वार्षिक ८० करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने करदाताबाट कर उठाउने निकाय ठूला करदाता कार्यालयले पुसमा गत वर्षको तुलनामा ४० प्रतिशत बढी राजस्व उठाएको छ ।
गत वर्ष पुस महिनामा करिब २५ अर्ब रुपैयाँ राजस्व उठेकोमा यो वर्ष पुस महिनामा भने १० अर्ब (४० प्रतिशत) राजस्व बढेर ३५ अर्ब रुपैयाँ पुगेको छ । योमध्ये बिहीबार १४ अर्ब र शुक्रबार ६ अर्ब गरी दुई दिनमा मात्रै २० अर्ब रुपैयाँ राजस्व उठेको छ । पुस महिनामा औषत महिनागतभन्दा तीन गुणा बढी राजस्व उठ्छ ।
हरेक आर्थिक वर्ष सकिएको तीन महिनाभित्र व्यापारी तथा व्यवसायीले कर कार्यालयमा कर चुक्ता प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ ।यदि पहिलो तीन महिनामा लेखा परीक्षण नसकिए उनीहरूले तीन महिनाको ग्रेस अवधि पाउने गर्छन् । त्यसकारण पुस मसान्तसम्म कर चुक्ता प्रमाणपत्र पेस गर्नुपर्ने हुन्छ ।
पुस महिना आयकर उठाउने प्रमुख महिना पनि हो । पुस मसान्तभित्र वार्षिक अनुमानित आयको ४० प्रतिशत आयकर बुझाउनु पर्ने हुन्छ । आयकर ऐन- २०५८ को दफा ९४ अनुसार कुनै व्यवसाय वा लगानीबाट निर्धारणयोग्य आय भएको वा हुने व्यक्तिले तीन किस्तामा कर दाखिला गर्नुपर्ने हुन्छ । त्यसैले पुस मसान्तमा ४० प्रतिशत, चैत मसान्तमा ७० प्रतिशत र असार मसान्तमा १०० प्रतिशत रकम तिर्नुपर्नेछ । अर्थात् शत प्रतिशतमा ४० प्रतिशत पुसमा, थप ३० प्रतिशत चैतमा र थप ३० प्रतिशत असार मसान्तसम्म बुझाउनु पर्ने हुन्छ ।
पुस महिनामा गत वर्षको भन्दा ४० प्रतिशत राजस्व असुली गरेर पनि लक्ष्य पूरा गर्न भने कार्यालय असफल भएको छ । ‘महत्त्वाकांक्षी लक्ष्य रहेको थियो । हामीले यो अवधिमा लक्ष्यको ८० प्रतिशत मात्रै राजस्व असुली गरेका छौँ,’ ठूला करदाता कार्यालयका प्रमुख शिवलाल तिवारीले भने ।
अर्थ मन्त्रालयले ठूला करदाता कार्यालयलाई पुस महिनामा ४३ अर्बको राजस्व उठाउने लक्ष्य दिएको थियो । गत वर्षको भन्दा ४० प्रतिशत राजस्व उठाएर पनि लक्ष्यभन्दा २० प्रतिशत न्यून राजस्व उठेको देखिएको छ । समग्र राजस्वमा ठूला करदाता कार्यालयको महत्त्वपूर्ण योगदान रहेको हुन्छ । चालु वर्षमा उठेको राजस्वमध्ये १५ प्रतिशत राजस्व ठूला करदाता कार्यालयले उठाएको छ । पुस मसान्तसम्म यो कार्यालयले ८३ अर्ब रुपैयाँ राजस्व असुली गरेको छ ।
९० प्रतिशत राजस्व साना करदाताबाट १० प्रतिशत राजस्व, त्यस्तै १० प्रतिशत ठूला करदाताबाट ९० प्रतिशत हाराहारीमा राजस्व उठ्ने गर्छ । यसअघि ४० करोड रुपैयाँभन्दा माथिको कारोबारको कर ठूला करदाता कार्यालयले उठाउने गरेकोमा आर्थिक वर्ष २०७६-७७ मा ४० देखि ८० करोडको कारोबारका लागि मध्यमस्तरको करदाता कार्यालय खडा गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८ १८:२०