अछामको रामारोशन गाउँपालिकाका एक जना वडाअध्यक्ष र कार्यपालिका सदस्यबीच आर्थिक लेनदेनको विषयमा भएको विवादको अडियो सार्वजनिक भएको छ ।
गाउँपालिकाको वडा नम्बर ३ शान्तडाका वडाअध्यक्ष तारा साउँद र कार्यपालिका सदस्य सितादेवी भण्डारीबीच आर्थिक लेनदेनका विषयमा भएको विवादको अडियो सार्वजनिक भएको हो ।
सामाजिक सुरक्षा भत्ता वितरणको विषयमा सुरु भएको विवादको अडियोमा आर्थिक लेनदेनदेखि पार्टी परिवर्तनसम्मका विषयमा विवाद भएको सुन्न सकिन्छ ।
सुमधुर सम्बन्ध रहेका बेला वडाअध्यक्ष साउँदबाट वडाको सामाजिक सुरक्षा वितरणको जिम्मेवारी पाएकी भण्डारीले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा मापदण्डभन्दा प्रतिव्यक्ति १ हजार रुपैयाँ बढि वितरण गरेकाले उक्त रकम फिर्ता गर्नुपर्ने विषयमा विवाद सुरु भएको देखिन्छ ।
अडियोमा खरको छाना भएकालाई टिन वितरण गर्ने सरकारको कार्यक्रमअनुसार टिन पाउनका लागि वडाबाट छनोट भएका व्यक्तिलाई टिन नदिई वडाअध्यक्ष साउँदले आर्थिक हिनामिना गरेको आरोप कार्यपालिका सदस्य भण्डारीले लगाएकी छन् ।
अडियोमा कार्यपालिका सदस्य भण्डारी नेकपा समाजवादीमा लागेसँगै वडाअध्यक्ष साउँद आक्रोशित भएको देखिन्छ । भण्डारी एकीकृत समाजवादीमा लागेसँगै वडाअध्यक्ष साउँदले आफूलाई होच्याउने गरेको बैठकमा अनुहार देखेसमेत रिस उठ्छ भनेको स्पष्ट सुनिन्छ ।
वडाअध्यक्ष र कार्यपालिका सदस्यबीच विवादको अडियोमा वडाअध्यक्ष साउँदले कार्यपालिकाको चुनावमा भण्डारीलाई जिताउन ५ लाख आफूले खर्च गरेको भन्दै त्यसको आधा रकम २ लाख ५० हजार तत्काल तिर्नुपर्ने ताकेता समेत गरेको सुनिन्छ ।
यसका साथै वडाअध्यक्ष साउँदले तत्कालीन निर्वाचनमा वडाको निर्वाचनमा वडा सदस्य पदमा आफ्नै कारणले जितेको र आफूले ८ लाख रुपैयाँ खर्च गरेको भन्दै त्यसको समेत हिसाब चाहिने बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८ २०:३६