गत शनिबार बौद्ध स्तुपा परिसरमा अरु साधारण दिनभन्दा भिन्नै माहौल थियो । फोटो खिच्नेको संख्या पनि ठूलै थियो । त्यहाँ उपस्थित प्रायः सबै आश्चर्यमग्न देखिन्थे । बौद्धमा अरू समयमा भन्दा बेग्लै रौनक देखिन्थ्याे ।
बौद्ध स्तुपामा फर्फराइरहेका पाँच रङका लुङ्दर (झण्डा)हरू धमाधम फेरिँदै थियो । पुराना रङ्गीविरङ्गी लुङ्दरहरू फेरेर सेताे रङका लगाइँदै थियाे । रङ्गीविरङ्गी लुङ्दर किन हटाएको होला ? मानिसहरूकाे मनमा काैतुहल थियाे ।
यसअघि बौद्धमा नाइलनकाे सिन्थेटिक झण्डा लगाइएको थियो, जसलाई हटाउँदै शनिबार कपासबाट बनेका वातावरणमैत्री झण्डा लगाइयो । स्थानीय आङ डोल्मा शेर्पाले बौद्ध धर्मावलम्बीहरूको परम्परागत चालचलन, धार्मिकस्थलहरूलाई दिगो रूपले वातावरणमैत्री बनाउने उद्देश्यले यस्तो गरिएको बताइन् ।
उत्पला क्राफ्टकी संस्थापक शेर्पा यस्तै वातावरणमैत्री झण्डा उत्पादन गर्छिन् । उनकै पहलमा बौद्ध स्तुपामा अधिकांश झण्डाहरू सेतो अर्थात् वातावरणलाई हानि नगर्ने खालका राखिएका हुन् । अन्यत्र पनि सिन्थेटिक झण्डा प्रयोग नगरुन् भन्ने उनको चाहना छ ।
सेतो नै किन ?
बौद्धमा लगाइएका झण्डाहरू पूर्णिमाको दिन फेरिन्छन् । फेरिएका झण्डाहरू अन्ततः जलाइन्छन् । झण्डाहरू प्लास्टिकयुक्त हुने भएकाले जलाएपश्चात् कार्बनयुक्त धुवाँ फैलिन्छ । शेर्पाका अनुसार नियमित रूपमा झण्डाहरू जलाइँदा वातावरण र स्वास्थ्य दुवैलाई हानि गर्छ । बौद्ध धर्मावलम्बीहरूका स्तुपाहरूलगायत थुप्रै धार्मिक गतिविधिहरूमा झण्डा आवश्यक हुन्छ । जसका कारण पनि उनी यस्तै झण्डाहरू प्रयोगमा ल्याउनुपर्ने ठान्छिन् ।
.jpeg)
बौद्धमा अहिले प्रयोग गरिएको झण्डा कपासबाट बनेको हुन्छ । ‘बायो डिग्रेडेबल’ अर्थात् कुहिने भएकाले सो झण्डा जलाउन पर्दैन । गाड्ने वा अर्ग्यानिक तरिकाले डिस्पोज गर्न सकिन्छ । धेरै समयअघि, सिन्थेटिक झण्डाहरू प्रयोगमा आउनुअघि कागजका झण्डाहरू प्रयोगमा थिए । फेरि कपासका झण्डाहरू प्रयोगमा आए । त्यसपश्चात, महँगो भए पनि कपासको झण्डामा अर्ग्यानिक रङ भरेर प्रयोगमा आएको हो ।
सस्तो अनि सहज पाउने भएपछि भने सिन्थेटिकको प्रयोग अत्यधिक भएको हो । शेर्पा भन्छिन्, ‘पुरानो चलनलाई मान्ने हो भने पनि कपासको झण्डा प्रयोग गर्नुपर्छ ।'
सानो प्रयासले पारेको ठूलो प्रभाव
आङ डोल्माको नेतृत्वले उत्पला क्राफ्ट र बौद्ध धर्मावलम्बीहरूको साझेदारीमा अधिकांश झण्डा परिवर्तन भए । यसअघि पनि अन्य स्तुपा र चैत्यहरूमा व्यक्तिगत पहलमा शेर्पाले झण्डा परिवर्तन गरिन् । त्यहाँ देखिएको सकारात्मक प्रतिक्रियाले आफूमा ऊर्जा थपिएको उनी बताउँछिन् ।
.jpg)
बौद्धको झण्डा परिवर्तन गर्नुको मुख्य उद्देश्य पनि मानिसहरूले प्रश्न गरुन् भन्ने रहेकाे उनले बताइन् ।बौद्ध घुम्न आउनेहरूले मात्रै किन झण्डा परिवर्तन भयाे भन्ने बुझ्न खाेजे आफ्नाे उद्देश्य केही सफल हुने उनले बताइन् ।
उत्पादन बढाउन जोड
बौद्ध धर्मावलम्बीहरूको धार्मिक मान्यतालाई ठेस नपुग्ने गरेर काम गर्ने सोच शेर्पाको छ । सचेतना फैलाउन लागिरहने उनले बताइन् । झण्डा निर्माण गरेरै रोजीरोटी धान्नेलाई पनि वातावरणमैत्री निर्माण गर्न उनको सुझाव छ ।
बजारमा कपासबाट बनेको झण्डा जति सहज रूपमा पाइयाे, त्यति नै प्रयोग बढ्नेमा उनी आशावादी छिन् । ‘सबै मानिससम्म यो झण्डाको पहुँच पुग्नलाई उत्पादन पनि बढ्न आवश्यक छ’, शेर्पा भन्छिन्, ‘यो प्रयासले उत्पादन र प्रयोग बढाउनेबारे थोरै भए पनि जानकारी फैलिन्छ भन्ने आशा राखेकी छु ।’
तस्वीर :सुशील श्रेष्ठ/शिलापत्र
प्रकाशित मिति: बुधबार, पुस ७, २०७८ १३:०३