सरकार गठबन्धनको छ । गठबन्धन माने टालाटुली बाटुली । पार्टी नाउँका पाँचवटा टाला छन्, विल्कुल फरक–फरक रङका । यिनै टाला जोडजोड गरी बनेको छ यो टालाटुली सरकार । पाँचमुखे यी टाला पाँचतिर फर्केका छन् । अल्पसंख्या, अल्पमत र अल्पक्षमता यी टालाको दुःखद विशेषता हो । यिनै अल्पहरूलाई निम्छरो सुपरग्लुले टाँसेर बनेको छ गठबन्धनको यो पाङदुरे सरकार ।
यी अल्पहरू आपसमा टाँसिदा गठे सरकार संख्यामा, मतमा र क्षमतामा पूर्ण, समग्र र सिङ्गो संरचना बनेको कदापि होइन । यो त केवल स्वार्थी अल्पहरूको प्राविधिक थुप्रीकरण हो । जब एक्लैको संख्या, मत र क्षमता नपुग्नेहरू तालुमा आलु फलेर गठबन्धनका नाउँमा सत्तासीन हुन पुग्छन्, तब सत्तामा सुरु हुन्छ गाईजात्रा, जस्तो अहिले भइरहेछ ।
गठबन्धनको सरकार क्षुधाग्रस्त भागवण्डे सरकार हो । यो भागवण्डाको प्रयोजन हो, यो दुर्लभ मौकामा खानु, खानु र खानु । गठे पार्टनरहरूमाझ सत्ताको जेको पनि भाग लाग्छ । जुँगा हेरी भाग । झुसिलकिरे जुँगेलाई ठूलो भाग, हिटलरी जुँगेलाई सानो भाग । यी टालाटुलीहरूलाई प्रशासनिक पद भाग लाग्छ । यिनलाई कूटनीतिक पद भाग लाग्छ । यिनलाई संवैधानिक पद भाग लाग्छ । यिनलाई शैक्षिक–प्राज्ञिक पद भाग लाग्छ । यिनलाई राष्ट्रियसभाका पद भाग लाग्छ । यिनलाई प्रदेश सरकार र स्थानीय सरकारका पद भाग लाग्छ । गठबन्धमा यी टालाटुली नारिएकै वास्तवमा पद हत्याएर भाग खान हो । ल हेर्नोस्, क्या स्वादले खाइरा’छन् !
गठबन्धनमाझ जब भाग लाग्छ, भाग पाउने दलको सर्वेसर्वामातहतका भत्तभक्तिनीलाई भाग बाँड्छ । यो वितरण कुनै वैध मापदण्डको आधारमा होइन, सर्वेसर्वाको तजबिजी काइदाले हुन्छ । यो वितरण व्यक्तिको क्षमता, योग्यता, योगदान र इमान हेरी हुँदैन, याचकको चाटुकारिता र सर्वेसर्वाको कृपा हेरी हुन्छ । र, गठबन्धन सरकार बन्छ एकाध अपवादबाहेक विशुद्ध टीकेहरूको एक तालको झुण्ड । आँखैअगाडि छ त झुण्ड !
०००
गठबन्धनमा कम्युनिस्ट हुँ भन्न नछाड्ने टुक्रे दलहरू पनि छन् । यी छन् खासमा एक, दुई, तीन मात्र होइन, जम्मा साढे तीनवटा । जब कानमा चुनावको चर्चा छ्यास्स पर्छ, यी टुक्रे दलका सर्वेसर्वा झसङ्ग हुन्छन् । यी उभिएको दुर्बल राजनीतिक धरातल हल्लिन्छ । र, यिनको मूल सातो जान्छ । अनि अत्ताल्लिँदै यी भन्छन्, ‘गुहार, गुहार ! हाम्रो यो राम्रो गठबन्धन परैसम्म कायम रहोस् । पर, निकै पर, तीनोटै चुनावसम्म । अझ त्यसभन्दा पनि परसम्म । ओलीकृत ठोरीका रामको कृपादृष्टि भए प....र अनन्त कालसम्म ।’
गठे पार्टनरहरूका जिब्रामा गठबन्धनको निरन्तरको कामना मन्त्रजस्तो भएको छ । धर्मान्ध पुरेतले पलपल जप्ने रामनामी मन्त्रजस्तो । पुरेतले जसरी रामनामी मन्त्र जप्छ, यी गठे पार्टनर त्यसैगरी गठनामी मन्त्र जप्दा छन् । जसरी धर्ममा राम नाम सत्य हो, बाँकी सब मिथ्या हो, त्यसैगरी गठे राजनीतिमा गठबन्धन सत्य हो, बाँकी सब मिथ्या हो ! अघिअघि कम्युनिस्टहरू मार्क्सवाद–लेनिनवाद जप्थे । त्यो जपना अहिले अतीतको कथा भयो । र, राजनीतिक धन्दा चलाउन कम्युनिस्ट हुँ भन्न नछाड्नेहरू अहिले गठेमन्त्र जप्नमा तल्लीन छन्- गठबन्धन सत्य हो, बाँकी सब मिथ्या हो !
नित्य गठेमन्त्र जप्ने यी राजनीतिक पुरेतहरू बहुधा खराब सपना देख्छन् । खराब सपनामा यी भसक्कै चुनाव हार्छन् । चुनावमा यिनका अधिकांश उम्मेदवारको जमानतै जफत हुन्छ । ईश्वर दाहिना भए यिनले प्रत्यक्षमा एकाध सिट जित्लान् । समानुपातिक बटुलबाटुल गर्दा सके सात–दश सिटै पड्काउलान् ।
वाह ! केटाले ओली झुण्डलाई क्या भनेको ! अनि आफ्नो गतिचाहिँ के होला नि मिस्टर पूर्वकमरेड ? ओली झुण्डको सर्वनाश देख्न आतुर यो पूर्वकमरेड आफूतिर फर्केर प्रायः सोच्दैन ।
समानुपातिक महलका यी सात–दश सिट खासमा केही नै होइनन् । जण्ड राजावादी राप्रप्राका मिस्टर कमल थापा गुटले सात–दश सिट होइन, पच्चीस सिट पड्काएको थियो । समानुपातिकका सिलाखोजे सिट वास्तवमा नील गगनबाट गर्जिने चट्याङपछि छ्याङ्गै आकाशबाट हुने जलवृष्टिजस्तै हो । त्यो आज छ, भोलि छैन । पछिल्लोपल्ट हरिबिजोकसँग टिमुरियो त कमल थापा गुट !
०००
रैथाने चुनावको मिति तोकिनु के थियो, गठेमण्डलीमा सुरु भयो खैलाबैला । चुनावी गठबन्धन नभए नतिजामा सिलटिमुर टोकिने भो भन्ने खैलाखैला । हे हे हे ! हो हो हो ! हा हा हा ! कठै म ! कठै चुनावपछि मेरो राजनीतिक भविष्य ! गठबन्धनका ओ उपरवाले कृपाकारी पार्टनर, जनी गरेर चुनावी गठबन्धन गरिदेऊ, र कसैगरी मलाई बचाऊ ! अल्पभाषी एवं अस्पष्टभाषी उपरवाले जुँगा मुसार्छ, गजक्क पर्छ र ज्ञानेन्द्रिय शैलीमा भन्छ, ‘मैले बुझेँ ।’ उपरवालेले बुझेको के हो भिखारी पार्टनर केही मेसो पाउँदैन । र, कल्पनाको तरङ्गमा चुनावको चुत्थो नतिजामा रसातलमा खसेर ऊ मूर्च्छा पर्छ ।
०००
गठबन्धनका कम्युनिस्ट हुँ भन्न नछाडेका आदर्श–बिक्रेताहरू ओली झुण्डतिर चोरऔँलो ठड्याउँदै भन्छन्, ‘आउने चुनावमा एमाले पत्तासाफ हुन्छ । चुनावको नतिजामा एमालेको बिउ सिला खोज्नुपर्छ ।’
वाह ! केटाले ओली झुण्डलाई क्या भनेको ! अनि आफ्नो गतिचाहिँ के होला नि मिस्टर पूर्वकमरेड ? ओली झुण्डको सर्वनाश देख्न आतुर यो पूर्वकमरेड आफूतिर फर्केर प्रायः सोच्दैन । सोच्न उसलाई डर लाग्छ । त्यसैले ओली गुटको मनचिन्ते विनाशमा ऊ आफ्नो शानदार भविष्य कल्पेर लपक्क ओठ चाट्छ र त्यसैत्यसै मक्ख पर्छ ।
विजयी चुनाव आखिर लडिन्छ केले ? विजयी चुनाव लडिन्छ कि विद्रोहमा उठेको विप्लवकारी हुङ्कारले । कि लडिन्छ क्रान्तिकालीन आवेगको उत्ताल रापतापले । कि लडिन्छ भुइँ मान्छेका दृष्टिमा चित्ताकर्षक लाग्ने बहुविध नाराले । कि लडिन्छ देशव्यापी सङ्गठनको बलले । ओली झुण्डलाई अघिल्ला तीन अस्त्रको दुःख छ । तर, चौथो अस्त्रले ऊ गज्जप सुसज्जित छ । सामाजिक मानचित्रको व्याप्तिभरि ओलीय सङ्गठनको भयङ्कर सञ्जाल छ । गठबन्धनका रुन्चे पार्टहरूसँग अघिल्ला तीन अस्त्र त छैनन् नै, चौथो अस्त्र पनि छैन । अनि यिनले कुन अस्त्रले सर्वत्र चुनाव जितेर ओली गुटलाई पत्तासाफ गर्ने हुन् ?
०००
समकालीन सत्ता राजनीतिमा ओली प्रवृत्तिको विकल्प ओली प्रवृत्तिको खुइले कार्बन कपी किमार्थ होइन । दुर्भाग्यवश, गठबन्धनका कम्युनिस्ट हौँ भन्ने टुक्रे पार्टनरहरू ओली प्रवृत्तिको खुइले कार्बन कपीतुल्य दृष्टिगोचर भइरा’छन् । खोक्रो गफका धनी यी टुक्रेहरूसँग न शिक्षामा कुनै नूतन दृष्टि, नीति र कार्यक्रम छ, न स्वास्थ्यमा कुनै नूतन दृष्टि, नीति र कार्यक्रम छ । यीसँग न कृृषिमा कुनै नूतन दृष्टि, नीति र कार्यक्रम छ, न उद्योगमा कुनै नूतन दृष्टि, नीति र कार्यक्रम छ । यीसँग न रोजगारी निर्माणमा कुनै नूतन दृष्टि, नीति र कार्यक्रम छ, न संविधानबाहिर मिल्काइएका अगणित जनलाई संविधानभित्र प्रवेश गराउने कुनै नूतन दृष्टि, नीति र कार्यक्रम छ । यीसँग केही छ भने एउटै कुरा छ । त्यो हो- ‘उपरवाले बोस, चुनावी गठबन्धन कृपा गर, हामी हद दुःखीको डुब्दो राजनीतिलाई उद्धार गर !’ बस्, फगत गठबन्धन सत्य हो, बाँकी सब मिथ्या हो !
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८ ०६:४४