यो महाधिवेशनको माहोल हो । माले, राप्रपा, एमाले हुँदै यतिखेर कांग्रेस महाधिवेशनको सरगर्मी चलिरहेको छ । महाधिवेशनको यो ‘चर्को’ राजनीतिक माहोलमा कतिपय यस्ता मान्छेहरू पनि हुन्छन् जसलाई महाधिवेशनको ‘भिड’ले गर्न सक्ने सम्भावित खरिददारीसँग मात्र सरोकार हुन्छ ।
महाधिवेशनको राजनीतिक रापतापसँग सराेकार नराख्ने धेरै मध्ये एक हुन निशा हमाल । हातमा ‘अल्लो’को रेसाले बनेका कोट झुण्ड्याएकी हमाल कांग्रेस महाधिवेशन उद्घाटन स्थलमा भेटिनेहरूलाई सोध्दै थिइन, ‘कोट किन्न्या हौ कि हजुर !’
उनी आग्रह गर्दै थिइन् कि सोध्दै थिइन् छुट्याउन सकिएन ।
महाधिवेशनको मञ्चमा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ‘नेताहरू चोर हुन कि होइनन ? भन्ने निश्चित गराउन प्रश्न गर्दै थिए । उत्साहपूर्वक भाषण सुनिरहेका महाधिवेशन प्रतिनिधि, कार्यकर्ताहरू ‘हुटिङ’ गर्दै थिए ।
यता हमाल भने प्रतिनिधिको भिडमा पसेर ‘कोट किन्न्या हौ कि हजुर !’ भन्दै थिइन् । प्रचण्डको प्रश्न र प्रतिनिधिको हुटिङकाे कोलाहलमा निशाको आग्रह कतिले सुने होलान् ?
भारतीय जनता पार्टीका नेता हर्षवर्धनले ‘यति धेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा देखेको थिइनँ,’ भनेर आश्चर्य मिश्रित व्यङ्ग्य कसिरहँदा हमाललाई भने मञ्चमा कति पूर्वप्रधानमन्त्री छन् । मञ्चबाट कसको आवाज आइरहेको छ भन्ने परवाह थिएन ।

१२ कार्तिक ०७८ मा नेपाल बार एसाेसिएसनको आँगनमा प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलित वकिलहरूको भिडमा पनि कोट बेचिरहेकी थिइन हमाल । त्यतिखेर पनि हमाललाई अदालतमा चलिरहेको ‘लफडा’ थाहा थिएन । जसरी उनलाई कांग्रेसको महाधिवेशनमा के हुन्छ भन्ने थाहा छैन ।
‘नेता छान्न्या भनिकन यति धेरै नेता आका छन्,’ हमालले बुझेको महाधिवेशन यत्ति हो । हमाल र हमाल जस्ता धेरैलाई यो भन्दा बढ्ता बुझ्नु पनि छैन । बुझ्ने फुर्सद पनि त छैन। हमाल र हमाल जस्ता धेरै मान्छेको जीवनमा आफ्ना गतिविधिले के प्रभाव पार्छ भनेर राजनीतिज्ञले बुझाउन सकेनन् पनि भन्न सकिन्छ ।
एक महिना अगाडि बारको आँगनमा भेटिँदा उनले हातमा मात्र कोट बोकेकी थिइन् । तर, कांग्रेस महाधिवेशनमा भने उनको पिठ्युँमा बडेमानको झोला पनि थियो ।
‘मान्स झिक्कै छन्,’ हमालले काँधमा भिरेको झोलाको फित्ता मिलाउँदै भनिन्, ‘(कोट)किनिहाल्छन् कि भनिकन झोलामा पनि बोक्याकि छुँ ।’
‘नेता’ हुने र छान्ने ध्याउन्नमा रहेका प्रतिनिधिलाई कोट छान्ने कहाँ फुर्सद ! भोट माग्दै, नारा लगाउँदै फुर्सद छैन प्रतिनिधिलाई ।
जुम्ला सिञ्जा घर बताउने हमाल प्रतिनिधिलाई फकाउँदैछिन्, ‘लगाएर हेर न, यो त नेताहरूले लाउन्या कोट हो ।’ वकिलहरूलाई पनि उनले यसै भनेर फकाउने प्रयास गरेकी थिइन् ।
तर, उनले न वकिललाई फकाउन सकिन्, न कांग्रेस प्रतिनिधिलाई । ‘नेता र वकिल त साह्रै अप्ठ्यारा हुदाँ,’ कोट किनाउन नसकेको गुनासो गरिन् हमालले ।
सहज जीवनको कल्पना गर्दै चार वर्ष पहिले काठमाडौं हानिएकी हुन् हमाल । ‘उताको भन्दा त सजिलै छ,’ महाधिवेशनका चर्का माइकमाझ हमालको खिरिलो आवाज सुन्न सकस भइरहेको छ, ‘बिहानै आउँछु, घरपुग्दा पुग्दै राति भैजान्छ ।’ जुम्लाको भन्दा त सहज भएको होला हमालको जीवन । किनभने जुम्ला र काठमाडौंको सहजताको परिभाषा फरक छ ।
जहाँ भिडभाड हुन्छ त्यही पुग्छिन् हमाल । ‘अस्तितिर अदालततिर झिक्कै मान्स छिया,’ हमाल आफ्ना व्यापार नीति सुनाउँछिन्, ‘अच्याल यहाँ(भृकुटिमण्डप) छन् ।’ काठमाडौं आएदेखि हमालले कोट बेच्ने काम सुरु गरेकी हुन् । ‘यसरी बात मार्न लाग्या भन्या बर्बाद हुन्छ त,’ यति भनेर उनी प्रतिनिधिको भिडमा छिरिन् ।

चितवन, सौराहमा भएको एमाले महाधिवेशनमा पनि कोट बेच्ने एक जुम्लेली दम्पती भेटिए । जुम्ला नराकोटका जंग बुढा र नमा बुढा एमाले महाधिवेशन स्थलका लागि बनाईएको पार्किङकाे अगाडि बसेका थिए ।
उनीहरूले बेच्न राखेका थिए, जटामसी, कालो नुनु, पाँच औंले, जिम्बु, कोट, टोपी र चलनचल्तीबाट हटिसकेका राजाको फोटो अंकित नोट ।
उनीहरू एमाले महाधिवेशनको छेकोमा सामान बेच्नकै लागि भनेर भनेर करिब दुई दिनको यात्रा तय गरेर जुम्लाबाट झरेका थिए । ‘व्यापार राम्रै भयो,’ बुढा दम्पतीले आम्दानीको रकम सुनाउन हिच्किचाउँदै भने, ‘आउनु–जानु, पुगिजाला अरु त त्यसै हो ।’
बुढा दम्पतीलाई एमालेको कार्यक्रम हो भन्ने त तथा थियो । तर, त्यहाँ के हुन्छ भन्ने चाल पाएका थिएनन् । ‘हामी त नान्का(साना) मान्स,’ जंग बुढाले भने, ‘नेताहरू क्या गर्दाछन्, हामी क्या जानौं ।’
‘हाम्रो त सामान बिक्री भया भैगाे,’ बुढाले राजनीतिप्रति अरुची प्रकट गरे, ‘हामी गरिखान्या मान्छेले राजनीति जानिकन क्या हुन्या हो र ?’
तर, विरोधाभाष के छ भने हरेक राजनीतिज्ञले गरिखाने मान्छेकै लागि राजनीति गरेको वाचा गर्छन्, दाबी गर्छन् । तर, गरिखाने मान्छेलाई भने नेताहरूका भाषण मनोरञ्जनका खुराक हुन्छन् । नेताहरूको भाषण सुनेर हाँसो उठ्ने गरेको सुनाइन् नमा बुढाले, ‘हसाउँने भाषण आयापछि बड्डाले मोबाइलमा देखाउँछन् ।’
राजनीतिका यी महामेला हमाल र बुढा दम्पतीका नियमित भन्दा बढ्ता व्यापार हुने सम्भावित ठाउँ हुन् । जसरी नेताहरू महाधिवेशनबाट पार्टीभित्र चुनिने मौका गुमाउन चाहदैनन् त्यसरी नै उनीहरू पनि यस्ताेमा व्यापार गर्ने मौका गुमाउन चाहन्नन् ।
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८ ०६:२७