सर्लाही नवलपुरका रमेश खड्कालाई सानैदेखि रेस्टुरेन्ट व्यवसायप्रति रहर थियो । ०४९ सालमा एसएलसी पास गरेपछि उनी काठमाडौं आए । शंकरदेव कलेजमा भर्ना गरेका उनलाई त्यतिबेला काठमाडौंमा टिक्न निकै गाह्रो परेको थियाे । ‘गाउँबाट काठमाडौं आएको मान्छेलाई त विदेशै गएजत्तिको हो,’ उनी पुराना दिन सम्झिँदै भन्छन्, ‘मेरो पढाइ त्यति राम्रो थिएन । तर केही वर्षमै लाग्न थाल्यो– यो काठमाडौंमा एउटा घर, एउटा गाडी र एउटा केही व्यवसाय भइदिए हुन्थ्यो ।’
गाउँकै स्कुल पढ्दाताका तेक्वान्दो तालिम लिएका र मार्सल आर्टका खेलाडीसमेत रहेका उनले ०५० सालमा साथीहरूको सहभागितामा अनामनगरमा डोजो क्लब स्थापना गरेका थिए । सोही क्लबबाट खेलमा सहभागी हुन ०६० सालमा उनी लन्डन पुगेका थिए ।
‘त्यहाँ गएपछि मलाई उताकै वातावरण राम्रो लाग्यो र उतै काम गर्ने सोच आएपछि नेपाल फर्किनँ,’ उनले भने, ‘त्यतिबेला म खेलाडी भएर लन्डन गएको थिएँ । तर, त्यतै राम्रो अवसर पाएजस्तो लागेर उतै बस्ने निर्णय गरेँ ।’ लन्डनमा उनले तीन वर्ष बिताए । अन्य जिल्लाबाट काठमाडौं आएकालाई यहाँ रहन जति गाह्रो हुन्छ, काठमाडौंबाट लन्डन पुगेका उनलाई यस्तै लागेको उनी सुनाउँछन् ।
‘त्यसबेला जति पनि नेपालीहरू लन्डन जान्थे, सबै रेस्टुरेन्टमा काम गर्ने रहेछन्,’ उनले भने, ‘सुरुको एक हप्ता मैले त्यहाँको एउटा रेस्टुरेन्टमा डिस वासर (भाँडा माझ्ने)को काम गरेँ । तर, त्यहाँ काम गर्न गाह्रो भइरहेको थियो ।’ त्यहाँबाट नेपाल फर्किने सोचमा थिए उनी ।

राज रेस्टुरेन्टका ती दिन
‘तर, साथीहरूले किन अहिले नै निराश भइहालेको यतै काम गरौँ भन्दै सल्लाह दिए,’ उनले भने ।
त्यसबेला लन्डनभन्दा केही बाहिरको देहातमा एक जना गोराको नेपाली मूलकै नाम रहेको रेस्टुरेन्ट रहेछ । ग्राहकको त्यति साह्रो चल्तीफिर्ती नहुने सो रेस्टुरेन्टमा काम पाउने भए उनले । लन्डनबाट त्यहाँ पुग्न फास्ट ट्रेनमा झण्डै आधा घन्टा लाग्थ्यो । एक जना पाकिस्तानीबाहेक आठ/नौ जना नेपाली नै थिए त्यहाँ । सोही रेस्टुरेन्टमा वेटरको काम पाउने भए उनले ।
प्लम्बर पृष्ठभूमिका ती सञ्चालकसँग व्यापार प्रवर्द्धनबारे खासै आइडिया थिएन । खासै नचलेको सो रेस्टुरेन्टलाई कसरी चल्तीफिर्तीको बनाउने ? यसबारे निकै सोचविचार गरे खड्काले ।
‘यसपछि मैले मेरो दिपक गुरुङ नाम गरेको साथीसँग सल्लाह गरेर १० प्रतिशत छुट दिनका लागि एउटा कुपन छाप्यौँ । कुपन लिएर आउनेलाई १० प्रतिशत छुट दिएपछि त रेस्टुरेन्टमा ग्राहकको भिड लाग्यो,’ उनी सुनाउँछन्, ‘थोरै डिस्काउन्ट दिए पनि सेवा लिइहाल्ने 'खैरे'हरूको बानी हुँदोरहेछ । यसैले त्यो रेस्टुरेन्ट राम्रो चल्न थाल्यो ।’
त्यहाँ उनले पत्रिका घरघरमा पुर्याउने पार्टटाइम जब पनि गर्थे । पत्रिकाभित्र उक्त कुपन हालेर पाठकका घरघरमा पुर्याउन थालेपछि रेस्टुरेन्टमा ग्राहकको भिड झन् बढ्यो । झण्डै दुई वर्ष त्यहाँ काम गरेपछि उनी नेपाल फर्किए। ‘मैले काम सिक्न र पैसा कमाउन मात्र लन्डन बस्नुपर्छ भन्ने सोचिसकेको थिएँ । त्यसैले म नेपाल फर्किएँ,’ उनले भने ।
अनि आयो रेस्टुरेन्ट खोल्ने सोच
‘धेरै नेपालीहरू विदेशबाट आफ्नो देश फर्किएपछि काम नगरी बस्छन् । तर, मैले त्यो गरिनँ । नेपाल आइपुग्नेबित्तिकै ग्लोसरी (किराना, सागसब्जी) पसल खोलेँ । लन्डन जानुभन्दा अगाडि म स्टेसनरी सामानको व्यापार गर्ने भएकाले व्यापारको आइडिया थियो । मध्यबानेश्वरस्थित रत्नरराज्य स्कुलअगाडि एउटा खाजा पसल किनेर ग्लोसरी सप सुरु गरेँ,’ उनी सम्झिन्छन्, ‘ग्लोसरी सप गर्दागर्दै रेस्टुरेन्ट नै गर्नुपर्छ भन्ने दिमागमा आयो ।
केएफसीबारे केही जानकार थिए उनी । बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेन भन्ने शंखमुलमा सुरु भयो । ‘हामीले पनि यसरी गर्न सक्छौँ नि त भनेर साथीहरूसँग छलफल भयो । चार जना साथीहरू मिलेर रेस्टुरेन्ट सुरु गर्ने सोच बनायौँ,’ उनले भने ।
त्यसपछि ०७४ सालमा बर्गर क्लब नाम गरेको रेस्टुरेन्ट खोले चार जना मिलेर । चार जनामा एक जना कपडा व्यवसायी राधेश्याम रेग्मी, बिजुली व्यवसायी जनार्दन पराजुली, अटोमोबाइल्सको व्यापार गर्दै आएका राजु थापा र उनी थिए ।
बर्गर क्लबमा धेरै समय दिन सकेनन् उनीहरूले । फास्टफुडमा धेरै लगानी र नाफा कम हुने भए पनि युवावर्गलाई लक्षित गरी बर्गर क्लब पनि सञ्चालन गरिरहेकै छन् उनीहरूले ।
बार्दलीको जन्म
आधुनिक सजावट र शैलीमा त काठमाडौंमा धेरै रेस्टुरेन्ट छन् भन्ने जानेकै थिए उनले । केही ट्रेडिसनल (मौलिक) ढंगको रेस्टुरेन्ट खोल्ने विचारमा पुगे उनीहरू । १४ फेब्रुअरी २०२१ अर्थात् भ्यालेन्टाइन डेकै दिन बर्गर क्लबको पछाडिपट्टि उनीहरूले अर्को रेस्टुरेन्ट स्थापना गरे । तर नाम के राख्ने ? यसबारे धेरै माथापच्ची भयाे ।
‘बार्दली नाम राखौँ,’ उनले साथीहरूसँग भने, ‘रेस्टुरेन्टमा बार्दली पनि छ । बार्दली नाम एकदम सुहाउँछ ।’ बर्गर क्लब टिन एजका युवायुवतीहरूको रोजाइमा पर्ने गरे पनि बार्दलीमा भने सबै उमेर समूहका ग्राहक आउने गरेको खड्का सुनाउँछन् ।
‘पैसा अलिक कम हुने, केही फास्ट फुड खान निस्किहाल्ने खालका मान्छेहरू बर्गर क्लबमा जानुहुन्छ भने परिवारसहित केही सेलिब्रेसन गर्न आउनेहरू बार्दलीमा आउनुहुन्छ,’ उनले भने ।
बार्दली फरक र मौलिक नाम त राखियो तर रेस्टुरेन्टमा आउने ग्राहकलाई खानचाहिँ के दिने भन्ने अर्को प्रश्न पनि थियो । ‘अन्यतिरका रेस्टुरेन्टले भुटन, सेकुवालाई विशेष परिकार भनेर बेचिरहेका छन्, हामीचाहिँ विशेष परिकार केलाई बनाउने त ? यसबारे हामी सोच्न थाल्यौँ,' उनी भन्छन्, ‘हाम्रो गाउँतिर दसैँको बेला पक्कु खान्छन् । लु त्यही पक्कुलाई नै यहाँको विशेष परिकार बनाऔँ भन्ने सल्लाह भयो ।’
काठमाडौंका अन्य तीन/चारवटा रेस्टुरेन्टबाट पक्कु मगाएर बार्दलीका सेफलाई चखाइयो । सेफलाई चखाएपछि योभन्दा फरक स्वाद झिक्न लगाइयो र बार्दलीमा सुरु गरियो नयाँ स्वादको पक्कुको बिक्री ।
बार्दलीमा बसेर नेपाली मौलिक खाना र पक्कु खान पाइने नै बार्दलीको विशेषता रहेको उनी सुनाउँछन् ।मध्यबानेश्वरस्थित संगम चोकमा बस्दै आएका उनी जहिल्यै मर्निङ वाक् गर्न धोबीखोलाको कोरिडोरहुँदै आउँथे । मर्निङ वाक् आउने क्रममा नै खड्काले धोबीखोला सिम्रिक पुलछेउ एउटा घर देखे । उनलाई त्यही घरमा बार्दली रेस्टुरेन्ट राख्न मन लाग्यो ।

‘शंखमुलकै बार्दली रेस्टुरेन्टमा पनि सबैले बार्दलीमै बसेर खान मन गर्थे, त्यसैले यो अब नयाँ घरमा चाहिँ बार्दली बनाउन खुला कोठा बनाएका छौँ,’ उनले भने । यसपछि २०७८ असोजदेखि धोबीखोलाको यो स्थानमा बार्दली स्थापना गरेका हुन् उनीहरूले । बार्दलीमा देख्न सकिन्छ हलो, जुवा र गोरुगाढाका चक्का । यी सामग्रीहरू आफ्नै घरबाट ल्याएर सजाएका हुन् उनले ।
‘यो हलो मैले नै जोतेको हो । मैले मल बोक्दा चलाएको गाढाको चक्का हो यो', बार्दलीमा सजाएर राखेका ती सामानतर्फ हेर्दै उनले भने, ‘मेरो बुबाले घरमा जतन गरेर राख्नुभएको रहेछ यी सामान, पछि मैले यहाँ ल्याएको हुँ ।’
गाढाका दुईवटा चक्का र हलोमध्ये एउटा शंखमुलको बार्दली र एउटा धोबीखोलाको बार्दलीमा सजाएका छन् उनीहरूले । ‘सजाउनकै लागि घरबाट पुरानो जापानिज पानासोनिक रेडियो पनि ल्याएर स्टोरमा राखेको थिएँ । तर पछि खोज्दा भेटिएन, कता परेछ,’ उनले भने ।
यस्ता छन् योजना
बार्दलीमा एउटा बगैँचा पनि बनाउँदैछन् उनीहरूले । यसका साथै शुक्रबार र शनिबार लाइभ म्युजिक कन्सर्ट राख्ने योजना पनि बनाउँदैछन् । आफ्नो गाउँघरमा रहेका ठेकी, जाँतोजस्ता पुराना सामग्री पनि बार्दलीमा सजाउने योजनामा छन् । अहिले बर्गर क्लब र दुई ठाउँको बार्दली गरेर ६० जनाले रोजगारी पाइरहेका छन् । तर, यत्तिकै संख्याका मानिसले काम गर्न नसक्ने र आगामी दिनमा कामदार संख्या थप गर्ने योजना सुनाउँछन् खड्का ।
‘रेस्टुरेन्ट मात्र होइन, नेपाली खाना खुवाउन र होटलको सुविधा पनि दिन सक्ने गरी अगाडि बढिरहेका छौँ । नौवटा कोठा छन्, कोठा सजाउन र व्यवस्थित पार्न हामी लागिपरेका छौँ',उनले भने । अहिलेको अवस्थामा धोबीखोलाभन्दा शंखमुलको बार्दलीमा धेरै परिकार पाइने भए पनि यहाँको मेनुमा भएका परिकार ग्राहकलाई छैन भन्नु नपरेको खड्का सुनाउँछन् । यहाँको बार्दलीमा आउने दिनमा परिकारहरू थप गर्ने योजना सुनाउँछन् उनी ।
नेपालमै छ रोजगारी
खड्का भन्छन्, ‘युवालाई नेपालमै छ रोजगारी, विदेश जानुपर्दैन ।’ आफ्नो तीनवर्षे विदेश अनुभव र अहिलेसम्म नेपालमै काम गरेका आधारमा पनि उनी नेपाली युवाले नेपालमै केही गर्न सक्छन् भन्ने तर्क गर्छन् ।
‘मान्छेहरू १५ वर्ष, २० वर्ष विदेशमा बस्छन् र नेपालमा आउँछन् र यतै मर्छन् । विदेशमा बसेर बुढेसकाल लागे पनि सम्झना आफ्नै देशको हुन्छ,’ उनी भन्छन्, ‘कुनै पनि काममा लगावका साथ लाग्ने हो भने कतै पनि मैले असफल भएको देखिनँ । नेपालमा सम्भावना नै सम्भावना देख्छु म । पैसा कमाउने तर त्यसै खर्च गर्ने हो भने त बचत हुँदैन । कमाएको पैसालाई बचत गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।’

दैनिक व्यवहार, लाइफ स्टाइल, व्यापार, व्यवसाय र देश चलाउने जो कसैले पनि अत्यावश्यक, आवश्यक र अनावश्यक चिनेर केमा कति खर्च गर्ने भन्ने कुरा राम्ररी बुझ्न आवश्यक रहेको र अत्यावश्यक कुरामा मात्र खर्च गरेर बाँकी आम्दानीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै जाँदा पैसाले पैसा कमाउने उनको बुझाइ छ । ‘लन्डन पुगेर काम गर्दैगर्दा मैले यस्तो कुरा बुझेको हुँ,’ उनी सम्झिन्छन् ।
आफ्नो निरन्तरको मिहिनेत र काममा घोटिएर लाग्ने भएकाले आफ्नै कामबाट केही धनसम्पत्ति आर्जन गरेको उनी गर्वसाथ सुनाउँछन् ।
कोभिडको असर र भय
बर्गर क्लबले कोभिडको असर धेरै झेल्नुपर्यो । फागुनमा सुरु भएको बर्गर क्लब चैतदेखि सुरु भएको लकडाउनमा पूरै बन्द भयो । दोस्रो लहरको कोभिड संक्रमणको भयमा शंखमूलको बार्दली र अहिलेको तेस्रो लहरको भयले दुवै स्थानकाे बार्दलीको व्यापार, व्यवसायमा केही असर परेको उनले बताए ।
कोभिडले व्यापार, व्यवसायमा असर गरेको तर शंखमुलको जग्गाका धनीसमेत रहेका पार्टनर जनार्दन पराजुलीले मासिक भाडामा केही सहुलियत दिएको उनले बताए ।
‘अहिलेको ओमिक्रोनबाट बच्न सरसफाइ र स्वास्थ्य मापदण्ड पालनामा कुक, वेटर र सबै टिम सजग बनेका छौँ,’ उनले भने । व्यवसायीलाई संकट परेको बेला नेपाल सरकारले नहेरेको उनी सुनाउँछन् ।
‘कोभिडको समयमा व्यवसायीलाई समस्या परे लोनमा केही सहुलियत दिने नीति राष्ट्र बैंकले बनाए पनि त्यसबाट सबै व्यवसायीले सहुलियत पाउन सकेका छैनन् जस्तो मलाई लाग्छ,’ उनी भन्छन्, ‘कोही युवाले केही व्यवसाय गर्न लाग्दा कुनै राजनीतिक दलमा लाग्नैपर्ने, कुनै दलको सदस्य भए मात्र सरकारी सेवा सुविधा पाइने जुन परिपाटी छ, यसले युवा व्यवसायीलाई आफ्नै व्यवसाय गर्न हतोत्साहित गरिरहेको मैले देखेको छु । युवा स्वरोजगारका लागि सरकारले राम्रो नीति बनाउन जरुरी छ ।’
कोभिडका कारण रेस्टुरेन्टमा मान्छे धेरै नआएकाले कुक, वेटरलाई भनेजति तलव दिन नसकिरहेको उनी बताउँछन् । आफ्नो कामबाट पूर्ण सन्तुष्ट छन् उनी । भन्छन्, ‘मैले जीवनको २७, २८ वर्ष खटेर काम गरेँ तर अहिले आएर मैले जीवनको भरपूर मजा लिइरहेको छु ।’
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८ ०७:३८