याद आउँदा लुकेर रुन्छिन् । युट्युबमा छोराका गीत, अन्तर्वार्ता हेरेर मन बुझाउँछिन् । छोरा अनिल अधिकारीले इहलीला त्यागेको पाँच वर्ष भइसक्दा पनि उर्मिलाको मस्तिष्कबाट यमबुद्धका याद विस्मृत भएका छैनन् । याद मेटाउनै अधिकारी परिवार काठमाडौंको मैतीदेवीस्थित घर बेचेर भैँसेपाटी सरेको छ ।
भुल्न कहाँ सजिलो र छ ? उर्मिला र अम्बिका एकअर्काका आडभरोसा बनेर बसेका छन् । ५३ वर्ष पुगेकी उर्मिला लामो सुस्केरा हाल्दै भन्छिन्, ‘उसलाई जति सम्झियो त्यति गाह्रो हुन्छ ।’
ठ्याक्कै पाँच वर्षअघि २९ वर्षको उमेरमा १ माघ २०७३ (१४ जनवरी २०१७) मा अनिल बेलायतको राजधानी लण्डनको साउथ ह्यारोस्थित घरमा मृत भेटिएका थिए । त्यहाँ उनी श्रीमतीसँगै ससुरालीका सदस्यसँग बस्थे । त्यो दिन बिहान ६ बजे उनी बाथरुमको झ्यालमा बेल्टको पासो लगाएको अवस्थामा मृत भेटिएका थिए । पोष्टमार्टम र बेलायत प्रहरीले त्यो आत्महत्या भएको निष्कर्ष निकालेको थियो । यमबुद्धको परिवार भने उनलाई आत्महत्या गर्नुपर्ने कुनै कारण नरहेको दाबी गर्छ । नेपालमा र्याप र ब्याटल स्थापित गराउनेमध्येका एक उनलाई आइडल मान्नेको जमात निकै ठूलो छ । उनका भिडियोमा हरेक दिन फ्यानको कमेन्ट आउँछ ।
बाल्यकालमा आमा उर्मिलासँग गुम्बा घुम्दै अनिल । यमबुद्धको निधनबखत हुँदै नभएका कुरा प्रकाशन गरेको भन्दै केही मिडियासँग यो परिवारको व्यापक असन्तुष्टि छ । चर्चित कलाकारको परिवार पछिल्लो पाँच वर्षमा सायदै मिडियामा आएको छ । ‘उसले हुलाकी काम गथ्र्यो भनेर लेखियो । यो अनावश्यक कुरा हो । ऊ बेरोजगार होइन, उसलाई पैसाको कमी थिएन,’ ६० वर्ष नाघेका अम्बिका मनको कुरा राख्छन्, ‘नामइज्जतको कमी छैन । उसलाई कुनै अभाव थिएन । ऊ जन्मेर थाहा पाउँदादेखि म गाडी चढेर हिँडेको मान्छे हो ।’
दुर्घटनापछि जन्मिएका यमबुद्ध
अनिल कविता लेख्न रुचाउँथे । एउटा दुर्घटनाले अनिललाई र्यापतिर तानेको हो । मोरङको सकलपुरमै उनी पढे, हुर्केका हुन् । पढाइको सुरुवात सकलपुरकै ब्राइट फ्युचर माविबाट भएको हो । उनले काठमाडौंको एड्मार्क एकेडेमीबाट कक्षा १२ उत्तीर्ण गरेका थिए ।
कक्षा १२ पछि अष्ट्रेलिया जाने पक्का भइसकेपछि उनलाई मैतीदेवीस्थित घर नजिकै ट्याक्सीले ठक्कर दियो । अनिल र्याप सुन्थे । कवितालाई र्यापमा ढाल्थे । दुर्घटनापछि घरमा बस्दा उनी गीत लेख्नेतिर सक्रिय भए । यो सन् २००५ तिरको कुरा हो । ‘दुर्घटनापछि घरमा बस्दा त्यो खाली समयमा लेख्न थाल्यो । कविताहरु त पहिले पनि लेख्थ्यो । यसरी उसको यात्रा सुरु भएको हो,’ छोरामाथि गर्व गर्दै अम्बिका भन्छन्, ‘यो विधा चाहिँ छाडा बोल्ने भन्ने विधा पनि भनिन्थ्यो । तर, उसले सन्देशमूलक गीतहरु गाउन, लेख्न थाल्यो । घरमा हामीले दिएको संस्कार उसले कहिल्यै नाघेन ।’ दुर्घटनामा खुट्टा भाँचिएपछि अनिल एक वर्ष घरमै आराम गर्नुपरेको थियो ।
अष्ट्रेलिया जाने योजना सफल भएन । पछि सन् २००९ मा उनी कम्प्युटर साइन्स र विज्ञान प्रविधिमा ब्याच्लर पढ्न बेलायत गए । खुट्टामा समस्या भएपछि दुई वर्ष बसेर नेपाल फर्किए । नेपाल आएपछि उनको पहिलो गीत ‘साथी’ सार्वजनिक भएको हो । युट्युबका प्रयोगकर्ता बढिरहेका बेला आएको पहिलो गीतले नै उनलाई उचाइ दियो ।
गायन क्षेत्रमा अनिलको सुरुवाती नाम यमबुद्ध होइन । सुरुमा उनी बुद्ध भनेर आफूलाई चिनाउँथे । शान्तिको प्रतिक भएकाले उनी बुद्धबाट प्रभावित थिए । घरमा बुवाछोरासँगै थिए । राजनीतिबारे वितृष्ण पोख्दै अम्बिका त्यतिबेला कड्किए, ‘यी चोरहरूलाई त गोली हान्नुपर्ने !’ अम्बिका राप्रपामा आबद्ध छन् ।
अनिलले बुवालाई प्रश्न गरे, ‘बाबा, तपाईंले यस्तो कुरा गर्न हुन्छ ? गोली हान्ने कुरा गर्ने ?’
अम्बिकाले अनिललाई जवाफ दिए, ‘हेर बाबु राष्ट्रलाई, मुलुकलाई आवश्यक पर्यो भने बुद्धले पनि राक्षसको रुप लिनुपर्छ ।’ राक्षस भनेपछि उनले यमराजलाई सम्झिए । यमराज र बुद्धको फ्युजन नै अनिललाई चिनाउने नाम बन्यो । हरेक मान्छेमा यमराजजस्तै नराम्रो र बुद्धजस्तै राम्रो पाटो हुन्छ भन्ने यो नामको अर्थ हो ।
यमबुद्धको परिवार । आमालाई यमबुद्धभन्दा पनि जन्मपछि राखेको अनिल नाम नै प्रिय लाग्छ । तर, उनी भाइ भनेर बोलाउँथिन् । अम्बिकालाई ‘यमबुद्ध’ मन पर्छ । अनिलको निधनपछि उनले दिएको योगदान अम्बिकाले नजिकबाट महसुस गरेका छन् । ‘अहिले आएर मलाई यमबुद्ध नाम नै प्रिय लाग्छ । उसले त धेरै मान्छे कमाएको रहेछ । किनभने अनिल अधिकारी चिन्छौ भनेर कसैलाई सोधे छैन भन्छ,’ बुवा अम्बिका खुसी देखिन्छन्, ‘प्राथमिक विद्यालयमा पढ्नेलाई यमबुद्धलाई चिन्छौ भन्यो भने चिन्छु भन्छ । आजकल यही कारण मलाई यमबुद्ध नाम प्रिय लाग्छ ।’
अनिलसहित अम्बिका र उर्मिलाका तीन सन्तान हुन् । जेठी छोरी अष्ट्रेलिया र कान्छी अमेरिका छन् । अम्बिका हालैको महाधिवेशनबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य निर्वाचित भएका छन् । अम्बिका छोराबारे धेरै बोल्न सक्दैनन् । उनी भन्छन्, ‘राजनीतिक भाषण भए म घण्टौं बोल्न सक्छु । जब उसको कुरा गर्नुपर्छ शब्द आउँदैन ।’ उर्मिला महिला संघको केन्द्रीय वरिष्ठ उपाध्यक्ष थिइन् ।
यमबुद्धको सम्झना गर्दै दुवै सामाजिक काममा क्रियाशिल छन् । छोराकै सम्झनामा विभिन्न विद्यालयदेखि परिवारलाई सहयोग गर्छन् । त्यसैका लागि चार वर्षअघि यमबुद्ध फाउण्डेसन खोलेका थिए । धादिङका राजकुमार चेपाङ अधिकारी दम्पत्तिसँगै बस्छन् । यमबुद्धले एक जना भाइ चाहिन्छ भनेपछि दुई वर्षको हुँदा राजकुमारलाई ल्याएका थिए । अहिले राजकुमार २२ वर्ष पुगेका छन् । कक्षा १२ सम्म पढेका उनी अधिकारी दम्पत्तिको हेरचाहमा खटिएका छन् । राजकुमार यमबुद्धको पहिलो गीत साथीमा बाल्यकालका दुईमध्ये एक साथीको रूपमा फिचर्ड गरिएका छन् ।
*****
घटनाभन्दा दुई दिनअघि अम्बिकाले यमबुद्धसँग कुरा गरेका थिए । आफूलाई पैसाको कुनै समस्या नरहेको बताएका थिए । तर, मिडियामा गायनले नपुगेर हुलाकी काम गरेको भनी समाचार देख्दा उनी अहिले पनि असहमति जनाउँछन् ।
अम्बिकाका अनुसार मोरङको खेत बेच्ने योजना उनले अनिललाई सुनाएका थिए । यमबुद्धले इन्कार गरे । ‘उसले सिधै नाइ भन्यो । बरू १० बिघा जोड्ने अनि जनावर पाल्ने भनेको थियो । किन बेच्नुपर्यो ? बेचेर पैसा के गर्नुहुन्छ ? पैसा मसँग छ है । सबै व्यवस्थापन म गर्छु भन्थ्यो । त्यो मान्छेले त्यस्तो गर्छ भनेर कसैले पत्याउँछ ?’ अम्बिकाले अन्तिम वार्ताबारे सुनाए ।
छोराको शव ल्याउन अधिकारी दम्पत्तिलाई दुई हप्ता लाग्यो । मृत्युको १६ दिनपछि १६ माघ २०७३ मा अनिलको शव नेपाल ल्याएर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । अनिलकी श्रीमतीले किरिया सकिएको भोलिपल्ट बिहानै घर छोडिन् । उनी अहिले अधिकारी परिवारको सम्पर्क छैनन् ।
अम्बिकाले त शव ल्याउन पाउने आस नै मारेका थिए । शव ल्याउन पाउनुलाई नै अम्बिका ठूलो उपलब्धि मान्छन् । ‘विवाह भएपछि हाम्रो केही अधिकार रहँदैन, सबै श्रीमतीको रहन्छ । घटनापछि शरीर ल्याउन सक्छु कि सक्दिनँ भन्ने भयो,’ अम्बिका थप्छन्, ‘कमसेकम उतै सकियो भन्नु परेन । मातृभूमिमा हिन्दू संस्कारअनुसार दाहसंस्कार गर्न पायौँ । त्योबेलामा मैले उसको शरीर ल्याउनुलाई ठूलो उपलब्धि मानेको छु ।’
बुहारी छैनिन्, अम्बिका र उर्मिलालाई अनिलले यादहरूमा सताइरहन्छन् । उनका फ्यानहरू अहिले पनि घरमै आउँछन् । यादहरूले सताएपछि मैतीदेवीको घरमा बसिरहने हिम्मत भएन अनि बसाइँ सरेर भैँसेपाटी पुगेका थिए । उर्मिलाले घरमा अझै पनि अनिलका सामान जतन गरेर राखेकी छन् । ‘त्यो घर बेचेर अर्को ठाउँ सर्यौँ । बाबुको साथी, फ्यानहरु घरै आउँथे । कसैले क्याप माग्ने, कसैले टिसर्ट माग्ने गर्थे । एक÷दुई जनालाई दिएँ पनि । मेरो छोरा नै दिएर पठाएँजस्तो लाग्छ,’ उर्मिला थप्छिन्, ‘उसको दराजमा सय÷दुई सय वटा क्याप छन् । उसको मोजा पनि मैले केही गरेको छैन ।’
चर्चित र्यापर यमबुद्धका बुवा अम्बिकाप्रसाद र आमा उर्मिला । अधिकारी परिवारलाई यो घटनालाई आत्महत्या भनिएकोमा चित्त बुझेको थिएन । अहिले पनि उनीहरू सहमत छैनन् । तर, बुहारी आफूहरुसँग नभएको र अरुको जीवनमा असर नपुर्याउने भन्दै धेरै खुलेर बोल्दैनन् । अदालतमा पनि यो मुद्दा पुगेको थियो । यमबुद्धकी श्रीमतीले अघि बढाउन चाहिनन् । कानुनअनुसार श्रीमतीलाई मुद्दा अघि बढाउने/नबढाउने भन्ने अधिकार हुन्छ । श्रीमतीले अघि बढाउन नचाहेपछि यो मुद्दा बन्द भएको उर्मिलाले सुनाइन् ।
यमबुद्धले समाजलाई आफ्नो गीतमा उतारेका छन् । आमा, दिदीबहिनीसँगको भावनात्मक सम्बन्ध, सडक बालबालिकाका कुरा, साथीसँगको सम्बन्धलगायत विषय आफ्नो गीतमा उतारेका छन् । साथी, आमा, यो प्रसङ्ग, फुटपाथ, पैसा, मलामी, रक्षा, पागलपनलगायत दर्जनौँ गीत छन् । उनले रेकर्ड नगरेका गीत पनि नभएका होइनन् । उनको निधनपछि कोठामा भेटिएका शब्द कोरिएका कागजहरू बुवाआमासँग सुरक्षित छ । युवाले खोजेको गीत गाएकाले आफूलाई रुचाइएको हुनसक्ने अन्तर्वार्ताहरूमा यामबुद्ध बताउँथे । गीतमा कम रूचि भएका यमबुद्धका बुवा अम्बिकाको छाती छोराको योगदानको सम्मान र उनले गाएका गीत देखेर चौडा हुन्छ । छोटो समयमै सयौँ वर्ष लाग्ने काम गरेको भन्दै अम्बिका गर्व गर्छन् ।
‘कोही मान्छे सय वर्ष बाँच्छ, कोही छोटो समयमा जान्छन् । ऊ सयौँ वर्ष बाँचे बराबर भइसकेको छ,’ अम्बिका सानो स्वरमा बोल्छन्, ‘२९ वर्षमा बाबु जाँदा हामीलाई दुःख छैन । एउटा मात्रै दुःख के छ भने, आत्महत्या शब्दमा हाम्रो चित्त दुखाइ छ ।’
रुवाउने ‘आमा’
आमाको मुख हेर्ने दिन आउँदै थियो । यमबुद्धले आमा र हजुरआमालाई डेडिकेट गर्दै ‘आमा’ निकाले । त्यो उपहार स्वरुप आमा र हजुरआमालाई रेकर्डिङपछि सुरुमा सुनाए । आफ्नो कोठामा बोलाएर त्यो गीत सुनाएपछि आफूहरूले आँसु थाम्न नसकेको उर्मिला सुनाउँछिन् । ‘आमा’ सन् २०१२ (२०६९)मा रिलिज भएको थियो ।
कसरी व्यक्त गरौँ ? म यी मेरा भावना,
सधैँ खुसी राख्न सकुँ, तिमीलाई मेरी आमा ।
जुनीजुनी रहोस् मेरो साथमा तिम्रो छाया,
तिम्रो आशीर्वाद अनि तिम्रो अजम्बरी माया ।
दैवले सधैँ खुसी थमाइदिउन तिम्रो हातमा,
सुस्ताउन पाउँ सधैँरि तिम्रो काखमा ... ।।
‘नेपालमा भएको बेलामा त्यो दिन उठेर मेरो अगाडि आएर मुख हेथ्र्यो । त्यो दिन आफ्नो कोठामा बोलायो । म र उसको हजुरआमा गयौँ,’ उर्मिला सम्झन्छिन्, ‘दुवैलाई यो गिफ्ट हो भनेर आमा भन्ने गीत लगाइदियो । त्यो सुन्दा हजुरआमाले बरबर आँसु झारिसियो । पछि सार्वजनिक गर्यो ।’
आमा उर्मिलासँग यमबुद्ध । उर्मिलाकाअनुसार अनिल जन्मिँदा सबैभन्दा बढी हजुरबुवा खुसी भएका थिए । परिवारकै पहिलो नाती भएकाले खुसी हुनु स्वाभाविक थियो । जन्मिँदा खुसी भएका उनले अनिलको मृत्यु भएको सुन्न परेन । अनिलले अनुहार चिन्न नपाउँदै हजुरबुवा बिते, आमा सार्वजनिक भएको केही समयपछि हजुरआमाको पनि निधन भएको थियो । अनिलको आमा गीत सुनेर हजुरआमा रोइन् । तर, अनिलको मृत्युको खबर सुनेर उनी रुनु परेन ।
छोरा चिन्थे, यमबुद्ध नचिन्ने
अम्बिकाको छोरा छ भन्ने धेरैलाई थाहा थियो । तर, यमबुद्ध भनेर कति आफन्तले चिन्थेनन् । बुवा अम्बिकाले त्यस्तै एउटा किस्सा सुनाए । चितवनमा एक जना भतिजोसँग भेट भयो । उसले मेरो घरमा जानुपर्छ भनेपछि खाना खान गए ।
घरमा भएको एउटा मोबाइलमा अनिलको ‘साथी’ गीत रिङटोन बज्यो । भतिजोका छोरा आफ्नै छोरा यमबुद्धको फ्यान भएपछि उनले नातीलाई भेटे । ‘त्यहाँ कोठामा अनिलको फोटो राखेको रहेछ । अनि पछि मैले यमबुद्धलाई भेटेको छ भनेर नातीलाई सोधेँ । उसले छैन भन्यो,’ अम्बिकाले सुनाए, ‘नभेटेकोसँग यस्तो लभ कसरी ? म भेटाइँदिऔँ भनेँ । चिन्नुहुन्छ भनेर मलाई सोध्यो । मेरो छोरा हो भनेपछि झण्डै बेहोस भएन ।’ भतिजोले पनि यमबुद्ध आफ्नै नातेदार पर्छन् भन्ने भेउ पाएका रहेनछन् ।
अम्बिका, उर्मिला र राजकुमार । यमबुद्धको इच्छाअनुसार राजकुमारको जिम्मा अधिकारी परिवारले लिएको थियो । भेटाइदिने वाचा गरेको केही समयपछि चितवनमै यमबुद्धको कार्यक्रम थियो । छोरा अनिललाई अम्बिकाले नातीसँगको इतिवृत्तान्त सुनाए । यमबुद्ध साह्रै व्यस्त थिए । आफन्त पर्ने ती बालकले दुई दिनको मेहनतपछि यमबुद्धलाई भेटेको अम्बिकाले सुनाए ।
सन् २०१३ मा यमबुद्धले विवाह गरे । अन्नपूर्ण होटलमा पार्टी थियो । परिवार र आफन्तको बाक्लो उपस्थिति थियो । त्यहाँ आउनेका छोराछोरी कतिले अनिल नै यमबुद्ध भएको ठम्याए । ‘छोराछोरीहरुले कन्सर्ट गरेको कताकता देखेको रहेछ । आमाबुवा को होला भनेर अचम्म परे । चिनायौँ, हाम्रो छोरा हो भनेपछि छक्क परे । त्यसपछि फोटो खिच्न थाले,’ अम्बिकाले भने ।
यमबुद्ध जहाँ पुग्थे त्यहाँ भिड लाग्थ्यो । बाटोमा हिँड्दा अरुले नचिनुन् भनेर प्रायः अनुहार छोपेर हिँड्थे । घर नजिकै कार्यक्रम थियो । आफन्तले कार्यक्रमपछि घरमै ल्याउनुपर्ने भनेर अम्बिकालाई भनेका थिए । फ्यानले पछि नै नछोडेपछि प्रहरीले इटहरी लगेर राखेको अम्बिका सुनाउँछन् । ‘घरमा ल्याउने भनेर गएको थिएँ । सलकपुरमा इभेन्ट हुँदा घर ल्याउन नसकेपछि मलाई आफन्तले गाली गरे,’ उनले सम्झिए, ‘घरमा बस्न सक्ने अवस्था नभएपछि पुलिसले घेरा हालेर गाडीमा इटहरीमा होटलमा राख्यो । उसका फ्यान त्यस्तो थिए ।’
घरमा अनिलका सामान र फोटो जस्ताकोतस्तै छन् । अधिकारी दम्पत्तिले ती एल्बम खोलेर हेर्ने हिम्मत जुटाउन सकेका छैनन् । मोबाइलमा भएका केही फोटो कहिलेकाहीँ हेर्छिन् । फेसबुकमा अरूले पोस्ट्याएका तस्वीर हेर्न पनि उनलाई निकै असहज हुन्छ । युट्युबमा भएका गीत र अन्तर्वार्ता हेरेर छोराको न्यास्रो मेटाउँछिन् । ‘म लुकेर एक्लै हेर्छु । उहाँलाई पनि रोएको देखाउँदिनँ । उसलाई जति सम्झियो त्यति गाह्रो हुन्छ,’ उर्मिला भाव विह्वल हुन्छिन्, ‘फोटो एल्बम खोल्न मन लाग्दैन । पल्टाउनै गाह्रो हुन्छ ।’
प्रकाशित मिति: शनिबार, माघ १, २०७८ १७:४३