सातै प्रदेशका प्रमुख र मुख्यमन्त्रीको स्थायी बसाइ सम्बन्धित प्रदेश नै हो । कामविशेषले वेलावेलामा संघीय राजधानी आउने उनीहरूले अब काठमाडौंमा पनि स्थायी सरकारी आवास पाउने भएका छन् ।
सहरी विकास तथा भवन निर्माण विभागले सबैलाई एक–एक भवन दिने गरी सवा अर्ब लागतमा १४ वटा भवन निर्माण गर्न लागेको छ । ललितपुरको सैंबु आवास क्षेत्रमा तीन वर्षभित्र प्रदेशका भिआइपीहरूका लागि कोलोनी नै तयार हुने विभागले जनाएको छ ।
सात प्रदेशलाई सातै ब्लक, १४ भवन
सात प्रदेशका प्रमुख र मुख्यमन्त्रीका लागि सातवटा ब्लक बनाइनेछ । प्रत्येक ब्लकमा दुईवटा भवन हुने सहरी विकास तथा भवन विभागका विशेष भवन निर्माण संयोजक प्रक्रिर्ण तुलाधरले बताए । ‘प्रत्येक ब्लकमा दुई–दुईवटा भवन बनाइनेछ । एउटा मुख्यमन्त्री र अर्को प्रदेश प्रमुखका लागि हुनेछ,’ तुलाधरले भने । १४ भवन रहेको कोलोनी सुविधासम्पन्न हुनेछ ।
चालू वर्षमै टेन्डर, तीन वर्षभित्र आवास तयार : मणिराम गेलाल
सहरी विकास तथा भवन निर्माण विभागले मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीका आवास निर्माणका लागि चालू आवभित्रै टेन्डर प्रक्रिया सक्ने गरी तयारी थालेको छ ।
विभागका महानिर्देशक मणिराम गेलालले यसै वर्ष टेन्डर सकेर आगामी तीन वर्षभित्र आवास तयार गर्ने योजना रहेको बताए । ‘चालू आवभित्रै टेन्डर प्रक्रिया सकेर आगामी तीन वर्षभित्रमा आवास निर्माण सम्पन्न गरिसक्ने योजना छ,’ उनले भने ।
प्रकाशित मिति: शनिबार, असार ७, २०७६ १६:१८