विश्वचर्चित लेखक युवल नोह हरारीले आफ्नो सबैभन्दा चर्चित पुस्तक 'सेपियन्स: अ ब्रिफ हिस्ट्री अफ ह्युमन काइन्ड' मा मानव जाति ४ लाख वर्षअघिसम्म फुड चेनमा मध्यस्थानमा रहेको र मानव इतिहासको १ लाख वर्षअघि मात्र माथिल्लो स्थान हासिल गर्न सफल भएको बताएका छन् ।
उनले त्यसअघि प्राचीन मानव जाति तत्कालीन शक्तिशाली जीवमा पर्ने बाघ र सिंहले छाडेका अवशेष विशेषगरी हड्डीभित्रको लेदो सिंहको आँखा छलेर चुस्ने गर्ने गरेको उल्लेख गरेका छन् । त्यो दृश्यलाई हामीले अहिले राजनीतिक दृष्टिकोणबाट व्याख्या गर्ने हो भने सत्ता र शक्तिको अर्को प्रारुप मान्न सक्छाैँ । यदि हामीले प्राचीन मानवको मनोविज्ञालाई बुझ्ने कोसिस गर्यो भने सिनोकै लागि सत्तासँग डर र भयमा रहेर आफ्नो भोक टार्न ज्यानको बाजी थाप्ने गरेको भान हुन्छ ।
अहिले १ लाख वर्षपछि विशेष गरी मानिसहरूको राजनीतिक कल्पनाले पृथ्वीमा देश भन्ने विचार खडा गरेको छ । अनि देशको राजनीतिक सीमांकनले अनगिन्ती विचारधारा र आस्था खडा गरेको छ । त्यो विचारधारा र आस्था देशको अस्तित्वका लागि अहिलेको आधुनिक मानवले अपरिहार्य देखेका छन् । त्यो अपरिहार्यता पूरा गर्न विचार र आस्था लाद्नुपर्ने हुन्छ । अनि विचार र आस्था लाद्ने क्रममा सयौँ भाषा र संस्कृतिको चीरहरण हुन्छ । यो अर्बाैं वर्ष पुरानो पृथ्वीमा, सयौँ वर्ष पुरानो देश, हजारौँ वर्ष संस्कृतिको छातीमाथि खडा हुन्छ । अनि, सत्ताको ताण्डव मच्चाउन थाल्छ । अनि, बोल्छ; म, मेरो, महान् ।
सत्ताकाे रङ भने ४ लाख वर्ष पनि उस्तै छ । आफ्नो अस्तित्व देखाउन सिंहासनबाट गर्जिनै रहेको छ । मानवअधिकारको इतिहासबाट मात्र हेर्ने हो भने पनि लगभग २५ सय वर्षपछि पनि सत्ता गर्जिनै रहेको छ । यो लामो समयमा परिवर्तन भनेको ४ लाख वर्षअघि सम्पूर्ण मानव जाति सत्तासँग त्रसित थिए । तर, अहिले वर्तमान अवस्थामा भने मानव जातिको केही जात मात्र आतंकित हुन बाध्य छन् । प्राचीन मानवले सिनोका लागि बेला-बखत आफ्नो जीवनको आहुति गर्थे । अहिलेको आधुनिक नेपालीले भने आफ्नो स्वतन्त्रता आहुति गर्दैछन् ।
मूलत: अहिले नेपालमा सत्ताको दुईवटा चरित्र भेटिन्छ । यसका लागि मैले व्यक्तिगत्त अनुभवबाट कथालाई जीवन्तता दिने प्रयास गरेको छु । विद्यार्थी जीवनमा नेपाली समाजको उच्च जात भनिने समुदायको साथीदेखि नागाल्यान्डसम्मको साथी भेट हुने क्रममा उनीहरूकै भोजनमा आफूलाई समाहित गर्थे । यसै क्रममा दक्षिण भारतमा पढ्दै गर्दा नेपालको सुदूर-पूर्वी जिल्लामा हुर्केको नेपालको उच्च जात भनिने समुदायको मासु नखाने मित्रसँग भेट भयो ।
हाम्रो सांस्कृतिक पृष्ठभूमिले गर्दा हाम्रो खानपिन गर्ने शैली निकै नै फरक थियो । तर, पनि हाम्रो मित्रता भने एकअर्काको संस्कृतिमा रहेको फरकपन सम्मान गर्ने बानीले अगाडि बढेको थियो । यसरी अघि बढ्दै जाँदा उनको गफमा यसरी भुलेछु कि उनको संगतमा लगातार डेढ महिना काउली र आलु मात्र खाएछु । तर, मेरो सांस्कृतिक बानीले गर्दा मेरो शरीरको आनुवांशिक सामग्री प्रोटिनको लतमा फुसिसकेका कारण आलु र काउलीमा मात्र मेरो जीवन असम्भवप्राय: नै थियो ।
अहिलेको वर्तमान अवस्थामा पनि हजारौँ नेपालीको मासु-भात खान चाडवाड कुर्नुपर्ने अवस्था छ । तर, सत्ता भने मिति समाप्त भइसकेको धार्मिक राष्ट्रवादमा रोमाञ्चित हुँदै आफ्नो हजारौँ वर्षअघिको कानुन लाखौँ वर्षअघिको मानिसमाथि लाद्न तम्सिरहेको छ ।
उनीसँगको १ महिनाको साकाहारी यात्रापछि भने आफूलाई शारीरिक रूपमा अति कमजोर भएको महसुस गरे । अघिल्लो महिनासम्म मात्र नागाल्यान्डको साथीसँग नागाको जीवन व्यतित गरेको मान्छे हिन्दु समाजको बाहुन दैनिकी बिताउन थालेपछि नागा साथीहरूले ‘दिस किराती गट म्यानुपुलुटेड’ भन्न थालेका थिए ।
उनलाई सम्झिँदा एउटा सत्तामा हुनुपर्ने विशेषता पाउने गर्थे । उनी आफू मासु मुखमा परे बिरामी हुने अवस्थामा थिए । तर, मैले उनको अगाडि मासु खाँदा भने उनलाई खासै असर गरेको देख्दिनथेँ । यसै क्रममा नेपाली मूलको भारतीय साथीसँग पनि संगत हुन पुग्यो । विद्यार्थी जीवन अनि हामी दुवैको मांसाहारी स्वभावले मित्रतालाई जीवन्त तुल्याएको थियो ।
उनीसँगै अघिल्लो वर्ष नागा साथीहरूसँग पलेटी मारेर भोजन गर्दा नेपाली साथीहरू अचम्म मानेर हेर्थे । यसै क्रममा इन्जिनियरिङ संकायका नेपाली सिनियरसँग बेलाबखत बहस हुने गर्थ्यो । उनले प्रयोग गर्ने शब्दहरूमा सत्ताको अर्को चरित्र र मनोविज्ञान भेट्ने गर्थे । एक दिन उनले धर्मको बहस गर्ने क्रममा 'सिनो खाने मान्छेहरू' भनेर एउटा धर्म विशेषलाई सम्बोधन गरेका थिए ।
उनी भारतमा बसेर उच्च शिक्षा हासिल गर्दै गरेका नेपाली थिए । त्यो शब्द प्रयोगले अचम्म तुल्यायो नै र भर्खरै पढेर सिध्याएका हरारीको पुस्तक सेपियन्सको ४ लाख वर्षअघिको कथादेखि आफू हुर्केको चुरेको फेदमा रहेको आफ्नो गाउँमा पुच्छर चोरेर भाग्ने फुच्चे केटोलाई सम्झिन पुगेँ ।
एक दिन गाउँमा चौपाया मरेपछि । त्यसको उपभोग गर्न वञ्चित भएर होला, जङ्गलनजिक लगेर गाउँलेहरूले छाडेका थिए । हामी गाउँका भुराहरू त्यसको नजिक खेल्दै थियौँ । अचानक पल्लो गाउँबाट एक हुल मानिसहरू चौपायाको हारालुछ गर्न थाले । हामी भुराहरूलाई त्यो दृश्य निकै नै रमाइलो लागिरहेको थियो । म भने मेरै उमेर समूहको फुच्चे केटोलाई हेर्दै थिएँ । अचानक उनी हातमा चौपायाको पुच्छर लिएर यति व्यग्र रूपमा कुदे कि मानौँ उनको पछि बाघ आइरहेको थियो ।
सायद विज्ञानले टाइम मेसिन आविष्कार गरेको भए ४ लाख वर्षअघि पनि हामी त्यस्तो दृश्य हेर्न जान सक्थ्यौँ । खैर, अहिले वर्तमान समयमै ती दृश्यहरू हाम्रोअघि भएका कारण ४ लाख वर्षअघि जान त्यति व्यावहारिक नलाग्न सक्छ । तर, हामीले त्यो दाैडको विश्लेषण गर्ने हो भने गरिबी, भोक साथै डर दुवै मान्न सकिन्छ ।
तर, समग्रमा विश्लेषण गर्ने हो भने उनले नेपालको बहुसंख्यक नेपालीको प्रतिनिधित्व गर्छन् । अहिले पनि कैयौँ गरिब नेपालीहरू मासुको पोको बोकेर भाग्न नसक्नेहरू जेलको कोठरीमा छन् । सायद, उनीहरूले मजदुरीबाट कमाएको केही अंशबाट मासुको झोलसँग भात खाने सपना देखेका मात्र थिए । उनीहरू यो देशको राजनीति बुझ्न सक्ने न कुनै बाैद्धिक धरातल राख्छन्, न कुनै कानुनी ज्ञान । अहिलेको वर्तमान अवस्थामा पनि हजारौँ नेपालीको मासु-भात खान चाडवाड कुर्नुपर्ने अवस्था छ । तर, सत्ता भने मिति समाप्त भइसकेको धार्मिक राष्ट्रवादमा रोमाञ्चित हुँदै आफ्नो हजारौँ वर्षअघिको कानुन लाखौँ वर्षअघिको मानिसमाथि लाद्न तम्सिरहेकाे छ ।
यसले नेपालको बहुसंख्यक सीमान्तकृत समुदायको मानवअधिकार ‘राइट टु फुड’ को अपहेलना त गर्छ नै, यसले २१औँ शताब्दीको मानव समाजलाई पनि लज्जित तुल्याउँछ । नेपालमा मासु खाने संस्कृतिको बहस गर्ने हो भने यो नेपालभन्दा पनि पुरानो हुन आउँछ । सदावहार, सत्ताको एउटा पक्षले मासु नै किन खानुपर्यो भनेर प्रश्न गरेको देख्छु । पहिलो रूपमा भन्नुपर्दा नेपालका बहुसंख्यक नेपालीले हजारौँ वर्षदेखि मासु उपभोग गर्दै आएका हुन् ।
आजको यो कथा लेख्ने क्रममा मासुमा पनि राजनीतिक पक्ष रहेको ठहर गरेको छु । मेरो साकाहारी मित्रको अगाडि बसेर मासुको परिकार खाँदा पनि एक किसिमको विद्रोह थियो । तर, उनको अगाडि बसेर मासु खान सक्ने स्थिति बहाल गर्न मनोवैज्ञानिक रूपमा भने निक्कै कष्टदायी थियो । मेराे त्यो मनोवैज्ञानिक परिस्थितिलाई राजनीतिक रूपमा सोच्दा, मेरो हिचकिचाहट सयौँ वर्षदेखिको सांस्कृतिक उपनिवेशकताको परिणाम मान्न सकिन्छ ।
अहिले पनि कैयौँ गरिब नेपालीहरू मासुको पोको बोकेर भाग्न नसक्नेहरू जेलको कोठरीमा छन् । सायद, उनीहरूले मजदुरीबाट कमाएको केही अंशबाट मासुको झोलसँग भात खाने सपना देखेका मात्र थिए । उनीहरू यो देशको राजनीति बुझ्न सक्ने न कुनै बाैद्धिक धरातल राख्छन्, न कुनै कानुनी ज्ञान ।
अहिले नेपालको सन्दर्भमा बहुसंख्यक समुदायको फुड ह्याबिट आंशिक रूपमा संस्कृतिकरण भएको मानिन्छ । आफ्नै पुर्खाले खाई आइरहेको भोजन नर्थ-इस्टका साथीहरूसँग बसेर भोजन गर्दा पहिलो पटक भने मानसिक रूपमा अत्यन्तै पीडादायी रहेको थियो । आफूलाई जति नै प्रगतिशील ठाने पनि मभित्रको नश्लवाद भने बरकरार नै रहेको प्रमाणित भएको ठानेँ ।
यसै सन्दर्भमा केही समयपछि राजकुमार दिक्पालको किताब ‘आदिवासी विद्रोहको इतिहास’ अध्ययन गर्ने मौका पाएँ । अध्ययन गर्दै जाँदा मैले मेरो पुर्खाको भोजनमा लगभग कानुनी रूपमा २१५ वर्षपछि समाहित भएको रहेछु । झण्डै दुई शताब्दी यात्रा तय गरेको मभित्रको नश्लवादको विसर्जन भने नागाल्यान्ड र अरुणाञ्चल संस्कृतिको सम्मान गर्ने क्रममा रहन पुग्यो । तत्कालीन सत्ताले १८६२ सालको आदेशले मेरो समुदायलगायत अरु केही आदिवासी समुदायलाई गोमांस उपभोग गर्न वञ्चित गरेको रेकर्ड पाइन्छ ।
अहिले हामी नेपालमा २१औँ शताब्दीको ७३औँ मानवअधिकार दिवस मनाइरहेका छाैँ । यो वर्षको थिमले 'सबै मानिस जन्मिदा स्वतन्त्र हुन्छन्, अनि सबैको आत्मसम्मान र अधिकार समान हुन्छ' भनेको छ । तर, अर्कोतर्फ भने नेपालमा मांसहारी भएका कारण आदिवासी, दलित र मुस्लिम समुदायका मानिसहरू जेलमा बस्न बाध्य छन् । अहिले नेपालमा अचम्म लाग्ने कुरा भनेको २०७२ को नयाँ संविधानमा धर्मनिरपेक्षतालाई नयाँ नेपालको उपलब्धिको रूपमा व्याख्या गरिन्छ । तर, कानुन भने एकल धार्मिक राष्ट्रको बाटोमा लम्किँदैछ ।
हामीले २०७२ देखि २०७७ बीचको तथ्यांक मात्र हेर्ने हो भने नेपालमा गौहत्याका मुद्दा ३ सय नौवटा दर्ता भएका थिए । जसमा ९ सय २७ जना माथि मुद्दा चलाइयो । योभन्दा पहिलाको तथ्यांकलाई ०६७ देखि ०७१ हेर्ने हो भने १ सय ५० वटा मुद्दा मात्र दर्ता भएका थिए । (स्रोत: शिलापत्रमा प्रकाशित सागर चन्दद्वारा लिखित 'नयाँ संविधान लागू भएदेखि बढेको बढ्यै गोहत्याका मुद्दा')
साथै, अन्तर्राष्ट्रिय आँखाबाट मानवअधिकारका सन्दर्भमा नेपाललाई हेर्ने हो भने गाैरव गर्ने ठाउँ पनि दिएको छ । तपाईंले ‘वर्ल्ड इकोनोमिक्स फोरम’ को वेबसाइटमा ‘टेन थिङ्ग्स टु नो अवाउट ह्युमन राइट्स’ टाइप गरेर हेर्नुभयो भने बुँदा नं ८ मा 'नेपाल लैङ्गिक समानताका लागि राम्रो काम गर्ने विश्वका पाँच राष्ट्रमध्ये एक हो' भनेर उद्धृत गरिएको पाउन सक्नुहुन्छ । अर्कोतर्फ भने, नेपालसँग विश्वमा विरलै सुन्न पाइने कुनै समुदायले आफ्नो हजारौँ वर्ष पुरानो संस्कृति मान्दा अर्को समुदायको आस्थामा ठेस परेका कारण जेल जान पर्ने अनौठो कथा पनि छ ।
लेखक सुनुवार साउथ एसियन स्टडिजका अध्येता हुन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८ १२:५७