पाटन पटको टोलको लक्ष्मीनारायण मूर्ति ३७ वर्षपछि नेपाल फर्काएर मन्दिरमा राखिएको छ ।
३७ वर्षअघिको एक मध्यरातमा पाटन पटको टोलबाट हराएर अमेरिकाको डल्लास म्युजियममा फेला परेको लक्ष्मीनारायणको मूर्ति लामो अनुसन्धान र कूटनीतिक पहलपश्चात् नेपाल फर्काइयो । त्यति मात्र होइन, जहाँबाट हराएको थियो अन्ततः सोही ठाउँमा नै प्रतिस्थापन गरियो ।
स्थानीयहरूकै अग्रसरतामा गत शनिबार १८ मंसिरमा लक्ष्मीनारायणको मूर्ति पटको टोलमै प्रतिस्थापन गरिएको हो ।
स्थानीय बद्री माया श्रेष्ठ भन्छिन्, ‘एकदमै खुसी लागेको छ । हराएको देवता पाउन ठूलो कुरा होइन ?’
४० वर्षअघि लक्ष्मीनारायणको मूर्ति हराएपछि स्थानीयले भगवान् नभएको मन्दिरमा अपशकुन हुने भन्दै फटाफट दुरुस्तै अर्को मूर्ति बनाएर प्राणप्रतिष्ठा गरी पूजा गर्दै आएका थिए ।
पटको टोलवासी भाइराजा श्रेष्ठ भन्छन्, ‘हिजोसम्म एउटा लक्ष्मीनारायणको पूजा गर्थ्यौं, अब दुइटै मूर्तिको पूजा गर्छौं । अर्को भेटियो भन्दैमा पुरानोलाई मिल्काउने कुरा त भएन नि ! हाम्रा लागि त दुवै भगवान् हुन् ।’
लक्ष्मीनारायणको मूर्तिलाई आफ्नो कुल देवता मान्ने श्रेष्ठ परिवार अझ बढी खुसी देखिन्छन् ।
स्थानीय डा. ध्रुव श्रेष्ठ र बाला प्रधान श्रेष्ठ भन्छन्, ‘हामीसँग लक्ष्मीनारायण मूर्तिको गहना थियो जुन कहिल्यै नक्कली मूर्तिलाई ठीक हुँदैनथ्यो । ३७ वर्षपछि भेटिएको मूर्तिमा पनि ठीक नहोला कि भन्ने थियो । धन्न ठीक भयो । सबैभन्दा खुसी यसमै लागेको छ ।’
चोरी भएर आफैँ अपहरणमा परेका भगवान्सँग क्षमा माग्ने कि बिलौना ? यो प्रश्नको अन्योलमा रुमल्लिने सुविधा पनि थिएन, पाटनवासीलाई त्यस दिन । कारण, आफ्नै मन्दिरमा भगवान् भेटिएकोमै खुसी थिए, उनीहरू । यद्यपि, प्रतिस्थापन गर्नुअघि विधिपूर्वक क्षमापूजा भने गरिएको थियो ।
पुजारी वासुदेव ज्वलन्त राजोपाध्याय भन्छन्, ‘हामीले नियम टुटाएका थियौँ । नित्य पूजा बिरायौँ । त्यसैले क्षमापूजा गरेका हौँ ।’
यसरी यथास्थानमा नै लक्ष्मीनारायणको मूर्ति प्रतिस्थापन हुनु वास्तवमै ऐतिहासिक क्षण भएको सम्पदाप्रेमीहरूको मत छ ।
सम्पदा संरक्षण अभियन्ता रवीन्द्र पुरी भन्छन्, ‘हाम्रो संस्कारमा मूर्ति संग्रहालयमा, बगैँचामा सजाउने संरचना होइन, हामीकहाँ त मूर्तिसँग समाज जोडिएको छ, आस्था जोडिएको छ’, भावविह्वल भएर सबै दृश्य हेरिरहेका सम्पदाप्रेमी रवीन्द्र पुरीले भने, ‘नेपालको संस्कार भनेकै जीवन्त संस्कार हो ।’
मूर्तिमा आस्था नमाने पनि मूर्तिप्रतिको मानिसहरूको आस्थालाई भने अमेरिकी राजदूत र्यान्डी बेरीले पनि नजरअन्दाज गर्न सकेनन् । प्रतिस्थापन अवधिभर स्थानीयको उत्साहका प्रत्यक्षदर्शी भएका बेरी प्रफुल्लित देखिन्थे ।
पटको टोलवासीदेखि अमेरिकी राजदूतसम्मले मूर्ति फिर्तीको उत्सव मनाइरहँदा लक्ष्मीनारायणको मूर्ति प्रतिस्थापनले संरक्षण चेतको गरिमा बढाएकोमा भावुक हुन्छन्, नागरिक अगुवा कनकमणि दीक्षित ।
मूर्ति चोरीको बिगबिगी बढिरहेको बेला लक्ष्मी–नारायणको फिर्ती र प्रतिस्थापन समुद्रबाट एक थोपा पानी झिकेजस्तो भए पनि यसले दिने सन्देश भने बृहत् भएको सरोकारवालाहरूको निष्कर्ष छ ।
मिश्र भन्छन्, ‘यस प्रतिस्थापनले अन्तर्राष्ट्रिय निकाय, म्युजियम, अक्सन हाउस र निजी संरक्षकलाई नेपालमा जीवन्त संस्कृति कसरी बाँचिरहेको छ भन्ने सन्देश दिएको छ ।
‘उनीहरूका लागि यी फगत मूर्ति होलान्, हाम्रा लागि त देवता हुन्’, उनले भने, ‘अब आइन्दा नेपाली मूर्तिको किनबेचको कुरा आउँदा अन्तर्राष्ट्रिय निकायहरूले दश पटक सोच्नेछन् । यो नै हाम्रो आर्जन हो ।’
आस्थाको प्राण भरिएपछि मूर्ति कसरी भगवान् बन्छन् भन्ने गतिलो उदाहरण सावित भएको छ, लक्ष्मीनारायणको मूर्ति ।
प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८ १७:४६