यो फिल्मको एउटा दृश्यले अहिलेसम्म पछ्याइरहेको छ ।
मनु र मानभी एक आपसमा नजिकिन्छन् । उनीहरूलाई नजिकिनु जरुरी थियो । निकट हुन्छन्, त्यो पनि जरुरी थियो । होली खेल्न गएको बेला रङमा मिसिएर सुन्दर चुम्बन साटासाट गर्छन् । भिडबाट छेलिएर आफूमा अव्यक्त सबै प्रेम व्यक्त गर्छन् । एक अर्कामा समाहित हुन्छन् ।
मूलधारको बलिउड । निकट र अन्तरङ्ग दृश्य पनि चाहिने तर धेरै खुलेर खिच्न पनि नसक्ने । 'एलिसा एण्ड मार्सेला', 'ब्लु इज दि वार्मेस्ट कलर', तथा 'रोमा' नै पनि । सुरुका दुईमा समलिंगी महिलाको सम्बन्धलाई कुनै कसुर नराखी खिचिएको । कुनै सङ्कोचबिना खुलाइएको । नग्न तर अश्लील हैन । पात्रको निकटतालाई देखाउन 'कथाले साँच्चै मागेको ।'
बलिउड त्यति पर पुग्न सक्दैन । कम्तीमा मूलधारको बलिउड सक्दैन । त्यसैले उनीहरू नजिकिएको यो दृश्यमा पनि पुरानै खाले ट्रिटमेन्ट छ । उनीहरूले त्यसपछि 'शारीरिक सम्बन्ध राखे' भनेर बुझिदिनुपर्ने । यति खिच्न नसक्ने भए त्यतिसम्म चाहिँ किन खिच्नुपर्ने ? जुन कुरा भइरहेको हो, त्यसलाई कलात्मक तरिकाले देखाउन किन डराउनु पर्ने ?
यसले सायद हाम्रो समाजको ठूलाे कुरा बताउँछ । जे हो त्यसलाई बाहिर देखाउन लाज मान्छ । सिनेमामा अन्तरङ्ग दृश्य चाहिनु र त्यसलाई देखाइनु बारेमा लामो बहस गर्न सकिएला । । यसबारे कुनै बेला लेखुँला । अहिले म त्यही दृश्यमा नै फर्किन्छु ।
उनीहरूबीच शारीरिक सम्बन्ध हुन्छ । त्यसभन्दा पहिला एक-अर्काप्रति 'के हो के हो' को भावमा रहेका उनीहरूबीचका सबै भावना पोखिन्छन् । त्यो दृश्य सकिने बेलामा मानभी खुसी हुन्छिन् र भन्छिन् 'थ्याङ्क यु ।'
दुवै जना उति नै आकर्षित भएर, उति नै नजिक भएर पुगिएको शारीरिक सम्पर्कपछि दुई जनामध्ये एकजनाले किन थ्याङ्क यु भन्नुपर्ने ?
उनको त्यो भनाइ मलाई अनौठो लाग्छ । मलाईजस्तै मनुलाई पनि लाग्छ । उनी सोध्छन्, 'यस्तो बेला कसले थ्याङ्क यु भन्छ ?'

'म भन्छु' आफूले भनेको थ्याङ्क यु जानेरै भनेको हो भन्ने संकेत दिँदै मानभी भन्छिन् ।
उनले भनेको 'थ्याङ्क्यु' र 'म भन्छु' ले 'चण्डिगढ करे आशिकी' फिल्मको सबैभन्दा बलियो भाव बोकिरहन्छ । त्यही भावको वरिपरि मनु घुम्छ । उसको पुरुष अहम् घुम्छ । मानभी घुम्छिन् उनको शरीर र मन घुम्छ ।
त्यसपछि जे रिभिल हुँदै जान्छ, त्यसले हाम्रो समाजले कसैलाई हेर्ने एकपक्षीय नजर मात्र भन्दैन, त्यो नजरले कसैलाई कति दुखाएको हुन्छ भन्ने पनि सुनाउँदै जान्छ ।
०००
मानभी परिवारभन्दा बाहिर बसिरहेकी छिन् । बाबुसँग सम्बन्ध राम्रो भए पनि आमासँग राम्रो छैन । बुबाले आफन्तको बिहेको लागि चण्डिगढ आउन लागेको कुरा सुनाउँदा उनी खुसी हुन्छिन् तर आफूलाई बिहेमा बोलाइएको छैन कि भनेर सोध्छिन् पनि । आफ्नो बेस्टफ्रेन्डसँगको कुराकानीमा पनि मनुसँगको निकटता क्षणिक हुने हो कि भनेर डराउँछिन् । पुरानो सम्बन्धलाई सम्झिएर झस्किन्छिन् । यी सबै कुरा उनले 'थ्याङ्क यु' भन्नुभन्दा अगाडि भएका थिए ।
आखिर आफूले मन पराएको युवकसँग लामो समय भाग्न खोज्दाखोज्दै भाग्न नसकेर भावनामा लीन भइसकेपछि उनले उसलाई 'थ्याङ्क यु' किन भनिन् ? थ्याङ्क यु भनिनलाई कुनै कुरामा कसैप्रति कोही कृतज्ञ भएको हुनुपर्छ । आफूसँग त्यसरी नजिकिएकोमा उनी कृतज्ञ किन भइन् ?
यी प्रश्नको जवाफ दिन फिल्मले मनग्गे समय लगाउँछ । उनलाई सबैभन्दा सुन्दर युवती देखाइसक्छ । आफूले मन लागेको 'जुम्बा इन्स्ट्रक्टर' को काम दिलाइसक्छ । घाटामा गइरहेको जिम उनले जुम्बा सिकाउन थालेपछि बदलिएको देखाइसक्छ । उनलाई मनुको घरपरिवारले मन पराएको पनि देखाइसक्छ । उनी र मनुबीचको प्रेमको उत्कर्ष पनि पुर्याउँछ ।
एकरात उनीहरू सँगै सुतेका हुन्छन् । बोलिपल्ट बिहान मनु उनको बेडमा हुन्छ । उनी ब्रेकफास्ट बनाइरहेकी हुन्छिन् । बार्दलीमा त्यसलाई राख्दै हुन्छिन् । मनु उठेर उनितिर जान्छ । उनको हात समाउँछ । प्रेमिल स्पर्शमा मिसिँदै उनलाई भन्छ, 'तिमी अरूभन्दा अलग छौ । म तिमीलाई प्रेम गर्छु । म सँग बिहे गर ।'
तर, शारीरिक सम्बन्धपछि 'थ्याङ्क यु' भनेकी उनलाई उसको बिहेको प्रस्तावले खुसी बनाउँदैन । उनको बेखुस अनुहार पढेर मनु मायाले सोध्छ । अनि यस्तरी पर्खिन्छ, जसरी पर्खिँदा जुनसुकै गोप्य कुरा पनि भन्न सकियोस् ।
उनी त्यो पर्खाइ महसुस गर्छिन् । थोरै धकाउँछिन् अनि भन्छिन्, 'म पारलैङ्गिक गर्ल हुँ । म केटाको रूप लिएर जन्मिएकी थिएँ । तर म सधैँ केटी नै थिएँ । मैले अप्रेसन गरेर यो रूप पाएकी हुँ ।'
त्यसपछि मनुले जस्तो प्रतिक्रिया जनाउँछ, त्यो हाम्रो समाजको प्रतिक्रिया हो । उनीमाथि जस्तो व्यवहार हुन्छ, त्यो हाम्रो समाजले गर्ने व्यवहार हो । व्यक्तिगत लडाइँ सकेर पनि आफ्नो बारेमा बताएपछि उनले समाजसँग फेरि जे जे लडाइँ लड्नुपर्छ, त्यो लैङ्गिक अल्पसङ्ख्यकहरूले हाम्रो समाजमा लडिरहेको लडाइँको हिस्सा हो ।

मैले यी पङ्क्ति लेख्दै गर्दा नेपालमा रहेकी एकजना पारलैङ्गिक युवती रुक्शना कपालीले पूर्वाअञ्चल युनिभर्सिटीले आफ्नो नयाँ पहिचान स्वीकार नगरेर परीक्षामा बस्न नदिएको ट्विटरमा लेखिरहेकी थिइन् । उनी कुनै बेला पुरुष थिइन् तर यो फिल्ममा मानभीजस्तै सधैँ युवती थिइन् । समाजको संरचनाले उनलाई पुरुष बन्न भन्यो । त्यहीअनुसार उनको सर्टिफिकेट बनाइदियो । त्यसमा नाम पुरुषको राखिदियो । लिङ्ग पुरुष नै बनाइदियो । तर, आफू जे हैन, त्यो बुझ्ने भएपछि उनले आफूलाई समाजले भनेको जस्तो स्विकारिनन् । उनी त्यो नामलाई 'मृत नाम' भन्छिन् । त्यो पहिचानलाई आफू भन्दिनन् । ठीक त्यसरी नै यो फिल्ममा पनि मानभी आफ्नो पुरानो नामलाई आफू भन्दिनन् । त्यो पहिचानलाई स्विकार्दिनन् ।
यता, रुक्शनाले युनिभर्सिटीसँग आफूलाई आफ्नो पहिचानअनुसार परीक्षा दिन पाउनुपर्ने लडाइँ लड्छिन् । उता, मानभी आफूले गरिरहेको कामबाट आफूलाई ननिकालिदे भन्दै लडाइँ लड्छिन् । यता, कपालीकाे हकमा पहिला टियूले अनि अहिले पियूले पहिचान स्विकार्न मानिरहेको थिएन । उता, मानभीलाई पहिला आफ्नै आमाले अनि अहिले आफूले विश्वास गरेको प्रेमीले आफ्नो नयाँ पहिचान स्विकार्न मानिरहेको थिएन ।
दुवैलाई फरक संरचना तर एउटै नियतले उनीहरू फर्किन नचाहने पुरानो विगतमा फर्काउन खोजिरहेको थियो ।
यसरी पहिला युवक भएर जन्मिए पनि पछि युवती बनेकी युवतीको कथालाई देखाउँदै फिल्मले आयुषमान खुरानाका अक्सर फिल्महरूको लिगेसी समातेको छ । तेस्रो लिङ्गी र समलिंगी व्यक्तिहरूले भोग्नुपरेका विभिन्न कुराहरूलाई बिम्बात्मक रूपमा प्रस्तुत गर्दै त्यसलाई सामान्यीकरण गर्न खोजेको छ । सहजीकरण गर्न खोजेको छ ।
मानभीको चरित्रमार्फत एक आम तेस्रोलिंगीले समाजमा पुनर्स्थापित हुन गर्नुपर्ने सङ्घर्षहरूलाई विभिन्न चरणमा देखाएको छ । ती सङ्घर्षहरू फिल्ममा भएकाभन्दा धेरै कठिन छन् । अनि त्यसको समाधान फिल्ममा भएकोभन्दा धेरै जटिल पनि छन् । तर पनि यो फिल्मले त्यो विषयमा पस्ने प्रयत्न गरेको छ, जुन विषयलाई मूलधारको बलिउडले लामो समयसम्म सुन्न पनि सकेको थिएन ।
फिल्ममा उनले जुम्बा सिकाउने बालिकाहरू मानभीलाई नजान भन्छन् । उनको बाबु उनको पहिचानलाई स्विकारेर अँगाल्छन् । यता, वास्तविकतामा ट्विटरमा #JusticeForTransPeopleinNepal ह्यासट्याग चल्छ । रुक्शना कपालीलाई उनको पहिचानकै आधारमा परीक्षा दिने वातावरण बनाउन पियू बाध्य हुन्छ ।
यति हुँदाहुँदै फेरि प्रश्न त्यही थ्याङ्क यु मै आइरहेको छ । उता, मानभी कोही प्रेमपूर्वक नजिकिएकोमा थ्याङ्क यु भनिरहेकी छन् । यता, रुक्शना सबैले मिलेर आफ्नो पहिचानको लागि लडिदिएकोमा थ्याङ्क यु भनिरहेकी छन् । जुन कुरा त्यसरी भनिनुनपर्ने हो । खासमा थ्याङ्क यु भन्ने वातावरण नै आउनु नपर्ने हो । त्यो वातावरण हामी किन बनाइरहेका छैनौँ ?
फिल्मको कथा र रुक्शनाको कथा दुवैले यसको जवाफ माग्छ ।
०००
आफूले छान्ने फरक फिल्मका विषयको बारेमा सोधिएको एउटा प्रश्नमा आयुषमानले दिएको जवाफ शक्तिशाली थियो । उनले हाम्रो समाजमा भएका हरेक स्टेरियोटाइप वा गलत बुझाइलाई समातेर फिल्म बनाउन सकिन्छ भनेका थिए । अर्थात् उनका फिल्मले देखाइरहेका विषय फिल्मका लागि नौला होलान् तर समाजका लागि हैनन् ।
ती कुरा समाजमा सदियौँदेखि छन् । तिनलाई बुझ्ने कुरा मात्र नभएका हुन् । उनका फिल्मले नयाँ विषय ल्याएका हैनन् । त्यसलाई हेर्ने नयाँ दृष्टिकोण मात्र ल्याएका हुन् । र, सायद त्यही दृष्टिकोणको खोजी हो, जसले उनका फिल्महरूलाई अरूभन्दा फरक बनाएका छन् ।
उनका फिल्ममा अक्सर कुनै समस्या हुन्छ । वा कुनै विषय हुन्छ । जुन विषयमा धेरै मान्छे बोलिरहेका हुँदैनन् । जुन विषयलाई धेरैले वास्ता गरिरहेका हुँदैनन् । बरु भागिरहेका हुन्छन् । उनको चरित्र कुनै न कुनै रूपमा ती चरित्रको छेउमा पुग्छ । कुनै हिरो भएर हैन, साधारण मानिस भएर पुग्छ ।
'बिक्की डोनर' फिल्ममा उनी वीर्य दान गर्ने युवक भएका थिए । जसले बलिउडमा सुरुसुरुमा उनलाई टाइपकास्ट पनि गर्यो । धेरैतिर उनलाई उडाइयो पनि । त्यो फिल्म जोन अब्राहमले बनाएका थिए । उनको अर्को फिल्म 'शुभ मङ्गल सावधान' ले शीघ्र वीर्य स्खलन हुने समस्या भएको व्यक्तिको कथा भनेको थियो । चियामा बिस्कुट चोबेपछि त्यसलाई मुखमा पुर्याउन नपाई झरेको दृश्य खुब चर्चित भएको थियो । कपाल झर्ने समस्या भएको युवक र त्यससँग जोडिएको बुझाइमा आधारित 'बाला', तथा केटीको आवाज निकालेर कल सेन्टरमा काम गर्ने युवकको कथा रहेको 'ड्रिम गर्ल' ।
यी सबै फिल्महरूले समाजमा विद्यमान ती समस्यालाई उजागर गरेका छन्, जुन धेरैले भोगिरहेका छन् तर धेरैले बुझिरहेका छैनन् ।
ती विषयहरूले सामान्यतया मूलधारको सिनेमामा स्थान पाइरहेका हुँदैनन् । मूलधारको सिनेमा त अक्सर सुपर हिरोतिर बढ्छन् । त्यस्तो हिरो, जसको अथाह शक्ति छ । जसले एकै मुक्कामा धेरैलाई कुटेर ढाल्न सक्छ । जसले एक निमेषमा सबैथोक ठीक गरिदिन सक्छ । जो सजिलै नक्कली कपाल लगाएर लुक्न सक्छ । जो सजिलै वृद्ध भइसक्दा पनि गुन्डाहरूलाई कुट्न सक्छ ।
तर समाजको बुझाई हिरोको कुटाइले मात्र बदलिँदैन । त्यसमा ठोक्किने पक्षहरू धेरै हुन्छन् । गर्नुपर्ने लडाइँहरू धेरै हुन्छन् । एक हिसाबले हेर्दा त यी सबै कुरा समाजले खास समस्याको जरो आफूलाई देख्न नपाएको बिम्ब पनि हो । ती समस्या पूरा गर्न कुनै सुपर पावर चाहिन्छ भन्ने भाष्य निर्माण गर्न मात्र हो । ती समस्यामा एउटा सानो मान्छे लडेको देखाउँदा उसले गर्ने लडाइँ बोरिङ भइजान्छ । त्यो लडाइँले अरू लडाइँले जस्तो पैसा कमाउँदैन ।
खुरानाले निभाएका अक्सर चरित्र त्यही चरित्रका सङ्घर्ष वरपर हुन्छन् । उनीहरू त्यस्तो समस्या भोगिरहेका वा त्यस्तो बुझाइलाई लिएर बाँचिरहेका मानिसहरूको सङ्घर्ष बोल्छन् । तिनको कन्फ्युजन बोल्छन् । उनीहरू त्यस्ता अवस्थाहरूबाट गुज्रिरहेका हुन्छन्, जसको बारेमा खुलेर कुरा गरिहाल्ने कुनै ठाउँ हुँदैन ।
उनले खेल्ने भूमिकाहरू जहिल्यै पनि समाजको कुनै बुझाइप्रति बाझिरहेका हुन्छन् । त्यस्ता चरित्रहरूको आफ्नो द्वन्द्व समाधान भएर मात्र हुँदैन, त्यो द्वन्द्वले सामाजिक द्वन्द्वलाई पनि सामना गरिरहनुपरेको हुन्छ ।
यो फिल्ममा पनि उनलाई पारलैङ्गिक युवतीसँग सम्बन्धमा रहेको कुरा पचाउन गाह्रो हुन्छ । उनी त्यसको रियाक्सन कठोर तरिकाले दिन्छन् पनि । त्यो स्वाभाविक पनि हो । उनी आफूलाई फसाएको भनेर युवतीलाई दोष लगाउँछन् , त्यो स्वाभाविक पनि हो ।
त्यो वास्तविकता पनि हो । थाहा नभएको कुरा स्विकार्न हामीलाई सुरुमा गाह्रो हुन्छ नै । अनि समाजमा एउटा पुस्ताले थाहा पाउँदा बाँकी सबैले थाहा पाएको हुन्छ भन्ने पनि हुँदैन । थाहा पाउन समय लाग्छ । जुन समय यो फिल्ममा मनुलाई लाग्छ । उनी आफ्नो प्रेमलाई पनि सोचिरहेका छन् अनि 'पारलैङ्गिक युवतीसँग सम्बन्धमा रहेको' कुरामा ग्लानि गरिरहेका पनि छन् । तर त्यो ग्लानि उनलाई समाजले दिएको बुझाइले ल्याएको हो । उनी त्यसको बारेमा बिस्तारै लड्न थाल्छन् ।

उनी अन्य पारलैङ्गिक गर्लहरूले भोगेका अनुभवहरू युट्युबमा सुन्छन् पनि । पारलैङ्गिकले गर्ने अपरेसन कसरी हुन्छ भनेर बुझ्छन् । कुनै हिन्दी फिल्ममा डकुमेन्ट्रीमा देखाइएका जस्ता ती दृश्य एउटा चरित्रले गरेको खोजी मार्फत देखाइएको कुरा सुन्दर छ । त्यसले केवल होलसेल समाधान मात्र दिएको छैन । बरु त्यो प्रक्रियालाई सामान्यीकरण गर्न खोजेको छ ।
हामीलाई चाहिएको त्यो प्रयत्न नै हो । सामाजिक परिवेश यसरी बनेको छ कि त्यसले यी सबै कुरा बुझ्ने बनाएर हामीलाई हुर्काएको छैन । यो फिल्ममा मनुले भोगेको अवस्था कुनै न कुनै रूपमा हामी धेरैले भोगेका छौँ । त्यसलाई स्विकार्न समय पनि लाग्ला । तर कम्तीमा बुझ्ने प्रयत्न भने गर्न सकिन्छ ।
फिल्ममा मानभीको लागि जसरी मनु तयार हुन्छ, यहाँ रुक्शनाको लागि त्यसरी नै सामाजिक सञ्जाल तयार भयो ।
यो तयारी यस्तो तयारी गर्नु नै नपर्ने अवस्थासम्मको लागि चाहिएको छ ।
फिल्ममा मनुको भूमिका कुनै शारीरिक चुस्तताको प्रतियोगिता जित्न चाहने युवकको बनाइनु आफैँमा बिम्बात्मक छ । उनले बाँचिरहेको चण्डिगढको समाज पुरुषप्रधान छ भन्ने बुझ्न गाह्रो पर्दैन । ऊ त्यो प्रतियोगिता जितेर आफूलाई बलियो युवक बनाउन चाहन्छ । आफ्नो पुरुषत्व बचाउन चाहन्छ ।
तर उसले जित्नुपर्ने वास्तविक प्रतिस्पर्धा त त्यो हैन । उसले जित्नुपर्ने त आफ्नो पुरुष मनलाई हो । उसले जित्नुपर्ने त आफूले समाजसँग लडिरहेको लडाइँलाई हो । उसले जित्नुपर्ने त कसैले लडिरहेको लडाइँलाई बुझेर ऊ सँगै लडेर हो ।
किनकि, फिल्ममा मानभी र सामाजिक सञ्जालमा रुक्शना त थोरै प्रतिनिधि छन्, जो बोल्न सकेर र केही बन्न सकेर भिँड्ने भएका छन् । समाजले खास लडाइँ त भिड्न नसक्नेहरूको लागि गर्नु छ ।
हामीले खास लडाइँ त भिड्न नसक्नेहरूको लागि गर्नु छ । हामीले खास लडाइँ त हाम्रो लागि गर्नु छ ।
हेर्नुहाेस् ट्रेलरः
प्रकाशित मिति: मंगलबार, पुस २७, २०७८ १२:१३