको उपस्थितिमा ३ फिट तल थप खन्ने क्रममा अभिलेख भेटिएको थियो,' बिडारी बताउँछन् ।
सोही क्रममा सन् १८९६ डिसेम्बर १ मा अशोक स्तम्भको फोटो र अभिलेखको उतार डा. फुहररले लिए । सो उतार जर्मनी विद्वान् ब्राह्मी लिपि विशेषज्ञ इ. हुल्जलाई पढ्न लगाउँदा लुम्बिनी सोही ठाउँ भएको र अशोकद्वारा नै शिलास्तम्भ राखिएको प्रस्ट हुन आएको हो ।

निग्लिहवाको अशोक स्तम्भ । तस्वीर स्रोत : वसन्त महर्जन
निग्लिहवाको अशोक स्तम्भ
सन् १८९५ मा निग्लिहवास्थित अर्को अशोक स्तम्भ पत्ता लगाउने पनि डा. फुहरर नै हुन्, जसलाई तत्कालीन अशोक सम्राटले नै त्यहाँ ठड्याएका थिए ।
यद्यपि हाल त्यो स्तम्भ ढलेको अवस्थामा छ । स्तम्भ खास के कति कारणले ढलेको हो भन्नेबारे भने हालसम्म पनि खुल्न सकेको छैन । यद्यपि इस्वीको १३औँ शताब्दीमा कर्णालीका राजा रिपु मल्लले त्यस क्षेत्रको भ्रमण गर्दा नै ढलिसकेको उनले सो स्तम्भमा लेखेको अभिलेखबाट थाहा हुन्छ ।
‘गौतम बुद्धसँग सम्बन्धित विभिन्न ठाउँहरूको तीर्थयात्रा गर्ने क्रममा मौर्य सम्राट अशोक निग्लिहवास्थित कनकमुनि बुद्धको स्तुपको पनि दर्शन गर्न आइपुगेका थिए’, बिडारी भन्छन्, ‘यसअघि उनले आफ्नो राज्यारोहणको १४औँ वर्षगाँठमा निग्लिहवाको स्तुप मर्मत गर्नुका साथै दोब्बर ठूलो बनाइदिएका थिए भने २०औं वर्षगाँठमा आफैँ आई दर्शन गरेका थिए ।’ सोही विवरणसहित अशोकले निग्लिहवामा पनि एउटा स्तम्भ ठड्याउन लगाई उक्त अभिलेख कुँदाएका थिए ।

निग्लिहवाको अशोक स्तम्भमा ब्राह्मी लिपिमा लेखिएको अभिलेख । तस्वीर स्रोत : वसन्त महर्जन
कनकमुनि बुद्ध (कोनागमन)को नामसमेत उल्लेख गरिएको ब्राह्मी लिपिको सो अभिलेख यस प्रकार छ :
देवानं पियेन पियदसिन लाजिन
चोसवसा (भिसितेन) बुधस कोनाक
मनस थुवे द्वितीयं बढिते (बीसति व)
साभिसितेन च अतन आगा च महीयिते
(सिलाथवेच उस) पापिते
स्रोत :गन्तव्य लुम्बिनीको, वसन्त महर्जन
वास्तवमा लुम्बिनीमा तीनवटा अशोक स्तम्भ छन् । तीनवटामध्ये गोटिहवामा भएको शिलास्तम्भचाहिँ अधिकांश रूपमा फुटेको अवस्थामा रहेकाले अभिलेखमा ब्राह्मी लिपि भए/नभएको थाहा हुन नसकेको अध्येता वसन्त महर्जन बताउँछन् ।
चाखलाग्दो कुरा त के छ भने, लुम्बिनी र निग्लिहवामा पाइएका अशोकस्तम्भ लुम्बिनीका रैथाने ढुंगा होइनन् । न त मार्कर स्टोन नै त्यहाँको मौलिक ढुंगा हो । वसन्त बिडारी भन्छन्, ‘यी ढुंगा त अशोकले बनारसदेखि पर दक्षिण पूर्वमा रहेको बडगाउँस्थित चुनार नामक पहाडे खानीबाट ल्याएका थिए । म आफैँ पनि अध्ययनको क्रममा सो गाउँ पुगेर आएको हुँ ।’
लुम्बिनीमा जस्तो स्तम्भ अशोकले विभिन्न ठाउँस्थित आफ्नो साम्राज्यमा गाडेको देखिन आएको छ । हालसम्म नेपाल, भारत, पाकिस्तान र अफगानिस्तानमा गरी ४० वटा यस्ता अशोकस्तम्भहरू पत्ता लागेको बिडारी बताउँछन् । यस अर्थमा हेर्दा तत्कालीन समयमा अफगानिस्तानदेखि लिएर नेपालको तराईको भूभाग, बर्माको तल्लो भागदेखि दक्षिण भारतसम्मै अशोकको साम्राज्य थियो भन्ने बुझ्न सकिने बिडारीको निष्कर्ष छ ।
इतिहासविद् महेशराज पन्त पनि सोही मत राख्छन् । लुम्बिनीमा कर छुट गर्न अशोक स्वयम् आउनुले पनि सो संकेत गर्ने पन्तको भनाइ छ । यद्यपि यसै व्याख्यालाई लिएर इतिहासकार शुक्रसागर श्रेष्ठ र भिक्षु सुदर्शन महास्थविरले भने फरक मत राखेका थिए। सो प्रसंग कर नभएर अष्ठशील पालना सम्बन्धी भएको उनीहरूको दाबी छ ।
अशोककालीनभन्दा पुरानो ब्राह्मी लिपि हालसम्म नभेटिएको पन्त बताउँछन् ।

चाबहिलस्थित धन्दो चैत्यको ब्राह्मी लिपिमा लेखिएको इँटा । तस्वीर स्रोत : सुवास डंगोल
चाबहिलस्थित धन्दो चैत्यको इँटा
ब्राह्मी लिपिमा उत्कीर्ण भएका अशोककालीन स्तम्भबाहेक चाबहिलको धन्दो चैत्यमा पनि जीर्णोद्धार गर्ने क्रममा २०५९ सालमा ब्राह्मी लिपिमा लेखिएका दुइटा इँटा भेटिएका थिए । जहाँ ब्राह्मी लिपिमा ‘चारुवती थू प’ भन्ने अक्षरहरू कुँदिएको छ । साथै इँटाको सबैभन्दा माथि चक्र पनि छ ।
‘प्राचीन् नेपाल, अंक १५९’ जर्नलमा पुरातत्वविद् प्रकाश दर्नालले लेखेअनुसार इँटामा ब्राह्मी अक्षरमा चारुवती, त्यसको तल नेवारी भुजीमोलमा चारुवति धन्दे र अन्तिम लाइनमा नेवारी भुजीमोलमा हेतु प्रभा लेखिएको इँटा भेटिएको हो । इँटाको माथिल्लो भागमा दायाँबायाँ स्वस्तिक चिह्न र बीचमा चक्र चिह्न भएको उल्लेख गरिएको छ ।
हाल उक्त इँटा राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको छ ।
ब्राह्मी लिपिमा लेखिएको नै भए पनि सो लिपि १२ अथवा १३औँ शताब्दीताकाका हुन सक्ने भन्दै पूर्वलिच्छविकाल अर्थात् किराँतकालीन हुन सक्ने अनुमान सो जर्नलमा उल्लेख गरिएको छ । इतिहासविद् महेशराज पन्त पनि ब्राह्मी लिपिमै लेखिएको भए पनि उक्त चैत्यको लिपि ‘पोस्टअशोककालीन’ भएको दाबी गर्छन् । त्यसमाथि अन्य नेवारी लिपिसँगै उत्कीर्ण भएकाले पनि सो शंकाको सुविधा दिएको अध्येता बिडारी बताउँछन् ।
जर्नलका अनुसार राइट वंशावलीमा अशोकले आफ्नी छोरी चारुमतीको बिहे देवपट्टनको देवपालसँग गराइदिएको र उनै चारुमतीले पछि भिक्षुणी बनी बनाएको बिहारको नामबाट चाबहिल भएको भन्ने छ । वंशावलीअनुसार सम्राट अशोककी छोरी चारुमतीले बनाएको बिहारबाट चाबहिल भएको भनी स्तुपलाई मौर्यकालसँग जोड्न खोजेको देखिन्छ । तर, सो वंशावली इस्वी १८७७ मा पहिलो प्रकाशन भएको र उक्त कथनलाई प्रमाणित गर्ने बलियो आधार अहिलेसम्म नपाइएकाले चारुमती केवल किंवदन्तीमा बाँचेको देखिन आएको छ ।
त्यसो त अशोककी छोरी चारुमतीबारे कुनै पनि भारतीय साहित्यिक ग्रन्थमा कहीँ कतै उल्लेख भएको आजसम्म पाइएको छैन । इतिहासकार बाबुराम आचार्यले त अशोककी छोरी चारुमतीले बिहार बनाएको र वर्तमान चारु बिहार वा चाबहिल भन्ने कुरालाई मनगढन्ते कहानी नै भनेका छन् । ‘बरु तिब्बत जाने यात्रीहरूले पहिलो रात बिताउने अर्थात् पहिलो बास बस्ने बहिल (सानो बिहार) भएकाले नै यहाँको बहिल चाबहिल अर्थात् रात्रिबिहार भएको स्पष्ट छ । यस बिहारको चारुमतीसँग कुनै किसिमको सम्बन्ध रहेको देखिँदैन’, आचार्यले भनेका छन् ।
त्यसैले ब्राह्मी लिपिमा लेखिएको चैत्यको सो अभिलेखलाई हालसम्म पनि पर्गेल्न सकिएको छैन ।
काठमाडौं भ्याली इन्भेन्टरीका अनुसार धन्दो चैत्यलाई उपत्यकाको सबैभन्दा प्राचीन् स्थान भनिएको छ, जसको स्थापना तेस्रो इ.पू. देखाइएको छ ।
फरक ठाउँमा भेटिएका ब्राह्मी लिपिको संकेत
लुम्बिनीमा दुईवटा ब्राह्मी लिपि र चाबहिलको चैत्यमा ‘पोस्टअशोककालीन’ नै सही, ब्राह्मी लिपि पाइनुले आखिर के संकेत गर्छ ?
वंशावलीमा उल्लेख भएअनुसार अशोक काठमाडौं आएका त थिए । ‘तर, त्यतिबेलाको पुरातात्त्विक प्रमाण हालसम्म पनि कहीँ कतै पाइएको छैन । वंशावलीहरू त धेरैपछि लेखिएका हुन्’, पुरातत्त्वविद् वसन्त बिडारी भन्छन्, ‘पाटनमा अशोकले चार कुनामा चारवटा स्तुप बनाए त भनिन्छ । तर, ती अशोककालीन हुन् या होइनन् भन्ने थाहा पाउन उत्खनन नगरी थाहा हुँदैन ।’
उनी भन्छन्, ‘एउटा थुम्को देख्दैमा अशोककालको भनेर मान्नु भनेको धार्मिक दृष्टिकोणबाट चाहिँ ठीक पनि होला तर पुरातात्त्विक प्रमाण नभईकन हामीले त्यत्तिकै बोल्न मिल्दैन । मौर्यकालीन हुन् भन्ने वैज्ञानिक आधार हामीसँग छैन ।’ यसमा वैज्ञानिक अनुसन्धान र उत्खननका लागि पुरातत्त्व विभागले नेतृत्व लिर्नुपर्छ ।
बहस कम, विवाद बढी : लिपि अध्ययनमा छैन जनशक्ति
ब्राह्मी लिपिमा लेखिएको अशोककालीन शिलास्तम्भ फेला परेको एक शताब्दीभन्दा बढी भइसक्दा पनि ९० अक्षरको लुम्बिनीको अभिलेखको अर्थलाई लिएर विद्वान्हरूबीच केही वर्षअघिसम्म पनि मतमतान्तर विद्यमान नै थियो ।
लुम्बिनीको अशोक स्तम्भको तेस्रो लाइनको पहिलो शब्द ‘सिलाविगडभीचा’ शब्दावलीलाई लिएर मत बाझिएको थियो । तर, सन् १९९२ देखि १९९६ मा भएको मायादेवी मन्दिरको उत्खननले सो विवाद सल्टाएको बिडारी बताउँछन् । लुम्बिनी विकास कोष, पुरातत्त्व विभाग र जापानको बुद्धिस्ट फेडेरेसनको संयुक्त पहलमा भएको उक्त उत्खननमा जब बुद्ध जन्मस्मारक शिला अर्थात् ‘मार्कर स्टोन’ भेटियो, तब बहसले छलाङ मारेको उनी बताउँछन् ।
त्यसपछि विभिन्न चरणमा गोष्ठी भए । सन् १९९६ मा लुम्बिनी अन्तर्राष्ट्रिय सम्मेलन नै भयो ।
‘सिलाविगडभीचा’ को ‘विगडभी’लाई कसैले घोडा, कसैले सूर्यचन्द्र, कसैले मायादेवी, कसैले बुद्धको फिगर भनिरहेका थिए । तर, उक्त ढुंगा पाइसकेपछि भने सो ढुंगा बुद्ध जन्मेको चिह्नका रूपमा राखिएको एक चिनियाँ अध्येताले लेखेको थाहा हुन आयो । साथै, तेस्रो लाइनको ‘सिलाथभेज’ शब्दावलीमा अशोक आएर सो ढुंगा पूजा गरेको अर्थ निस्कियो । हाल सो व्याख्यामा सबैको एकमत छ’, बिडारी बताउँछन् ।
९० अक्षरको लिपिबारे भएको शताब्दीयौँ विवादले नेपालमा लिपिको बहस कम र विवाद बढी हुने छर्लङ्ग देखाइदिएको महेशराज पन्तको निष्कर्ष छ ।
पन्त भन्छन्, ‘नेपालमा लिपि पढ्न जान्नेको खडेरी छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत लिपि अध्यापकहरू नै लिपि पढ्न जान्दैनन् । लिपि पढ्न जान्ने जनशक्ति नै छैन ।’
हाल पुरातत्त्व विभागमा पनि केवल एक जना मात्र लिपिविज्ञ छन् ।
प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८ ०६:१८