राष्ट्रियसभाको निर्वाचन आगामी बुधबार हुँदैछ । प्रदेश १ मा तीन सिटका लागि आठ जनाको उम्मेदवारी परेको छ । सत्ता साझेदार पाँचदलीय गठबन्धनले नेपाली कांग्रेसका तर्फबाट गोपाल बस्नेत, एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादीका हेमराज थुलुङ राईलाई अघि सारेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बाट गुरुप्रसाद बराल, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पनि उम्मेदवारी दिएको छ । सो दलका तर्फबाट खुलामा झापाका अमर विष्ट र रञ्जु प्याकुरेलले महिलातर्फ उम्मेदवारी दिएका छन् ।
स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्य मतदाता हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा ३६४ मतदाता छन् ।
प्रदेश १ मा ९२ जना प्रदेशसभा सदस्य राष्ट्रियसभा निर्वाचनका मतदाता छन् । त्यसैगरी २७२ जना स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
९३ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रका सांसद टंक आङ्बुहाङ एमाले प्रवेश गरेर तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्त्वको सरकारको आर्थिक मामिला तथा योजनामन्त्री बनेपछि उनी पदमुक्त भएका थिए । सो सिट रिक्त छ ।
त्यस्तै सोलुखुम्बुको खुम्बु पासाङ ल्यामु गाउँपालिकाका अध्यक्ष ङिम दोजी शेर्पा र भोजपुरको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन भएको छ ।
राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हुन्छ ।
९२ प्रदेशसभा सदस्यहरुको मतभार ४ हजार ४ सय १६ र दुईसय ७२ स्थानीय तहका जनप्रतिनिधिको मतभार ४ हजार ८९६ गरी जम्मा मतभार ९ हजार ३१२ रहेको छ ।
प्रदेश १ मा नेकपा एमालेका जनप्रतिनिधिको ४ हजार ५२४ मतभार छ । पाँचदलीय गठबन्धनमा आबद्ध दलहरुको कुल मतभार ४ हजार ६६८ छ । राप्रपाको एक जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहित पाँच जनाको १२० मतभार रहेको छ ।
निर्वाचनअन्तर्गत बुधबार बिहान साढे ९ बजेदेखि सुरु हुने मतदानका लागि दुई वटा मतदान केन्द्र निर्धारण गरिएको छ । स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि विराटनगर–१० तीनटोलीयास्थित प्रदेश निर्वाचन कार्यालय र प्रदेशसभा सदस्यका लागि प्रदेश निर्वाचन कार्यालयसँगै रहेको बाली संरक्षण कार्यालयमा मतदान केन्द्र तोकिएको छ ।
मतदानका लागि मतदाताको परिचयपत्र, कोरोना महामारीलाई मध्यनजर गर्दै सम्भव भएसम्म खोप कार्ड र मास्क अनिवार्य गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

फरार सांसद् खातुनलाई पक्राउ गर्न प्रहरी ‘हाई अलर्ट’
नेकपा (एमाले) की समानुपातिक प्रदेश सांसद गुलेफा खातुन सरकारी कागजात किर्ते मुद्दामा दोष्ीा देखिएपछि फरार छिन् । उनलाई प्रहरीले फरार अपराधीको सूचीमा राखेको छ । उनी राष्ट्रियसभा निर्वाचनको मतदान प्रक्रियामा सहभागी हुनसक्ने आकलनसहित प्रहरी हाइअलर्टमा बसेको छ । गृहमन्त्री बालकृष्ण खाँणले मोरङ प्रहरीलाई टेलिफोन गर्दै हाइअलर्टमा बस्न निर्देशन दिएको प्रहरी स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनाद्र्धन जीसीले सांसद खातुनबारे प्रहरी जानकार रहेकाले निगरानी बढाइएको जानकारी दिए । उनले सांसद खातुनका विषयमा प्रहरीले आफ्नो काम गर्ने बताए । ‘कानुनतः के गर्ने भन्ने विषयमा हामी क्लियर छौँ । अहिले नै यसो गर्छौँ उसो गछौँ नभनौँ’, उनले शिलापत्रसँग भने, ‘कानुनअनुसार के गर्ने भन्ने विषयमा हामी क्लियर छौँ ।’
उच्च अदालत विराटनगरले सांसद खातुनलाई एक वर्ष कैद र १४ हजार ५८३ रुपैयाँ जरिवाना सजायको फैसला सुनाएपछि उनी फरार छिन् ।
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८ २१:४४